राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनले आफू भाषण गर्न नभई काम गर्न राजनीतिमा आएको बताएका छन्।
सोमबार जनकपुरमा आयोजित सभामा उनले आफू भाषण गर्ने मुडमा नरहेको र जनता पनि भाषण सुन्ने मुडमा नरहेको भन्दै आफ्नो कार्यशैली सुनाए।
मैथिली भाषामा सम्बोधन गर्दै बालेनले भने, ‘न मलाई भाषण गर्ने मुड छ, न तपाईंहरूलाई सुन्ने मुड छ। तपाईंहरूलाई काम चाहिएको छ, मलाई काम गर्ने मुड छ।’
परम्परागत राजनीतिज्ञहरूले भेटघाट र चियापानमै समय बिताउने प्रवृत्तितर्फ व्यंग्य गर्दै बालेनले काठमाडौंको मेयर हुँदाको आफ्नो अनुभव सुनाए।
उनले ४ वर्षको कार्यकालमा आफूले फजुल भेटघाट बन्द गरेर काममा मात्र ध्यान केन्द्रित गरेको दाबी गरे।
‘काठमाडौंको मेयर भएर ४ वर्ष कुर्सीमा बस्दा मैले मान्छे भेटिनँ, केवल काम गरेँ,’ बालेनले भने, ‘मैले काम गरेँ कि गरिनँ, त्यो तपाईंहरूले देखिरहनुभएको छ। म त्यही काम गर्ने हुटहुटी लिएर यहाँ आएको छु।’
उनले जनतालाई प्रश्न गर्दै भने, ‘तपाईंहरूलाई भाषण गर्ने नेता चाहिएको हो कि काम गर्ने ? यदि काम गर्ने मान्छे चाहिएको हो भने म छु।’
उनले आफूले काठमाडौंमा ४ वर्ष लगाएर गरेको कामको उदाहरण दिँदै अब देशका लागि त्यस्तै काम गर्न चाहेको बताए।
प्रकाशित: ५ माघ २०८२ १६:४४ सोमबार



