रौतहट– समाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा गाविसका प्राविधिक सहायकलाई स्थानीयले हातपात गरेका छन्।

रौतहटको जटहरा गाविसका प्राविधिक सहायक शेख चाँद अलीलाई समाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा स्थानीयले जिल्ला विकास समितिको कार्यलयमै हातपात गरेका हुन्।
सरकारले जेष्ठ नागरिक, असहाय, विधवा, अपाङ्ग तथा बालवालिकालाई दिँदै आएको समाजिक सुरक्षा भत्ता बापतको रकम स्थानीय नागरिकलाई वितरण नै नगरी प्राविधिक सहायक अलीले हिनामिना गरी गाविसमा समेत कामकाज गर्न छाडेपछि स्थानीयले सदरमुकाम गौरस्थित जिल्ला विकास समितिको कार्यालय परिसरमै समातेर कुटपिट गरी नगर परिक्रमा गराएका हुन्।
प्राविधि सहायक अलीले स्थानीयको नक्कली सहीछाप गरेर समाजिक सुरक्षा भत्ता बाँडेको फर्जी कागज तयार पारेको गाउँलेको आरोप छ। अलीको अनियमितता बारे स्थानीयले थाहा पाएलगत्तै प्राविधक सहायक अलीलाई नियनत्रणमा लिएर कुटपिट गर्दै नगर परिक्रमा समेत गरेका थिए। स्थानीय गाउँलेहरुले प्रविधिक सहायक अलीलाई नगरपरिक्रमा पश्चात आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नरहरी बरालसमक्ष पुर्याएका छन्। जिविसको कार्यालयले समाजिक सुरक्षा भत्ता निकासा दिए पनि बिगत १६ महिनादेखि वितरण नै नगरी सबै रकम हिनामिना गरेको भन्दै प्राविधिक सहायक अलीलाई कुटपिट गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको स्थानीय शेख समसाद्ले बताए।
राज्यले उपलब्ध गराउँदै आएको भत्ता स्थानीयलाई दिनुको साटो नक्कली सहीछाप गरी उक्त रकम हिनामिना गर्ने प्राविधिक सहायक अलीविरुद्ध कडाभन्दा कडा कानुनी कारवाही हुनुपर्ने अर्का स्थानीय रामआधार रामले माग गरे। दिनभरी रक्सी सेवन गरी गौरमै बसेर काम गर्दासमेत अलीलाई सम्बन्धित निकायले कारवाही नगरेको भन्दै जिविसकै कर्मचारीको पनि मिलेमतो हुन सक्ने स्थानीयको आशंका छ। यसअघि प्राविधिक सहायक अलीले गाउँस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको ९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ परेर थुनामा बसेपछि माघ २६ गते जिल्ला अदालतबाट धरौटी तारेखमा रिहा भएका थिए।
प्रमुख जिल्ला अधिकारी नरहरी बरालले प्राविधिक सहायक अलीले बदमासी गरेकाे भए निजविरुद्ध कानुनी कारवाही गरिने तथा हिनामिना गरेको रकम असुल गराई समाजिक सुरक्षाको रकम वितरण गराउने प्रतिवद्धता जनाएपछि जटहराका बासिन्दाहरु फर्किएको उनले जानकारी दिए।
प्रकाशित: २४ फाल्गुन २०७२ ०३:५४ सोमबार



