ब्युरोका एसएसपी गणेश केसीका अनुसार भदौमा त्रिभुवन विमानस्थलको प्रस्थान कक्षमा आइएसई कुरियर गौशालाले काठमाडौंबाट जेट एयरमार्फत दिल्ली पठाउन तीन कार्टुन सामान लगेको थियो।
कार्टुनभित्र रिलिजियस डायरी लेखिएको नेपाली कागजको ५६ वटा डायरी रहेका थिए। शंका लागेर डायरी जाँच गर्दा गाता कभरमा चरेस लुकाएको फेला परेको थियो।
भारतको दिल्लीमा रहेका लागुऔषध कारोबारी पक्राउका लागि प्रहरीले सामान नियन्त्रणमा नलिई भारतीय प्रहरीलाई जानकारी गराएको थियो। भारतीय प्रहरीले दिल्ली विमानस्थलमा सो सामान बरामद गरी अनुसन्धान अगाडि बढायो भने ब्युरोले यता अनुसन्धान अगाडि बढाउँदै नुवाकोट बुङताङका सुबबहादुर तामाङलाई पक्रेको थियो।
केसीका अनुसार अनुसन्धानमा सो सामान लामो समयदेखि चरेस तस्करीमा संलग्न सन्तबहादुरको रहेको र उनले नै आइएसई कुरियरमार्फत भारत पठाएको खुलेपछि प्रहरी उनको खोजीमा खटिएको थियो।
सन्तको पहिचान भए पनि उनी तत्काल पक्राउ परेनन्। नुवाकोट बुङताङका उनी बूढानीलकण्ठ बस्दै आएका थिए। निरन्तर खोजीपछि उनी मंगलबार अनामनगरमा फेला परेको केसीले जानकारी दिए।
'उनको अनुसन्धान प्रक्रियासमेत सकिएकाले पक्राउपछि अदालतमा बुझायौं,' केसीले भने, 'उनको समूहको जालोबारे अहिले अनुसन्धान केन्द्रित छ।'
दिलबहादुरको सम्पत्ति खोज्दै प्रहरी
९० किलो चरेससहित पक्राउ परेका दिलबहादुर गुरुङ ब्युरोको हिरासतमै छन्। २०२३ देखि नै चरेस कारोबारमा संलग्न दिलमान २०३३ सालमा सरकारले चरेस कारोबारमा प्रतिबन्ध लगाएपछि तस्करीमा सक्रिय थिए।
पटकपटक पक्राउ पर्दै–छुट्दै आएका उनलाई ब्युरोले गाँजाको रेसाबाट बनेको जुत्ताको सोलमा चरेस राखेर युरोपेली मुलुक पठाउन लाग्दा माघ २० मा समूहका सदस्यसहित पक्रेको थियो।
हेरमान तामाङ, अक्कलबहादुर तामाङ, धनबहादुर गुरुङ र नरबहादुर गुरुङसहित पक्राउ परेका धनबहादुरलाई हिरासतमा राखेर प्रहरी अहिले उनको जालो केलाउन व्यस्त छ। अनुसन्धानमा जुत्ताको सोलसँगै उनले समेत धार्मिक पुस्तकको गातामा चरेस राखेर क्यानडा, भारत, इटली र चीन पठाउँदै आएका थिए।
ब्युरोका एसएसपी केसीका अनुसार अहिले ब्युरो लागुऔषध तस्करीबाट धनबहादुरले आर्जन गरेको सम्पत्ति खोजीमा खटिएको छ। ब्युरोले धापासीमा धनबहादुर बस्ने गरेको घरबाट अनुसन्धान सुरु गरिरहेको छ। उनी बस्दै आएको घर अर्काकै नाममा रहेको देखिएको र उनले सो घर जानाजान आफन्तको नाममा राखेको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको केसीले जानकारी दिए।
प्रकाशित: ५ फाल्गुन २०७२ २०:४७ बुधबार



