अन्तर्राष्ट्रिय

अमेरिकी सेनाले मादुरो दम्पतीलाई शयनकक्षबाटै पक्राउ गरेर न्यूयोर्क लग्यो

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले अपहरण गरेर न्यूयोर्क पुर्‍याएको छ। अमेरिकी सैन्य विमान न्यूयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको हो।

कडा सुरक्षाबिच मादुरोलाई विमानबाट बाहिर निकालिएको थियो। उनले नीलो ज्याकेट लगाएका थिए, अनुहार छोपिएको थियो। मादुरो सोमबार म्यानहट्टन अदालतमा उपस्थित हुने अपेक्षा गरिएका छन्। उनीमाथि लागूपदार्थ र हतियार तस्करीका गम्भीर आरोप छन्।

शयनकक्षबाटै अपहरण
अमेरिकी सेनाले जनवरी ३ को राति भेनेजुएलामा ठूलो हमला गरी मादुरो र पत्नी फ्लोरेसलाई शयनकक्षबाटै पक्राउ गरेको थियो। अहिले उनीहरू अमेरिकी हिरासतमा छन्।

ट्रम्पले भनेका छन्, ‘अवस्था सुधार नभएसम्म अमेरिकाले भेनेजुएला चलाउनेछ।’ यसका लागि विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेग्सेथसहितको विशेष टोली गठन भएको छ।

किल्ला जस्तो सुरक्षित कोठामा पनि अमेरिकी सेना छिर्‍यो
ट्रम्पका अनुसार मादुरो राष्ट्रपति भवनको स्टीलको पर्खाल भएको विशेष सुरक्षित कोठामा प्रवेश गर्न खोज्दै थिए। तर अमेरिकी सेना यति छिटो छिर्‍यो कि उनी ढोका बन्द गर्न पनि सकेनन्।

संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनले भने, अपरेशन महिनौंसम्म पूर्वाभ्यास गरिएको थियो। मादुरोको खाना, बसाई, घरपालुवा जनावरदेखि लुगाफाटासम्म सबै थाहा थियो। अभ्यासका लागि मादुरोको घरको नक्कल पनि बनाइएको थियो।

ट्रम्पले केही अमेरिकी सैनिक घाइते भएको तर कोही नमारिएको बताए। एउटा हेलिकप्टर क्षतिग्रस्त भए पनि सुरक्षित फर्किएको थियो। खराब मौसमका कारण अपरेशन चार दिन स्थगित गरिएको थियो।

हेलिकप्टरहरू समुद्र नजिकैबाट उडेर भेनेजुएला पुगेका थिए, माथिबाट लडाकु विमानले कभर दिएका थिए।

विश्वको मिश्रित प्रतिक्रिया 
चीनले यो कार्यलाई ‘सम्प्रभु राष्ट्रविरुद्ध बल प्रयोग’ भन्दै निन्दा गरेको छ। रुसले ‘सशस्त्र आक्रमण’ भनेर मादुरोको रिहाइ मागेको छ र राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक बोलाउने पक्षमा छ।

मेक्सिको, ब्राजिल र कोलम्बियाले एकतर्फी कारबाहीको विरोध गरेका छन्। राष्ट्रसंघका महासचिवले यसलाई ‘खतरनाक नजिर’ भनेका छन्। भेनेजुएलामा केहीले खुसी मनाएका छन् तर धेरैले भविष्यको चिन्ता गरेका छन्।

भेनेजुएलाको आर्थिक संकट र राजनीतिक अस्थिरताकाबिच अमेरिका-भेनेजुएला सम्बन्ध लामो समयदेखि तनावपूर्ण छ। २०१९ देखि अमेरिकाले मादुरोलाई वैध राष्ट्रपति मान्न छोडेको थियो। मादुरोको शासनमा आर्थिक पतन, मुद्रास्फीति र लाखौंको आप्रवासन भएको छ। एजेन्सीको सहयोगमा 

प्रकाशित: २० पुस २०८२ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App