अन्तर्राष्ट्रिय

ट्रम्पले युद्धपोत इरानतर्फ पठाएको भनेपछि इरान आक्रोशित : पूर्ण युद्धको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वतर्फ युद्धपोतहरूको ठुलो समूह पठाएको बताएपछि इरानले पूर्ण युद्धको चेतावनी दिएको छ। 

वरिष्ठ इरानी अधिकारीले अमेरिकाबाट आएको सैन्य खतरा सामना गर्न आफ्नो अधिकारमा रहेको सबै कुरा प्रयोग गर्ने स्पष्ट पारेका हुन्। ‘यस पटक, हामी कुनै पनि आक्रमणलाई हामी विरुद्धको पूर्ण युद्धको रूपमा लिनेछौँ र सकेसम्म कडा प्रतिक्रिया दिनेछौँ,’ ती अधिकारीले रोयटर्सलाई भने।

हालै सरकार विरोधी प्रदर्शनमा पाँच हजार भन्दा धेरैको मृत्यु भएको दाबीबिच ट्रम्पले युद्धपोतहरूको समूह इरानतिर पठाएको बताएका थिए। न्यूयोर्क टाइम्सका अनुसार अब्राहम लिंकन विमानवाहक तीन विनाशक र दर्जनौँ एफ-१५ई लडाकु विमानहरू क्षेत्रतर्फ लागेका छन्।

इरानी अधिकारीले तेहरान उच्च सतर्कतामा रहेको बताउँदै इरानको सेना सबैभन्दा खराब परिस्थितिको लागि तयार रहेको बताएका हुन्। ‘अमेरिकाबाट निरन्तर खतरा सामना गरिरहेको देशले आक्रमण गर्ने जोसुकैलाई पछाडि धकेल्न आफ्नो हातमा भएको सबै प्रयोग गर्नेछ,’ उनले थपे।

यसअघि ट्रम्पले ८०० भन्दा धेरै प्रदर्शनकारीहरूलाई मृत्युदण्डबाट जोगाएको दाबी गरेका थिए। हालै उनी डाभोसबाट फर्किएपछि तनाव फेरि बढेको छ। इरानको सेनाले सर्वोच्च नेता अली खामेनीविरुद्ध कारबाही गरिए जुनसुकै हदसम्म जाने चेतावनी दिएको छ।

यसअघि गत वर्ष जुनमा इरान र इजरायलबिच १२ दिने युद्ध भएको थियो। सो लडाइँमा दुवैतिर ठुलो मानवीय क्षति भएको थियो। इरानमा एक हजारभन्दा धेरैले ज्यान गुमाएका थिए भने इजरायलमा २० भन्दा धेरै मारिएका थिए। 

इजरायलको समर्थनमा आएको अमेरिकाले इरानमा आणविक केन्द्रमा आक्रमण गरेर आणविक शक्ति बन्ने क्षमता नष्ट गरेको दाबी गरेको थियो। तर तेहरानले ती दाबीलाई अस्वीकार गर्दै आएको छ। 

यसबिच टर्कीका विदेशमन्त्री हाकान फिदानले इजरायलले इरानमाथि आक्रमणको अवसर खोजिरहेको भनेका छन्। उनका अनुसार उक्त कदमले सो क्षेत्रमा अस्थिरता उत्पन्न हुनेछ। 

‘इजरायल, विशेष गरी, इरानमा आक्रमण गर्ने अवसर खोजिरहेको छ,’ फिदानले एनटीभीलाई भने। एजेन्सीको सहयोगमा

प्रकाशित: १० माघ २०८२ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App