भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्वपूर्ण खनिज र युरेनियम सुरक्षा सम्बन्धि वार्ता गर्नका लागि अष्ट्रेलिया भ्रमणमा छन्।
मेलबर्नमा बिहीबार आयोजित सामुदायिक र्यालीमा मोदीलाई रकस्टार स्वागत गर्ने तयारी गरिएको तथा यस कार्यक्रममा २० हजार भन्दा बढी मानिसहरू सहभागी हुने अनुमान गरिएको जनाइएको छ।
पछिल्लो समयमा भारत र अष्ट्रेलिया निकै नजिक हुदै गएको जनाइएको छ। युद्धको समयमा भारत र अस्ट्रेलियाको स्थितिलाई ध्यानमा राख्दै यो ऐतिहासिक रूपमा निकै कठिन सम्बन्ध रहेको अस्ट्रेलिया भारत इन्स्टिच्युटकी तिस्ता प्रकाशले बताए।
विश्वसनीय युरेनियम पाइपलाइन सुरक्षित गर्न प्रधानमन्त्री मोदीले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँग बिहीबारको बैठकमा छलफल गर्ने अपेक्षा गरिएको छ।
उच्च जनसङ्ख्या भएको देश भारतले आफ्नो आणविक उर्जा क्षमता तीव्र रूपमा विस्तार गर्ने योजना अघि बढाएको छ भने विश्व आणविक सङ्घका अनुसार अस्ट्रेलियाले विश्वको युरेनियम स्रोतको २८ प्रतिशत ओगटेको अनुमान गरिएको छ।
यस अघि भारत र अष्ट्रेलियाले सन् २०१५ मा आणविक सहयोग सम्झौता गरेर युरेनियम निर्यातको लागि मार्ग प्रशस्त गरेता पनि कानुनी अवरोधहरू बाँकी रहेकाले हालसम्म व्यापार सहज हुन नसकेको जनाइएको छ।
विद्युतीय सवारीको बजारलाई बढाउने महत्वाकांक्षाका साथ, भारत पनि लिथियम लगायतका महत्वपूर्ण खनिजहरूको खोजीमा रहेको तथा अस्ट्रेलियासँग प्रशस्त मात्रामा लिथियम रहेको जनाइएको छ।
अस्ट्रेलिया, भारत, संयुक्त राज्य अमेरिका र जापान क्वाडका सदस्यहरू हुन्, जुन समूहलाई एसिया–प्रशान्त क्षेत्रमा चिनको विपक्षको रूपमा हेरिन्छ।
संयुक्त राज्य अमेरिकाले गठबन्धनमा कम चासो देखाएको देखिन्छ, भने नयाँ दिल्ली र क्यानबेराले सुरक्षाका विषयहमा एक–अर्कासँग काम गर्ने इच्छा देखाएको जनाइएको छ।
प्रकाशित: २४ असार २०८३ १३:३७ बुधबार