खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको एक महिनामा ८० हजार आठ सय ३८.३२ क्विन्टल धान खरिद गरेको छ । कम्पनीले मंगलबारसम्म आठ वटा खरिद केन्द्रबाट सो परिमाणमा धान खरिद गरेको हो । कम्पनीले गत कात्तिक १२ गतेदेखि धनगढी केन्द्रबाट धान खरिद प्रक्रिया सुरु गरेको थियो ।
कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार आठ वटा केन्द्रबाट धान खरिद गर्न थालिएकोमा धनगढी र महेन्द्रनगरका दुई वटा केन्द्रबाट निर्धारण गरिएको कोटाभन्दा बढी धान खरिद भइसकेकाले तिनलाई बन्द गरिएको छ ।
आठ खरिद केन्द्रमध्ये हाल छ वटा केन्द्रबाट धान खरिद प्रक्रिया जारी रहेको छ । बाँकी पाँच वटा खरिद केन्द्रबाट अझै धान खरिद प्रक्रिया सुरु हुन नसकेको उनले बताए ।
कम्पनीले यस वर्ष १३ वटा खरिद केन्द्र निर्धारण गरेर धान खरिद गर्ने निर्णय गरेर ती केन्द्रका लागि कोटासमेत निर्धारण गरेको थियो । कम्पनीले यस वर्ष सबैभन्दा बढी कोटा धनगढी र महेन्द्रनगर केन्द्रलाई दिइएको थियो ।
धनगढी केन्द्रलाई पहिलो ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको थियो । सो केन्द्रलाई पछि तीन हजार नौ सय ४८.७३ क्विन्टल धान खरिदका लागि कोटा थप गरिएको थियो ।
यसैगरी कम्पनीले महेन्द्रनगर खरिद केन्द्रलाई पहिलो पटक पाँच हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेकोमा उक्त कोटा पूरा गरी एक हजार आठ सय ७६ क्विन्टल धान खरिद गर्न कोटा थप गरिएको थियो । यी दुवैले थप गरिएको कोटासमेत पूरा गरिसकेकाले हाल बन्द गरिएको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले राजापुरलाई मोटा धान २५ हजार क्विन्टल र मध्यम धान पाँच हजार क्विन्टल धान खरिद गर्न कोटा निर्धारण गरेकोमा मोटा धानको कोटामा १८ हजार चार सय २४.५६ क्विन्टल र मध्यम धानको कोटामा एक हजार सात सय ७०.९३ क्विन्टल धान खरिद गरेको छ ।
यसैगरी बिर्तामोड केन्द्रलाई धान खरिदका लागि आठ हजार क्विन्टल कोटा निर्धारण गरेका थियो । त्यसमध्य एक हजार नौ सय २३.२ क्विन्टल धान खरिद गरेको छ । विराटनगर केन्द्रलाई १३ हजार क्विन्टल कोटा निर्धारण गरिएकोमा एक हजार एक सय १९ क्विन्टल धान खरिद गरिएको छ । भैरहवालाई पाँच हजार क्विन्टल धान खरिद गर्न कोटा निर्धारण गरिएकोमा तीन सय ९१.९० क्विन्टल धान खरिद गरिएको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले नेपालगञ्ज केन्द्रलाई मध्यम धान पाँच हजार क्विन्टल र मोटा धान १५ हजार क्विन्टल निर्धारण गरेकोमा मध्यम धान चार हजार नौ सय ९९.७० क्विन्टल र मोटा धान दुई सय दुई सय १.१० क्विन्टल धान खरिद गरेको छ । तुलसीपुरलाई पाँच हजार क्विन्टल निर्धारण गरेकोमा चार हजार एक सय ८३.२० क्विन्टल धान खरिद गरेको छ ।
यसैगरी कम्पनीले लाहान केन्द्रलाई सोना मन्सुली धान १२ हजार क्विन्टल खरिद गर्न कोटा तोकिएको छ । जनकपुरलाई बासमती दुई हजार क्विन्टल र सोना मन्सुली धान १३ हजार क्विन्टल खरिद गर्न कोटा निर्धारण गरेको छ । वीरगन्जलाई सोना मन्सुली धान १० हजार क्विन्टल खरिद गर्न कोटा निर्धारण गरिएको छ । यस्तै जुम्लालाई पाँच सय क्विन्टल र पोखरालाई पाँच सय क्विन्टल कोटा निर्धारण गरेको छ । यी केन्द्र अझै धान खरिद गर्न थालिएको छैन ।
कम्पनीका अनुसार विभागमा २१ हजार क्विन्टल धानको कोटा सञ्चय गरेर राखिएको कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष एक लाख ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
कम्पनीका खरिद विभाग प्रमुख पौडेलका अनुसार मधेश प्रदेशका तीन जिल्लामा धान खरिद प्रक्रिया एकैपटक सुरु गर्ने विषयमा बैठक बसिरहेकाले अबको केही दिनमा धान खरिद प्रक्रिया सुरु हुने जनाइएको छ ।
यी जिल्लामा कोटा बढाउनुपर्ने माग भइरहेकाले धान खरिद प्रक्रिया ढिलाइ भएको उनले बताए । कम्पनीसँग भए जतिको कोटा निर्धारण गरिसकिएकाले थप कोटा निर्धारण गर्न नसकिने उनको भनाइ छ ।
सरकारले यस वर्ष मध्यम धानको न्यूनतम समर्थन मूल्य तीन हजार छ सय २८ रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो भने मोटा धानको मूल्य तीन हजार चार सय ६३ रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो ।
प्रकाशित: १७ मंसिर २०८२ २०:५९ बुधबार