प्रवास

एएनएलाई पुनर्जिवन दिने अपेक्षा

वासिङ्टन डिसी— अदालती निर्णयपछि सामूहिक नेतृत्वको हातमा आएको नेप्लिज इन अमेरिकाज (एएनए) को आसन्न 'मनासस भेला'ले संस्थालाई पुनर्जीवन दिने अपेक्षा गरिएको छ। करिब चार वर्षसम्म अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाको एकाधिकार रहेको यो सामाजिक संस्था, प्रिन्स जर्ज अदालत मेरिल्यान्डको अन्तिम निर्णयसँगै सामूहिक नेतृत्वको हातमा आएको हो।

 

मार्च १४ र १५ भर्जिनिया राज्यको मनाससमा आयोजना हुँदैछ। नयाँ कार्यसमितिले यसलाई विचार मन्थनको साझा मञ्च बनाउने घोषणासमेत गरेको छ। शेर्पाको एकल नेतृत्वको अन्त्यपछि हुन लागेको यस भेलालाई महत्वका साथ हेरिएको छ।

अदालतद्वारा गठित ट्रष्टीले गराएको चुनावबाट अध्यक्षमा निर्वाचित रजर अधिकारी भन्छन्– 'चार वर्षसम्म एएनएभित्र वैचारिक बहस हुन पाएन। हाम्रो समाजभित्रका समस्या र समाधानका विषयमा बिचारको आदानप्रदान नहुनु दुःखद् हो। त्यसैले हाम्रो पहिलो काम यहि विन्दुबाट सुरु हुनेछ।'

यस अवधिमा अमेरिकामा थुप्रै नेपाली थपिएका र यही भित्र पनि सामाजिक क्रियाकलापमा चासो राख्ने उमेरका युवायुवतीको संख्या बढिरहेको उल्लेख गर्दै, यस अवस्थामा एएनएको भिजन प्रष्ट पार्नु जरुरी भएको अधिकारी बताउँछन्।

भेलामा विगतका कामकारबाही बारे कुरा उठ्छ कि? भन्ने नागरिकन्युजको जिज्ञासामा अधिकारीले भने, 'संस्थाको हरहिसाब र प्रगति विवरण बुझाउने काम अझै भएको छैन। विगतको निर्णय प्रक्रियामा संलग्न कोही पनि सम्पर्कमा आउन नचाहेर अदालतको निर्णयलाई समेत चुनौती दिइरहेका छन्। उनीहरूले कुनै हालतमा उन्मुक्ति पाउने छैनन् तर, ती केही बाहेक अरूसँग हाम्रो कुनै गुनासो छैन।'

उनले सबैलाई भेलामा आउन आह्वान गर्दै एएनएले विभिन्न नेपाली संघसंस्थासँग मिलेर सामाजिक काम गर्ने बताए ।

एएनए संस्थापक अध्यक्ष डा. हरि शर्मा संस्थाको ऐतिहासिक पृष्ठभूमि र लक्ष्य नभुल्न आग्रह गर्छन्। नेपाली भाषा, धर्म, संस्कृतिको जगेर्ना र एकअर्काबीच सरसहयोग गर्ने उद्देश्यको जगमा एएनए स्थापना भएको स्मरण गराउँदै 'मनासस भेलाले गुट्बन्दी र आपसी मनमुटावको अन्त्य गर्नुपर्ने डा. शर्मा बताउँछन्।

भेला संयोजक तथा एएनएका पूर्व महासचिव मेदिनी अधिकारी, भरपर्दो सामाजिक संस्थाको अभावले नेपालमा झैँ यहाँ पनि पार्टी, धर्म, जातजाति र क्षेत्रीयताका नाममा नेपालीहरू विभक्त भइरहेको गुनासो गर्छन्। 'सबैभन्दा पहिले हामी नेपाली हौं त्यसपछि मात्र हाम्रो अन्य पहिचान छ भन्ने भावनाको विकास गर्नू आवश्यक छ,' उनको विचारमा एएनएको अबको मुख्य चुनौती पनि यही हो ।

'समयक्रमस"गै परिस्थिति फेरिँदैछ, मुद्दाहरू पनि थपिँदै गइरहेका छन्' अधिकारी प्रष्ट्याउँछन्– 'नयाँ नेपाली र हुर्कँदो नेपालीलाई समेत समेट्नसक्ने कार्यक्रम र नेतृत्वको खाँचो छ।' उनले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै अदालतमा मुद्दा हाल्ने (फायल) र मुद्दा खेपेका (घायल) हरू भेलामा सहभागी हुने बताए।

यसैबीच, मनासस भेला सफल बनाउन हातेमालो गरिरहेका संस्थाहरूले पनि यो भेला, मनको मैलो माझामाझ गर्न र सबैलाई एकताबद्ध गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

एक छलफल कार्यक्रममा एनइसीसीका नेत्र घिसिङ, अमेरिका नेपाल सहयोगी समाजका सागर कँडेल, खगेन्द्र अधिकारी, कमल भट्टराई, डिसी नेपाली समाजका अरूण रुपाखेती, कमल पोख्रेल, अमेरिका नेपाल चौपारीका रामचन्द्र भट्टराई, नर्दन भर्जिनिया स्पोर्टस् क्लबका कमल भूषाल, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज अफ अमेरिकाका विजय श्रेष्ठ, नेपाल स्पोर्टस का सीता पाण्डे, एएनका पूर्व कोषाध्यक्ष अनिल पाण्डे र सदस्य लक्ष्मी गौडेलले भेलाले नया ऊर्जा थप्ने विचार व्यक्त गर्दै सबैलाई मिलाएर लानसक्ने नेतृत्वको खोजी गर्नेसमेत उल्लेख गरे ।

प्रकाशित: २७ फाल्गुन २०७१ २३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App