चालक दलका १२ सहित २ सय ३९ जना सवार बोइङ ७७७ जहाज क्वालालम्पुरबाट बेइजिङका लागि उडेको एक घन्टापछि आकाशमै कसरी बेपत्ता भयो भन्ने पत्ता लगाउन अनुसन्धानकर्तालाई महिनौं लाग्नसक्छ। सन् २००९ मा आकाशबाटै हराएको एयर फ्रान्सको जहाज दुर्घटनामा परेको तथ्य पत्ता लगाउन तीन वर्ष लागेको थियो।
विश्वको अग्रणी जहाज निर्माता बोइङ कम्पनीका पूर्व सुरक्षा इन्जिनियर टड कर्टिस भन्छन्, ‘विमान बेपत्ता भएको प्रारम्भिक चरणमा हामी सबै आफूलाई थाहा नभएको घटनामाथि ध्यान केन्द्रित गरिरहेका छौं।' एयरसेफ डट कमका निर्देशक टड बोइङमा ७७७ वाइड बडी जेटको सुरक्षा प्रणालीमा संलग्न थिए।
मलेसियाली वायु सेनाप्रमुख रोजाली दाउदका अनुसार जहाज बेपत्ता हुनुअघि क्वालालम्पुरतर्फ फर्केको संकेत सैनिक राडारमा पाइएको थियो। वायु सेनाप्रमुख दाउदले जहाज फर्केर कुन दिशातर्फ गयो वा कति बेरपछि बेपत्ता भयो, त्यसको विवरण भने दिएनन्। मलेसियाकै सुरक्षा अधिकारी भने जहाजका चारजना यात्रुको शंकास्पद पहिचानबारे छानबिन गरिहरहेका छन्।
फर्केको सूचना साँचो भए जहाज आकाशमै पड्कने सम्भावना कम भए पनि विमान चालकले सहायता किन मागेनन् वा संकटमा परेको सूचना किन दिएनन्जस्ता धेरै प्रश्न उठेका छन्। जहाजमा सामान्य यान्त्रिक गडबडी वा दुवै इन्जिन एक्कासि बन्द हुँदा पनि संकटको सूचना दिने समय पाइलटसँग हुन्छ। पाइलटले यस्ता सूचना नदिनुबाट जहाजमा अचानक भयानक संकट आइपरेको हुनुपर्छ भन्छन् विलियम वाल्डक। वाल्डक एरिजोनको प्रेस्कटस्थित एम्बरी–रिडल एरोनटिकल युनिभर्सिटीमा दुर्घटना अनुसन्धानबारे प्राध्यापन गर्छन्।
दिन जति बित्दैछ, बेपत्ता जहाजको अवस्थाबारे अनेकौं अड्कल काटिँदैछ। जहाज एक्कासि टुक्रेर वा अन्य कुनै कारणबाट तीव्र गतिमा सोझै समुद्रमा खसेको अनुमान विशेषज्ञले लगाएका छन्। केहीले त आतंकवादीद्वारा विस्फोट गराइएको वा पाइलटले नै जानाजान दुर्घटना गराएको हुनसक्ने अनुमानसमेत गरेका छन्।
विशेषज्ञहरूले भने अहिले नै कुनै सम्भावनालाई नकारेर यस्तै भएको थियो होला भन्नु हतार हुने बताएका छन्। विमानको फ्लाइट डाटा तथा भ्वाइस रेकर्डर फेला पारी अध्ययन गरेपछि र जहाजका अवशेषको छानबिन गरिएपछि मात्र बेपत्ता हुनुको वास्तविक कारण पत्ता लाग्नेछ। अमेरिकाबाट संघीय जाँच एजेन्सी एफबिआई, राष्ट्रिय यातायात सुरक्षा बोर्ड, संघीय उड्डयन प्रशासन र बोइङ कम्पनीका विशेषज्ञ जहाज खोजीमा सघाउन मलेसियातर्फ आएका छन्।
प्रायः जहाज दुर्घटना धावनमार्गबाट उड्दा र विमानस्थलबाट आकाशिने क्रममा वा विमानस्थलमा अवतरण क्रममा हुने गर्छ। जस्तो, गएको वर्ष अमेरिकी सहर सान फ्रान्सिस्कोमा अवतरण गर्दा एसियान एयरलाइन्सको जेट विमान दुर्घटनाग्रस्त भयो। बोइङ कम्पनीले व्यापारिक जेट विमान दुर्घटनाबारे अध्ययनपछि सार्वजनिक गरेको तथ्यांकअनुसार आकाशमा ३५/३६ हजार फिट उचाईमा उडिरहँदा जहाज गम्भीर दुर्घटनामा पर्ने सम्भावना ९ प्रतिशत मात्र हुन्छ।
अमेरिकाका वायुसेवा कम्पनीमा २५ वर्ष जहाज उडाएका र अहिले सुरक्षा व्यवस्था प्रणालीका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन जोन एम कक्स भन्छन्, ‘मलेसियाली विमानमा जस्तोसुकै घटना भए पनि त्यो अत्यन्त छिटो भएको हुनुपर्छ।' उनको भनाइमा जहाजमा आइपरेको विपत्ति यति ठूलो हुनुपर्छ कि त्यसले जहाजको स्थिति र अवस्थाको सूचना दिन उपयोग गरिने रेडियोसमेत बन्द गरिदियो। उनी जहाजको रेडियो चालक कक्षबाटै बन्द गरिएको हुनुपर्छ भन्छन्।
जहाजका अवशेष दसौं किलोमिटर दायरामा फैलिए निकै उचाइमा टुक्रेर झरेको हुनसक्ने विशेषज्ञ बताउँछन्। बम विस्फोट वा जहाजको ढाँचा नै भत्केको अवस्थामा मात्र यसरी टुक्रन्छ। जहाजको अवशेष सानो दायरामा मात्र भए समुद्रभन्दा १० हजार ५ सय मिटर माथिबाट झरेको र पानीमा ठोक्किएपछि टुक्रेको हुनसक्ने विशेषज्ञ बताउँछन्।
उड्डयन इतिहासमा बोइङ ७७७ विमानको सुरक्षा सबैभन्दा भरपर्दो मानिन्छ। बोइङले यात्रु बोकेर सन् १९९५ जुनमा पहिलो उडान गरेयता १८ वर्षसम्म कुनै गम्भीर दुर्घटना नभएको कीर्तिमान छ। बोइङको दुर्घटनारहित इतिहास गत वर्ष सान फ्रान्सिस्कोमा भएको एसियाना एयरको विमान दुर्घटनाले अन्त्य गर्योट। सान फ्रान्सिस्कोको दुर्घटनामा एसियानामा सवार ३ सय ७ जनामध्ये ३ जनाको मात्र मृत्यु भएको थियो।
विमान बेपत्ता हुनसक्ने अन्य कारण
– एक्कासि जहाजको संरचना/ढाँचा टुक्रिनु : अधिकांश हवाइजहाज आल्मुनियमबाट निर्मित हुन्छन्। यस्ता संरचना बिस्तारै खिइँदै जान्छन्, खासगरी आर्द्रता बढी भएका ठाउँमा। विशेषज्ञहरू भने रोल्स रोयसद्वारा निर्मित बोइङ ७७७ को ट्रेन्ट ८०० इन्जिन वा संरचना टुक्रिने सम्भावना कम रहेको बताउँछन्।
– प्रेसराइज र डिप्रेसराइजका कारण दुर्घटना हुनसक्ने : उडान/अवतरण क्रममा विमानका क्याबिनमा हावाको चाप कम वा सामान्य पार्नुपर्ने हुन्छ। यस्तो बेला चाप घटबढ गर्दा कहिलेकाहीँ विमानको कुनै भाग च्यातिन वा दुर्घटना हुनसक्छ।
– खराब मौसम : सामान्यतया आँधीहुरीबीच पनि उड्नसक्ने गरी जहाजको डिजाइन तयार पारिएको हुन्छ। तैपनि कहिलेकाहीँ खराब मौसमका कारण जहाज दुर्घटनामा पर्छन्। तर, मलेसिया एयरको जहाज बेपत्ता हुँदा त्यस क्षेत्रमा मौसम सफा थियो।
– पाइलटको ध्यान अन्यत्र मोडिनु : विशेषज्ञका अनुसार उचाइ लिइसकेपछि चालकले जहाजलाई स्वचालित उडान प्रणालीमा छाडेको र कुनै भवितव्यको जानकारी पाउन्जेलसम्म निकै ढिलो भएको हुनसक्छ। विशेषज्ञले यो सम्भावना नकारिसकेका छैनन्।
– दुवै इन्जिन बिग्रनु : जहाजमा दुईवटा इन्जिन हुन्छन्। ती दुवै एकैपल्ट बिग्रेमा पनि जहाज दुर्घटनामा पर्छ। विशेषज्ञले बेपत्ता जहाजका सम्बन्धमा यो कारण पनि नकारेका छैनन्। तर, यस्तो स्थितिमा पनि जहाज करिब २० मिनेटजति अघि बढ्छ। यस्तो बेला चालकसँग सहायता माग्न पर्याप्त समय हुने विशेषज्ञ बताउँछन्।
– विस्फोट : उड्दाउड्दै एक्कासि बम विस्फोट भएर पनि जहाज हराउन सक्ने विशेषज्ञ बताउँछन्।
– अपहरण : परम्परागत रूपमा जहाज अपहरण भए अपहरणकारीले कुनै विमानस्थलमा अवतरण गराएर आफ्ना माग राख्ने गर्छन्। तर न्युयोर्कको टि्वन टावरमा अपहरित जहाज ठोक्काएजस्तै मलेसियन एयरलायन्सको बेपत्ता जहाजलाई पनि अपहरणकारीले समुद्रमा खसाल्न बाध्य पारेको हुनसक्ने विशेषज्ञले औंल्याएका छन्।
– चालकद्वारा आत्महत्या : कहिलेकाहीँ विमान चालकले जानाजान दुर्घटना गराएका उदाहरण छन्। सरकार वा अनुसन्धानकर्ताले औपचारिक रूपमा स्वीकार नगरे पनि चालकले आत्महत्यास्वरुप दुर्घटना गराएका छन्।
– गोली प्रहार : विश्वमा कुनै देशको सेनाले वा लडाकु विमानले व्यावसायिक उडान गरिरहेका विमानमा झुक्किएर गोली प्रहार गरी खसालेका घटना पनि छन्।
प्रकाशित: २६ फाल्गुन २०७० १९:५२ सोमबार



