समाचारमा सतर्कता अपनाउनुपर्ने सुझाव आएको आयै छ। बाहिर ‘आरिघोप्टे पानी’ परेको पर्यै छ। मन त्यसै आत्तिएको छ। विशेष काम नपरी घरबाट बाहिर निस्कन सकिएको छैन। एकतमास मन छटपटिइरहेको छ- अब के हुने हो? कसरी बढ्ने हो? कति क्षति हुने हो?
अस्ति भर्खरै जेनजीले गरेको आन्दोलनको क्षति भिन्दै छ। तर, परिवर्तनको सुरुवात भएकाले मन कताकता फुरुङ्ङ पनि भइरहेको छ।
यसरी हेर्दा सङ्घर्षपछि परिवर्तन आएको देखिन्छ तर केही मानिसको जीवनमा जति सङ्घर्ष गरे पनि परिवर्तन आउँदैन।
फेरि म आफ्नै जीवनमा घोत्लिन थाल्छु - ‘थाहै नपाई विवाह भएको तिस वर्ष बितेछ। पाँच वर्षबाट सुरु भएको थियो सङ्घर्ष। त्यही क्रम निरन्तर छ। अझै सम्झन्छु श्रीमानलाई।’
विवाहका सुरुवाती दिन निकै उज्याला थिए। आमाबाबासँगै छु जस्तो लाग्थ्यो। सानो छँदाको दसैंजस्तै रमाइलो लाग्थ्यो जीवन।
१८ वर्षकी म, जसको आँखामा जीवनको सपना झिलीमिली गर्दै थियो, ३० बर्से पतिसँगै नयाँ जीवन सुरु गर्न उत्साही थिएँ। घरमा पहिलो वर्षको उत्साह, प्रेम र सानोतिनो हाँसोको मधुर ध्वनि भरिएको थियो।
श्रीमानले मलाई जीवनको अनुभव, समझदारी र जिम्मेवारी देखाए। हाम्रो सम्बन्ध सरल र सजीव थियो। प्रेम, सान्त्वना र विश्वासले भरिएको थियो हाम्रो दाम्पत्य जीवन।
पहिलो बच्चाको आगमनले घरमा अझ मिठास भरिएको थियो। खुसीले फूलको थुँगा भएको थियो मन। हरेक रात म बच्चाको निद्रासँगै आफ्नो जीवनको अर्थ खोज्थेँ।
फेरि अर्को बच्चाको आगमन भयो। झन् सुन्दर देखिन थालेको थियो हाम्रो जीवन। पत्नीको नाताले खाना, पढाइजस्ता हरेक जिम्मेवारी निर्वाह गरेँ। मलाई केही गर्न कसैले सिकाउनुपर्दैनथ्यो।
मैले बुझेकी थिएँ, ‘यो घर मेरो मात्र होइन, सम्पूर्ण परिवारको आश्रय हो।’
विवाहको पाँचौं वर्षपछि बिस्तारै धेरै कुरा बदलिन थाल्यो। श्रीमान् धेरै समय घरबाहिर बिताउन थाले, साथीसँग रमाइलो, मदिरा, हाँसो र स्वतन्त्रता खोज्न थाले।
मेरो विश्वास थियो - यो अस्थायी चरण मात्र हो तर पच्चिस वर्षको लामो पीडाको यात्रा यहींबाट सुरु भएको थियो।
मलाई पहिलो पटक धोका सतही लागेको थियो। रातको केही ढिलाइ, औपचारिक फोन कल, कामको कारण सोध्ने निहुँमा हुने कुरा, यस्तैमा धानिएको थियो सम्बन्ध।
मैले विश्वास गरेकी थिएँ, फेरि कहिल्यै यस्तो दोहोरिने छैन। तर केही महिना, वर्ष र दशक बितिसक्दा बल्ल मैले बुझें - त्यो सुरुवात मात्र थियो।
मेरा श्रीमानले अर्की महिलासँग सम्बन्ध राख्न थाले। छोराछोरीभन्दा कम उमेरकी युवतीसँग रमाउने क्रममा श्रीमान् बेला–कुबेला घर फर्किन्थे। कहिले क्रोध, कहिले देखावटी माया! प्रेमको आवरणमा पनि कहिल्यै देखिएन प्रेम। बहस-झगडा थिएन तर निरन्तर बेवास्ता र धम्की खेप्दै थिएँ म। नदेखिने पीडाले मलाई बेसरी थिचिरहेको थियो।
बारम्बार म आशामा बाँचिरहन्थेँ -फेरि कहिल्यै धोका दोहोरिने छैन।
मेरो आशा ३० वर्षसम्म छिनोफानो भयो। ती वर्षहरूमा मैले आफ्नो शरीर, मन र आत्मालाई परिवारका लागि अर्पिएँ। हरेक बिहान उठ्दा मलाई थाहा थियो, आज पनि मेरा जीवन समर्पण र बलिदानमा सीमित हुनेछ। मैले छोराछोरीको पढाइ सुनिश्चित गरेँ। छोराछोरी पढाइ पूरा गरेर जीवनमा अघि बढ्दै थिए, श्रीमान् अझै आफ्नो इच्छामा रमाउँदै थिए। मदिरा, नसा र नयाँ प्रेमसम्बन्धले घरमा अँध्यारो फैलिएको थियो।
कुनै पारिवारिक जमघट होस् वा राष्ट्रिय पर्व, श्रीमानलाई केहीको मतलब थिएन। मतलब थियो त खाली मोबाइल कल र मेसेजको। लाग्थ्यो, कुनै टिनएजर घरमा बस्दा कसै कतैको सम्झनामा बसिरहेको छ, सधैं फोन र मेसेजमा रमाइरहेको छ।
मलाई अचम्म लाग्थ्यो। म आफैंलाई सोध्थेँ - किन यस्तो भएको होला?’
सोच्थेँ - मान्छेको विवेक नगुमे जिन्दगी कति हराभरा हुन्थ्यो होला? खुसीको पहारिलो घाम लागे जिन्दगी कति रमाइलो हुन्थ्यो होला?’
म सबै कुरा बुझ्थेँ तर नबुझेजस्तो गरेर जीवन अगाडि बढाउँथेँ, नत्र कि श्रीमानसित झगडा गर्नुपर्थ्याे कि घर छाड्नुपर्थ्याे।
आमाबुबाको त्यो संस्कार अनि छोराछोरीको माया र जिम्मेवारी मेरै काँधमा थियो। मैले छोड्न सक्दिनथेँ त्यो संस्कार, सन्तानप्रेम अनि पारिवारिक अभिभारा।
घर जिम्मेवारी र पीडास्थल बन्दै थियो। श्रीमानकाे क्रोध, अपमान र बेवास्ता सहेर बच्चाहरूको भविष्य सुनिश्चित गर्दै जीवन बिताउँदै थिएँ। मेरा दिन घर, खाना, पढाइ र परिवारको सन्तुलनमा बित्थे। रातहरू भने स्मृति र दुःखका घाउसँग बित्थे। हरेक साँझ निराशा बोकेर आउँथ्यो। यो दुःख कसैसँग बाँडेर नबाँडिने रहेछ। जिन्दगीमा जसलाई पर्छ, उसैले पीडा खेप्नुपर्ने रहेछ।
बिहानीपख अनिदो आँखा र सुनिएको अनुहार देखेर साथीहरूले अचम्म मान्दै सोध्थे - के भएको छ तिमीलाई? पूणिमाजस्तो उज्यालो अनुहारमा किन देखिन्छ निराशाको कालो बादल?’
केही भएको छैन भन्दै म अन्तै कुरा मोड्छु। एकदिन साहस बटुलेर जेठानी र सासूसित मन बिसाउन खोजेकी थिएँ। उल्टै उहाँहरू ममाथि खनिनुभयो - ‘मेरा छोराले के दुःख दियो तिमीलाई? मेरो छोरो हाम्रो घरको सान हो। असललाई कमसल भन्ने आँट कसरी आयो तिमीलाई? सुखी जीवनका लागि आँखा चिम्लेर उनको कुरा मान। उनका अघि स्कुले नानीजस्तै आज्ञाकारी बने मात्रै तिम्रो भलाइ हुनेछ।’
म अन्याय सहेर आफैंमाथि अन्याय गर्दै थिएँ। अब त केही नहोला भन्ठानेकी थिएँ तर गाली गर्न थाले, ‘अब माफी माग श्रीमानसँग। झुकेर अब कहिल्यै गल्ती दोहोर्याउँदिनँ भन।’
मेरो शान्त हृदयले एकाएक बोल्यो, ‘अब केही गल्ती नगरी कसरी माफी माग्नू? घरपरिवार र छोराछोरी हेर्दा मैले के बिराएँ? छोराछोरीलाई सपना हेर्न सिकाउँदा मैले के गल्ती गरूँ? उनीहरू अलपत्र नपरून् भनेर ज्यादती सहेको छु। छोराछोरी र घरपरिवार सम्हालेर बस्दा कसरी भयो गल्ती?’
फ्ल्यासब्याकमा, म फेरि १८ वर्षकी युवतीको सम्झनामा फर्किन्छु, जसले प्रेमको सपना देख्थिन्। विवाहमा विश्वास गरेकी, जीवन उज्यालो बनाउने आशा राखेकी, जीवनको अथाह सपना बोकेकी तर २५ वर्षको उमेरदेखि सुरु भएको धोका, ३० वर्षको निरन्तर पीडा मेरो जीवनको अँध्यारो अध्याय बन्यो।
यो धर्तीमा धेरै शिशिर वसन्त भएर फुल्यो र मुस्कुरायो। हराभरा र सुन्दर बन्यो तर श्रीमान् कहिल्यै सच्चिएनन्। श्रीमान् आफ्नै इच्छामा रमाइरहेका थिए। पत्नीको जीवन, जसले जीवनभर प्रेम र समर्पण देखाएको थियो, पीडा र बलिदानको कथा मात्रै बन्यो।
बाहिर रेडियोमा गीत गुन्जिंदै थियो, ‘सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन!’
जीवन पीडै पीडाले भरिएको थियो। अब त खालि एउटै इच्छा थियो, छोराछोरी आफ्नै खुट्टामा उभिऊन्। उनीहरूले कहिल्यै दुःख नपाऊन्।’
मनमा धेरै इच्छा भए पनि कहिल्यै प्रश्न गरिनँ उनलाई। अभिभावकको अभिभारा बोकेर मेरो जीवन यही हो भन्दै अगाडि बढिरहेकी थिएँ। छोराछोरी कसैलाई पनि थाहा नहोस् भन्ने लाग्थ्यो। मलाई थाहा छ भन्ने श्रीमानले थाहा पायो भने ऊ मसँग आँखा मिलाउन सक्दैन भन्ने डर लाग्थ्यो।
यसरी दिन, महिना र वर्ष गर्दै आफ्नै धुनमा समय दौडिरहेको थियो। छोराछोरी पनि आआफ्नो काम र पढाइमा व्यस्त थिए। मेरो श्रीमान् पनि आफ्नो ‘मेरिटल अफेयर’ मा व्यस्त थिए। बिस्तारै मलाई बानी लागिसकेको थियो। उनको दिनचर्यामा प्रश्न पनि गर्दिनथेँ म। चिन्तापिरले होला, मेरो पनि शरीरले साथ छोडिरहेको थियो।
मेरो शरीर अब अलि गल्ने भइसकेको थियो तर ममा उत्साह र साहस बाँचिरहेको थियो। बच्चाहरू वयस्क भए तर पति अझै आफ्नै इच्छामा रमाउँदै थिए। मेरो मनमा अँध्यारो, पीडा र धोकाको गहिरो घाउ मात्रै थियो। जुन घाउ लुकाएर म घरपरिवार र समाजका लागि बाँच्दै थिएँ।
म अझै घरमा बाँचिरहेकी छु, मात्र अस्तित्वका लागि। प्रेम, जुन एक समय उज्यालो र पूर्ण थियो त्यही प्रेम अब पीडाको सागर बनेको छ। म न रोएँ न आफ्नो पीडा कसैलाई देखाएँ। आफ्ना बच्चाको उज्यालो भविष्य सुनिश्चित गर्न म आफ्नै जीवन बलिदान गर्न सधैं तयार थिएँ। म मेरै बच्चाका लागि व्यस्त थिएँ।
यो कथा पत्नीको मात्र होइन, यो समाज, संस्कृति र बलिदानको कथा हो। पति कहिल्यै परिवर्तन हुँदैन। पत्नीले आफ्नो जीवनको सम्पूर्ण बलिदान जारी राख्छिन्। बच्चाहरूले उज्यालो भविष्य पाउँछन् तर पत्नीको जीवन सधैं पीडामा रहन्छ।
म आज सोच्छु - यो संसारमा एउटा परिवार बन्न आमा र श्रीमतीको कति अहम् भूमिका हुँदो रहेछ। बलेको मैनबत्ती आफू पग्लिएर सकिँदै वातावरण उज्यालो पारेको हुँदो रहेछ।
त्यस्तै म सोच्छु - यो संसारमा एउटा परिवार बन्न आमा र श्रीमतीको कति उच्च तपस्या हुनुपर्ने रहेछ। कति धेरै भूमिका हुनुपर्ने रहेछ।
मेरा नानीहरू मेरो धैर्यले अहिले बिहानी घामजस्तै मुस्कुराइरहेका छन्। म बिहानी घाम हेर्दै खुसी पोख्छु - पृथ्वी त्यसै पृथ्वी भएको होइन रहेछ। आमा भएर आमाकै डोबमा बाँच्नुमा छुट्टै आनन्द मिल्ने रहेछ।
प्रकाशित: २५ आश्विन २०८२ ०७:४० शनिबार



