नेपाली कला साहित्य डटकम प्रतिष्ठानले दुई स्रष्टालाई सम्मान अर्पिने भएकाे छ। २०८१ को योगेश्वर वाङ्मय पुरस्कार सल्यानका कवि एवम् कथाकार अमर शाह र ग्रेगरी कलासंस्कृति पुरस्कार रुकुम पश्चिम, त्रिवेणीका साहित्य एवम् संस्कृति साधक मनलाल ओलीलाई अर्पिने प्रतिष्ठानकाे विज्ञप्तिमा उल्लेख छ।
योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्रष्टा एवं समाजसेवी आफ्ना पिता योगेश्वर कार्कीका नाममा स्थापित पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। त्यस्तै कला तथा संस्कृतिविद् प्राडा ग्रेगरी जी। मस्कारिनेकका नाममा स्थापित ग्रेगरी कला संस्कृति पुरस्कार २० हजार रुपैयाँ राशिको छ।
यी दुवै पुरस्कार नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद्, रुकुम पश्चिमको सह–आयोजनमा ‘मेरो राष्ट्र मेरो ध्येय’ को उद्देश्यसाथ यस वर्षको चैत्र २० देखि २५ गते सम्मका लागि निर्धारित राष्ट्रिय कलासाहित्य यात्राअन्तर्गत आगामी चैत्र २३ गते रुकुम पश्चिम मुसीकोटमा सम्पन्न हुन गइरहेको विशेष सिर्जना उत्सव समारोहमा समर्पण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।
लोकप्रिय समालोचक महेश पौड्यालको अनुसार नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले बर्सेनि यी दुई पुरस्कारका साथै विभिन्न विधामा योगदान पुर्याउने साहित्य, सङ्गीत तथा कला साधकहरूलाई राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार र ‘नेपाल सम्मान’ अर्पण गर्दै आएको छ।
प्रकाशित: २१ फाल्गुन २०८१ ०७:५२ बुधबार


-600x400.jpg)
