निर्वाचन विशेष

यस कारण गुमाउन सक्छन् एमाले-कांग्रेसले जनमत

अन्योल र आशंकाबिच प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वशंपछि भदौ २७ गते गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले असमयमा नै निर्वाचनमा जाने निर्णय लिएको थियो । सोही अनुसार अपवाद बाहेक बिहीबार शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न भएको छ । 

निर्वाचन आयोगले  साँझबाट नै मतगणना सुरु हुने जनाउँदै बढीमा एक साताभित्र प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन परिणाम आइसक्ने दाबी गरेको छ । विगतको तुलनामा कम मतदान भएको यो निर्वाचनमा आयोगले भने अनुसार नै मतगणना सम्पन्न भएमा मुलुकले चैतको पहिलो साता जन निर्वाचित सरकार पाउने छ । साथै लिग बाहिर गएको संविधान र संवैधानिक प्रक्रियाबाट देश फेरि संविधानको राजमार्गमा फर्कने छ । 

नयाँ सरकार र संसद्मा पुराना खास गरी कांग्रेस र एमालेको उपस्थिति विगतको संसद्मा भन्दा पातलो हुनसक्ने हाम्रो सहकर्मीहरूको निर्वाचनअघि र मतदानपछिको आकलन रहेको छ । भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वशंपछि रक्षात्मक बनेका दुवै दलका नेता तथा कार्यकर्ताले आआफ्ना दल र उम्मेदवारलाई मतदान गरेका छन् ।तर, आम मतदातालाई विगतका निर्वाचनमा जस्तो आफ्नो दललाई मतदानका लागि प्रेरित गर्न असफल भएका छन् । अपवाद बाहेक उनीहरूले पार्टी र आफ्नो उम्मेदवारको प्रतिरक्षा समेत नगरेको देखिन्छ । त्यसले निर्णयमा पुग्न बाँकी रहेका मतदाता दुवै दलले गुमाएका छन् । उनीहरू मतदानसम्म नै ‘डिफेन्सिप’ देखिएका छन् । 

यी दुई दलमा विगत देखि नै आन्तरिक विवाद र कलह नभएको होइन । तर, भदौ २३ र २४ गतेको घटनालाई हेर्ने उनीहरूमा समान दृष्टिकोण थिएन र छैन । त्यसले बाहिर ठिकठाक देखिए पनि दुवै दलमा आन्तरिक किचलो र असन्तुष्टि चरम बन्न पुगेको छ । यद्यपि विगतमा जस्तो पार्टीकै उम्मेदवारविरुद्ध बागी र विद्रोही उम्मेदवारीको संख्या यस पटक कम परेको छ ।

कांग्रेस र एमालेको संगठनको जग मानिएको पाका मतदाता पनि क्षयीकरण आएको छ । उनीहरूले राजनीतिक दल र तिनबाट केही नपाएर वा नपाउने भएभन्दा आफूहरूलाई सम्मान नगरेको गुनासो र असन्तुष्टि देखिन्छ । साथै, मुलुकभित्र रोजगारीको अवसर सृजना गर्न नसक्दा बुढेसकालमा आफ्ना सन्तानहरू विदेशमा आफूहरू एक्लै बस्नु परेको गुनासो र रोष उनीहरूमा देखिएको छ । त्यो ६० वर्ष माथिको उमेर समूहमा रहेको छ भने ३५ वर्ष मुनीको उमेर समूहसँग कांग्रेस, एमालेसहितका पुराना दलहरूको एक प्रकारले सम्बन्ध विच्छेदको अवस्थामा छन् । उक्त उमेर समूहका बहुसंख्यक तन्देरीहरू परम्परागत दलको पक्षमा देखिएका छैनन् । 

त्यति मात्र होइन निर्वाचनमा घरपरिवारको मत घर मुलीभन्दा पछिल्लो पुस्ता अर्थात् छोरा÷छोरी, नातिनातिनाले प्रभावित गरे देखिएको छ । विदेशमा रहेका युवाले पनि घरपरिवारका बाबुआमालगायत सदस्यलाई कुन पार्टी र उम्मेदवारलाई किन मतदान गर्ने भनेर बुझाएका थिए । युवा पुस्ताको राय मान्न माथिल्लो पुस्ता तयार नभए भावनात्मक मोलमोलाइ गरेर धम्क्याउने काम गरेकाले निर्वाचनमा परिणाममा अनपेक्षित प्रभाव पार्ने देखिन्छ ।

विगतका निर्वाचनमा अपवादबाहेक परिवारका सदस्यले घर मुलीले भनेका उम्मेदवार र दललाई मतदान गर्ने परम्परा जस्तै थियो । सोहीअनुसार दल र उम्मेदवारले आआफ्नो प्रभाव क्षेत्र र मतको आकलन गर्थे । तर यस पटक त्यो क्रम भत्केको छ, घर मुलीले होइन, सबैभन्दा पछिल्लो पुस्ता अर्थात् जेनजीले बुबा, आमा, हजुरबुबा, हजुरआमासहित परिवारका अन्य सदस्यलाई आफूले भनेको दल वा उम्मेदवारलाई मत दिन तयार पारेको देखिन्छ ।

पार्टी र सत्ता राजनीतिमा पुग्न विगतमा केही भएन भनेर कांग्रेस, एमालेसहितका दलहरू र तिनका नेताले निराशा फैलाए ।तर, अहिले उनीहरूलाई सम्हाल्ने र सम्झाउन तिनै नेताहरू लागि परे पनि युवा पुस्ताले त्यसलाई नपत्याएको देखिन्छ । विदेशमा अध्ययन वा रोजगारीका लागि गएका बहुसंख्यक नेपालीहरूले यो निर्वाचनमा मत परिवर्तन गर्न घर परिवारमा आग्रह गरेका छन् । त्यसले पनि सम्पन्न मतदानमा प्रभावित गरेको छ । केही हुन्छ भन्ने आस र भरोसभन्दा यिनीहरूले मात्र कति खाने भन्ने आक्रोशमा मत परिवर्तन गर्नेको संख्या यस पटक धेरै रहेको आकलन गरिएको छ ।

जातीय आधारमा खुलेका केही राजनीतिक दल र तिनको प्रभावले कांग्रेस र एमालेको मतमा पनि असर गर्ने छ । त्यसको सबैभन्दा धेरै प्रभाव र असर पूर्वी पहाडका जिल्लाहरूमा पर्ने आकलन गरिएको छ । २०६४को मधेस आन्दोलनअघि मधेसमा नेपाली कांग्रेसको उपस्थिति बाक्लो थियो । त्यससँगै क्षेत्रीय दल खुल्दा मधेसमा कांग्रेस निकै खुम्चिएको थियो । अहिले मधेसवादी दलहरू नै त्यहाँ संकटमा परेको र पर्ने अनुमान गर्न थालिएको छ । कांग्रेस र एमाले पनि त्यहाँ आफ्नो अवस्था सुधार गर्ने सम्भावना कमजोर रहेको आकलन छ । 

अघिल्लो निर्वाचनमा सुदूरपश्चिमबाट उदाएको नागरिक उन्मुक्ति पार्टी अहिलेको निर्वाचनसम्म आइपुग्दा आन्तरिक विवादले अस्थित्व संकटमा पुगेको छ ।आफ्नो पकड क्षेत्र ठान्दै आएको कांग्रेसलाई पनि त्यसलाई जोगाउन संकट पर्ने देखिएको छ । कांग्रेसको विशेष महाधिवेशनसँगै उत्पन्न विवादको निरूपण बाँकी नै रहँदा शेरबहादुर देउवा मौन बस्दा त्यसको प्रभाव मतमा परेको आकलन गरिएको छ । रुकुम र रोल्पालाई आफ्नो आधार भूमि मानेको तत्कालीन माओवादी हाल नेपाली कम्युनिस्ट पार्टीबाट जनार्दन शर्मासहितका नेताहरू अलग हुँदा उसलाई पनि आफ्नो मत जोगाउन संकट पर्न सक्ने देखिएको छ ।

परम्परागत मत माग्ने प्रक्रियाबाट माथि उठेर दल र उम्मेदवारले डिजिटल प्रविधिको पनि भरपुर प्रयोग गरेका छन् । त्यसबाट प्रभावित भएर कतिपय मतदाताले निर्वाचनमा मतदान गरेका छन् । उम्मेदवारको व्यक्तित्व, योग्यता, क्षमता, योगदान, दलले अघि सारेका योजना, कार्यक्रमलाई आम मतदाताले खासै महत्त्व दिएको देखिँदैन । लहड र रहका आधारमा मत परिवर्तन गर्ने क्रम यस पटक तीव्र हुँदा त्यसको लाभ राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउन सक्ने छ ।

(सहकर्मीहरु चुमन बस्नेत, बिनोद सुवेदी, अमर खड्का, उपेन्द्र यादव, सन्तोष पोखरेल,संगम घर्ती मगर,रेखा भुसाल, देवेन्द्र वस्नेत,अर्जन ओली, गणेश बिसु,नगेन्द्र उपाध्यक्ष,दिनेश सुवेदी,वसन्त ढुंगाना,निर्मल घिमिरे, दिल बहादुर छत्यालको सहयोगमा)

प्रकाशित: २१ फाल्गुन २०८२ १९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App