निर्वाचन विशेष

मधेसको राजधानीमा रोचक भिडन्तः स्वतन्त्रको पछिपछि गठबन्धन

धार्मिक इतिहास बोकेको जनकपुरधाम उपमहानगरको परिचयमा मधेस प्रदेशको राजधानी थपिएको छ। धार्मिक दृष्टिकोणले महत्वपूर्ण यो उपमहानगर राजनीतिक हिसावले पनि उत्तिकै महत्व राख्दछ। आधार क्षेत्र मधेस भएको जनता समाजवादी पार्टीले त्यही भएर सत्ता गठबन्धनभित्र जनकपुरधाम उप महानगरको मुखिया(मेयर) पाउनुपर्ने अडान छाडेनन्।  

सत्ता गठबन्धन दलहरुले जसपालाई जनकपुरधामको मेयर दिन राजी भए, दिए। जसपाले जनकपुरधामको मुखियामा नयाँ चेहरा ल्याउनु भन्दा निवर्तमान मेयर लालकिशोर साहलाई नै दोहर्‍याए। जसपाका लालकिशोर मेयर र नेपाली कांग्रेसका किशोरी साह उपमेयरका रुपमा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रीए। किशोरी साह नयाँ चेहरा थिए भने लालकिशोर परिक्षण भैसकेका चेहरा।

जनकपुरधामको मेयरका आकांक्षी नेपाली कांग्रेसका जनकपुरधाम नगर अध्यक्ष मनोजकुमार साह सत्ता गठबन्धनको यस निर्णयबाट रन्थनिए। उनी ‘बागी’ बनेर जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए।  

मनोजलाई उम्मेदवारी फिर्ता लिन पार्टीले दवाव दियो। तर, उनी मानेनन्। जनकपुरधामको तिरहुतिया गाछिमा आयोजित सत्ता गठबन्धनको चुनावी सभाबाट नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कारवाही गर्ने चेतावनी समेत दिए। तर, मनोज अडानबाट टसमस भएनन्, उम्मेदवारी फिर्ता लिएनन्।  

नमानेपछि मनोजलाई बेवास्ता गरेर गठबन्धन चुनावमा अघि बढे। अहिले आइरहेको मतगणनाको प्रारम्भिक नतिजाले उनै मनोजको पछिपछि गठबन्धन दौडिरहेको देखाएको छ। आफ्नै पार्टीमा ‘बागी’ बनेका मनोज जनकपुरधामबासीका ‘प्रिय’ बन्न पुगेको मत गणनाको प्रारम्भिक रुझानले देखाएको छ। गठबन्धनका चहिता(प्रिय) लालकिशोर मत गणनाको रुझानले जनकपुरधामबासीका ‘बागी’ चेहरा बन्न पुगेका छन्। यद्यपी मतगणनाको अन्तिम नतिजा आइसकेको छैन। अन्तिम नतिजा फरक पनि हुनसक्छ।

प्रारम्भिक मत गणनाको परिणामअनुसार जनकपुरधाम उप महानगरपालिकाकाको मेयरका स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १ हजार ३७० मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार लालकिशोर साह १९६ मतमा सीमित छन्। मनोजले लालकिशोरसँग आफ्नो अग्रतालाई निरन्तर फराकिलो बनाउँदै लगेका छन्। मेयरको रेसमा लालकिशोर पाँचौ नम्बरमा चिप्लिएका छन्।

दोस्रो नम्बरमा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ६४४ मत मात्र ल्याएका छन्। स्वतन्त्र उम्मेदवार बलराम महतोले ४१४ मत ल्याएर तेस्रो स्थानमा छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २१५ मत ल्याएर चौथो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार जानकी राम साहले १५३ मत ल्याएर छौठौं स्थानमा छन्।  

गठबन्धनका साझा उम्मेदवार लालकिशोर मेयरको रेसमा पाँचौ स्थानमा रहँदा उपमेयरका सझा उम्मेदवार नेपाली कांग्रेसका किशोरी साहले १ हजार ४५४ मत ल्याएर अग्रस्थान कायम राखेका छन्। साहलाई नेकपा एमालेकी रुनादेवी झाले ७०७ मतसहित पछ्याउँदै छिन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App