निर्वाचन विशेष

इलामका दुई नगरमा गठबन्धन र दुईमा एमालेको अग्रता

इलामका ४ नगरपालिकाकाका मेयर र उपमेयरमा आधा गठबन्धन र आधामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिइरहेका छन्। अहिलेसम्म सूर्याेदय नगरमा नेकपा (एकीकृत समाजवादी), इलाम नगरमा नेपाली कांग्रेसअघि छन् भने माई र देउमाई नगरमा एमालेका उम्मेदवारको अग्रता छ।

सबैभन्दा चासोसाथ हेरिएको सूर्याेदय नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेकपा (एस)का उम्मेदवार रणबहादुर राईले अग्रता लिएका छन्। उनलाई प्रदेशसभा सदस्यबाट राजीनामा दिएका नेकपा (एमाले) का उम्मेदवार काजीमान कागतेले पछ्याउँदैछन्।  

वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा मेयरमा राईले १ हजार २ सय ५३ र कागतेले ८ सय ३ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनबाट कांग्रेसका दुर्गाकुमार बरालले १ हजार १ सय ६० र एमालेकी दुर्गादेवी भट्टराईले ८ सय २५ मत ल्याएका छन्। अहिले यहाँ वडा २ को गणना भइरहेको छ।

सूर्याेदय नगरपालिका पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र (इलाम १) मा पर्ने भएकाले पनि यहाँको मतपरिणामलाई जिल्लामै चासोका साथ हेरिँदैछ। २०७४ सालको निर्वाचनमा अहिलेका उम्मेदवार राईले नै एमालेबाट यहाँको मेयर जितेका थिए। उपमेयरमा पनि अहिलेकी उपमेयर उम्मेदवार भट्टराई विजयी भएकी थिइन्।  

जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकामा पनि गठबन्धनबाट कांग्रेस उम्मेदवार नै मेयरमा अगाडि छन्। वडा १, २ र १२ को गणना सम्पन्न भइ वडा ३ को गणना चलिरहँदा कांग्रेसका केदार थापाले मेयरमा ३ हजार १ सय ६५ र एमालेका धीरेन चेम्जोङले २ हजार ९ सय १५ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसकी विष्णुकुमार लिम्बू दाहालको ३ हजार २ सय ८२ र एमालेकी सीता रिजालको २ हजार ८ सय ८ मत आएको छ। यो नगरपालिका एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र (इलाम २) मा पर्छ।  

नेम्बाङकै क्षेत्रमा पर्ने देउमाई नगरपालिकाको मेयरमा एमालेका सूर्य पोख्रेल गठबन्धनका उम्मेदवार होम दुलालभन्दा अघि छन्। वडा १ को गणना सम्पन्न हुँदा पोख्रेलको १ हजार १ सय ८७ र दुलालको ८ सय २१ मत छ। पोख्रेल यसअघि पनि यही नगरको मेयर थिए भने दुलाल पोख्रेलसँगै पराजित भएका थिए। वडा २ को गणना भइरहेको छ।  

खनालको निर्वाचन क्षेत्रमा पर्ने माई नगरपालिकामा एमालेका मेयर उम्मेदवारले गठबन्धनलाई पछि पारिरहेका छन्। नगरको वडा १० मा मतगणना सम्पन्न हुँदा मेयरमा एमालेका खम्बासिंह लिम्बूले १ हजार १ सय ८ मत ल्याएका छन् भने गठबन्धनका माओवादी उम्मेदवार धनकुमार लिम्बूको ६ सय ६१ मत छ। उपमेयरमा एमालेकी हिमा भण्डारीको १ हजार ७७ र गठबन्धनका कांग्रेस उम्मेदवार हेमबहादुर लिम्बूको ८ सय २४ मत आएको छ। नगरको वडा ९ र वडा ८ मा गणना जारी छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App