धर्म/संस्कृति

झरीका बीच सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६०० बढीले गरे पिण्डदान

फाइल तस्बिर।

बिहानैदेखिको निरन्तर झरीका बाबजुद सोह्र श्राद्धको पहिलो दिन आइतबार पशुपतिनाथ मन्दिर परिसरमा ६०० भन्दा बढी श्रद्धालुले दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्।

वर्षाका कारण विगतका वर्षहरूको तुलनामा यस वर्ष पहिलो दिन भक्तजनको सङ्ख्या केही कम देखिए पनि दिउँसोसम्म पशुपति क्षेत्रमा पितृकार्य गर्नेहरूको उल्लेखनीय चहलपहल थियो।

पशुपति क्षेत्रमा लामो समयदेखि धार्मिक कर्मकाण्ड गराउँदै आएका कलङ्कीका पण्डित शेषकान्त पन्तका अनुसार बिहानैदेखि मौसम प्रतिकूल बनेकाले श्रद्धालुको आवागमन प्रभावित भएको हो।

सोह्र श्राद्ध पितृप्रतिको श्रद्धा र सम्मान प्रकट गर्ने पर्व भएकाले झरीकै बीच पनि भक्तजनहरू विधिपूर्वक कर्मकाण्ड गर्न आइपुगेको उनले बताए।

हिन्दु परम्पराअनुसार पितृहरूको आत्माको शान्तिको कामना गर्दै सोह्र श्राद्धका अवसरमा विभिन्न तीर्थस्थल तथा पवित्र नदी किनारमा श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ।

पण्डित गङ्गाराज दाहालका अनुसार आजदेखि सुरु भएको सोह्र श्राद्ध औंसीसम्म चल्नेछ। यस अवधिभर पशुपतिनाथ क्षेत्रमा दिवङ्गत आफन्तको सम्झनामा पिण्डदान गर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति रहने गर्दछ।

मौसम खराब भए पनि तिथिको बाध्यताका कारण आफूहरू श्राद्ध गर्न आइपुगेको भक्तजनहरू बताउँछन्। कोटेश्वरबाट पशुपति आएका कमल अधिकारीले भन्, ‘झरी परे पनि तिथिअनुसार नै श्राद्ध सम्पन्न गर्नुपर्ने भएकाले हामी आएका हौं। सोह्र श्राद्धको अन्तिम दिनतिर श्रद्धालुको उपस्थिति अझ बाक्लो हुने देखिन्छ।’

सोह्र श्राद्ध प्रारम्भ भएसँगै पशुपतिनाथ क्षेत्रमा आध्यात्मिक माहोल बनेको छ भने पण्डितहरूलाई पनि श्राद्ध, तर्पण र पिण्डदानलगायतका कर्मकाण्ड गराउन भ्याइनभ्याइ भएको छ।

प्रकाशित: ११ आश्विन २०८३ १९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App