धर्म/संस्कृति

गौरापर्वले नारी शक्ति र संस्कृतिको सम्मान बढाउँछ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताएका छन्। 

गौरापर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले विशेषगरी नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइने यस पर्वले जनजीवनमा गहिरो सांस्कृतिक छाप छाड्नुका साथै एक विशिष्ट पहिचान पनि निर्माण गरेको उल्लेख गरेका छन्। 

देवी गौरी (गौरा) र भगवान् शिव (महेश्वर) को पूजा गरी मनाइने यस पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्दछ। विविध सांस्कृतिक र धार्मिक परम्पराले भरिएको हाम्रो नेपाली समाजमा गर्व गर्न लायक थुप्रै मौलिक रीतिरिवाज र परम्पराहरु रहेका छन्।  

सभापति देउवाले गौरापर्व केवल धार्मिक अनुष्ठानमात्र नभई सामाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला भएको बताए। विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन, देउडालगायत नाच, व्रत, पूजापाठ र सामूहिक सहभागिताले यो पर्वलाई झन् विशेष बनाएको छ।  

यस पर्वले हाम्रा पुर्खाहरूको संस्कृति र परम्पराको संरक्षण गर्न प्रेरित गर्नुका साथै भावी पुस्तालाई यसको महत्व बुझ्न र आत्मसात गर्नसमेत उत्प्रेरित गरेको सभापति देउवाको भनाइ छ। उनले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको वातावरण सृजना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। रासस

प्रकाशित: १५ भाद्र २०८२ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App