अपराध

वृद्धको खुकुरी प्रहारबाट छिमेकीको ज्यान गयो

उदयपुरको चौदण्डीगढी नगरपालिका-७ बेलटारमा आइतबार साँझ एक वृद्धले खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेका छन्। बेलटार बजारको सीतापाइला टोलस्थित रामप्रसाद राईले धारिलो हतियार खुकुरी प्रहार गर्दा छिमेकी महाशेर राईको मृत्यु भएको हो।

प्रहरीका अनुसार छिमेकमा दुईबीच भएको घरायसी विवादमा आवेशमा आएका ७३ वर्षीय राईको खुकुरी प्रहारबाट ६४ वर्षीय महाशेरको मृत्यु भएको हो। धारिलो खुकुरीले छातीको दाहिनेपटी माथिल्लो भागमा गहिरो चोट लागेका राईलाई तत्काल स्थानीयले उद्धार गरी उपचारार्थ नगर अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख इन्स्पेक्टर प्रभात लक्सम लिम्बु नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर सर्जमिन मुचुल्का र कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखेको छ।

खुकुरी प्रहारकर्ता राईलाई हत्या आरोपमा नियन्त्रणमा लिएर इप्रका बेलटारको हिरासतमा राखी घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी निरञ्जन थापाले बताएका छन्। 

प्रकाशित: ७ वैशाख २०८३ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App