१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पौडीमा कमजोर प्रदर्शन

जकार्ता – राष्ट्रिय कीर्तिमानको लक्ष्यमा पनि असफल हुँदै नेपालका स्टार पौडीबाज शिरीष गुरुङले जकार्तामा १८औं एसियाली खेलकुदमा आफ्नो यात्रामा पूर्णविराम लगाएका छन्। 

बिहीबार पुरुष १ सय मिटर फ्रि–स्टाइलमा शिरीष गुरुङ ५७ः९२ को टाइमिङका साथ आफ्नो हिट २ को पुछारमा सीमित भएका थिए । उनको हिटमा शीर्ष स्थानमा रहेका ओमानका इसा समिर हामेद अल एडावी (५३ः०६) भन्दा शिरीष ४ः८६ सेकेन्डले पछि परे।

महिला ५० मिटर ब्रेस्ट स्ट्रोकमा पनि नेपालको सहभागिता बिहीबार उपलब्धिमूलक रहेन । नेपालको तर्फबाट सहभागी टिसा शाक्यले बिहीबार ३९.८५ मा दूरी पूरा गर्दै आफ्नो हिट १ मा ६ खेलाडीमध्ये तेस्रो स्थान हासिल गरिन् । आफ्नो हिटमा लाओसका एक र माल्दिभ्सका दुई खेलाडीलाई पछि पार्नु मात्र टिसाको उपलब्धि थियो । टिसा आफ्नो हिटमा शीर्ष स्थानमा रहेकी इन्डोनेसियाकी अनाक अगुङ स्त्री कानिया रातिहभन्दा ४ः३१ सेकेन्डले पछि परिन्।

आर्चरी  
आर्चरीको एकल विधातर्फ बिहीबारबाट नेपालको यात्रा समाप्त भएको छ । महिला एकलमा ज्ञानु अवाले तथा पुरुषतर्फ तिलक पुनमगर र रोशन नगरकोटीको हारसँगै एकलमा चुनौती टुंग्याएको नेपालले शुक्रबार मिक्स टिम तथा शनिबार पुरुष टिममा भने प्रतिस्पर्धा गर्नेछ। 

जकार्ताको जिबिके आर्चरी फिल्डमा रिकर्भ पुरुष एकलमा तिलक पुन मगरले अन्तिम ३२ मा भुटानका वाङ्दी निमालाई ६–० को अन्तरमा हराएर सुखद सुरुआत गरेका थिए । तर अन्तिम १६ मा उनको त्यो विजयी लयले निरन्तरता पाउन सकेन । दोस्रो चरणमा चीनका तियानयु जुसँग ६–४ ले पराजित भएपछि उनको क्वार्टरफाइनल पुग्ने सम्भावना समाप्त भयो। 

पुरुष एकलको अर्को खेलमा नेपालका रोशन नगरकोटी भने पहिलो चरणमै पराजित भएर प्रतियोगिताबाट बाहिरिए । उनले अन्तिम ३२ को खेलमा श्रीलंकाका माहामादाच्ची सजीभ डी सिल्भासँग ६–० को अन्तरमा नतिजा सुम्पिएका थिए। 

महिला एकलतर्फ अन्तिम ३२ मा ज्ञानुले हङकङकी सुक चिङ अडा लामलाई ६–२ को अन्तरमा नतिजा सुम्पिइन् ।  
नेपाली टोलीका प्रशिक्षक एवं नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटीले बिहीबार ज्ञानु र रोशनको प्रदर्शन सोचेभन्दा कमजोर भए पनि तिलकले भने उत्कृष्ट खेलेको प्रतिक्रिया दिए।

‘तिलकले चीनका खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा नतिजा सुम्पिएका छन् । उनले धेरै राम्रो प्रदर्शन गरे । हामीले यहाँ पदकभन्दा पनि प्रदर्शनमा सुधारको आशा गरेका थियौं । तिलकको प्रदर्शनबाट हामी उत्साहित छौं,’ शिवाकोटीले भने। 

नेपालले अब आर्चरीमा बिहीबार मिक्स टिमअन्तर्गत किर्गिस्तानविरुद्धको खेलमा ज्ञानु र तिलकलाई उतार्नेछ भने शुक्रबार पुरुष टिममा कतारसँग खेल्नेछ।  

कबड्डी 
१८औं एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको सहभागिता एक जितमा सीमित भएको छ । समूह ‘बी’ मा रहेको नेपालले मलेसियाविरुद्धको एक खेलमा जित हासिल गरे पनि बाँकी चार खेलमा पराजय भोग्दै पहिलो चरणबाटै घर फर्कियो। 

जकार्ताको थिएटर गरुडा कबड्डी रंगशालामा समूहचरणको अन्तिम खेलमा बिहीबार नेपाल पाकिस्तानसँग ३८–२० को नतिजामा पराजित भएको थियो । पहिलो खेलमा शुक्रबार आयोजक इन्डोनेसियासँग २९–३३ को हार भोग्दै प्रतियोगिता यात्रा सुरु गरेको नेपाल दोस्रो खेलमा जापानसँग सोमबार २८–३१ ले पराजित भएको थियो ।  तेस्रो खेलमा बुधबार इरानसँग २१–७५ को पराजय भोगेको टोलीले बुधबारै अर्को खेलमा मलेसियालाई २९–१७ को नतिजामा हराएको थियो।

समूहबाट नेपाल र मलेसियासँगै जापान पनि पहिलो चरणबाटै बाहिरिँदा पाकिस्तान र इरानले सेमिफाइनलको यात्रा तय गरे । अर्को समूहबाट भारत र कोरिया अन्तिम चार प्रवेश गरेका छन्।

पेनकेक सिलात 
एसियाली खेलकुदमा पहिलो पटक समावेश गरिएको इन्डोनेसियाको परम्परागत मार्सल आर्ट्स विधा पेनकेक सिलातमा नेपालको यात्रा बिहीबार टुंगिएको छ।

नेपालका तर्फबाट पेनकेक सिलातमा भाग लिएका एक्लो खेलाडी विवेककुमार विक बिहीबार पहिलो खेलमै पराजित भएपछि यो खेलमा नेपालको यात्रा टुंगिएको हो । ६० देखि ६५ केजीबीचको तौल समूहअन्तर्गत अन्तिम १६ को खेलमा विवेककुमार इरानी प्रतिद्वन्द्वी मोहम्म्द रहिमिवल्लाह देजाईसँग ५–० को नतिजामा पराजित भएका थिए।

पदकतालिका (छैटौं दिन)
देश                            स्वर्ण          रजत        कांस्य           जम्मा

चीन                            ५३              ३८             २०              १११
जापान                         २३              २६             ३१               ८०
द.कोरिया                     १५              २०              २७               ६२
इरान                             ९                ८               ८                २५
इन्डोनेसिया                   ७                 ५               ९                 २१
थाइल्यान्ड                     ६                 ४              १६               २६
उ. कोरिया                     ६                 २               ५                 १३
चाइनिज ताइपेई             ५                 ६               १०               २१
उज्वेकिस्तान                 ४                 ८                ७                १९
भारत                            ४                 ४                ९                १७

प्रकाशित: ८ भाद्र २०७५ ०३:३५ शुक्रबार

पौडी शिरीष_गुरुङ जकार्ता पूर्णविराम