५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् । लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उनले बताइन् ।

नगरका ११ वटै वडामा दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता निकासा भइसकेको जनाइएको छ । वडाका सबै टोलमा सामाजिक दुरी कायम गरेर सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु गरिएको वडा नं.१ का वडाध्यक्ष भुवनराज भट्टले बताए । घरमै आएर सामाजिक सुरक्षा भत्ता वितण हुन थालेपछि स्थानीयलाई सहज भएको छ । यसअघि बैंकमा लाइनमा दिनभर कुर्नु पर्दा जेष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो ।

जिल्लाका अन्य स्थानीय तहले पनि घरमै गएर भत्ता वितरण गर्न थालेका छन् । मैलौली नगरपालिकाले वडा कार्यालयमार्फत् सबै वडाका घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताइन । सुर्नया गाउँपालिकाले पनि वडामार्फत् गाउँमै गएर भत्ता वितरण गरेको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउनको कारण घरभित्र बस्दै आएका नागरिकको घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय हर्षित भएको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताए ।

प्रकाशित: २४ वैशाख २०७७ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App