१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

बौद्ध स्तुप चिरैचिरा

बौद्ध स्तुपको चिराचिरा परेको दोस्रो स्टेप। यही पेटीबाट स्तुपको परिक्रमा गरिन्छ। तस्बिर:श्याम राई

काठमाडौं– विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुप परिक्रमा गर्ने दोस्रो स्टेप चिरैचिरा परेको छ। २०७२ सालको भूकम्पले क्षति पु-याएपछि उक्त स्टेप चर्किएको थियो। चर्किएको भागमा हालिएको सुर्की उप्किएपछि यस्तो अवस्था आएको हो।

बौद्ध स्तुपको उक्त स्टेपको चारैतिर ६० भन्दा बढी ठाउँमा हालिएको सुर्की उप्किएको छ। केही महिनाअघि स्तुपमा हालिएको चुनासमेत उप्किएको छ। बौद्ध स्तुपका एक सुरक्षा गार्डका अनुसार चिरा परेको स्थानमा हालिएको सुर्की उप्किएपछि फेरि चिरा देखापरेको छ। भूकम्पभन्दा अगाडि थौरै ठाउँमा चिरा भए पनि भूकम्पपछि स्तुपको दोस्रो स्टेप चिराचिरा परेको हो। तर, मर्मत हुन सकेको छैन।

बौद्धमा भेटिएका भक्तपुरका दलवीर विकले स्तूप चिराचिरा भए पनि मर्मतमा सरोेकार निकायले बेवास्ता गरेको बताए। ‘विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपमा चिरैचिरा छन,’ उनले भने, ‘अहिलेसम्म मर्मत गरिएको छैन। यो सरकार पक्षकै ठूलो कमजोरी हो। बौद्ध स्तुप घुम्दा चिरा परेको खाल्डोमा परी लडिन्छ कि भन्ने डर छ। आन्तरिक तथा विदेशी पर्यटकले फोटो खिच्छन्। बौद्ध जस्तो सम्पदाको चिरा परेको फोटो बाहिर प्रचारप्रसार हुनु हुँदैन। त्यसैले मर्मत गर्नु आश्यक छ।’

बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध स्तुप घुमेबापत शुल्क लिए पनि स्तुप मर्मत गर्न नसकेको उनले बताए। ‘विदेशी पर्यटक बौद्ध स्तुप घुम्न आउँदा समितिले शुल्क लिन्छ। शुल्क लिएबापत उनीहरुलाई सेवासुविधा दिनुको साटो अहिलेसम्म समितिले चिरा टाल्न सकेको छैन। यस्तै हो भने विस्तारै विश्व सम्पदा मासिँदै जाने छन। त्यसैले छिट्टै यसको मर्मत गर्नुपर्छ’, उनले भने।

बौद्ध स्तुप सरोकारवाला निकायले तत्काल मर्मत गर्नुपर्ने स्थानीययको माग छ। तथ्यांकअनुसार दैनिक सात सयदेखि एक हजार विदेशी पर्यटक बौद्ध स्तुप घुम्न आउँछन्।

समितिका अध्यक्ष चन्द्रमान लामाले तेमाल जात्रा सकिएपछि चिरा परेको स्तुपको मर्मत थालिने बताए। ‘जात्राअघि नै मर्मत थालिने भनेका थियौं,’ उनले भने, ‘जात्रामा लाखौं मान्छे आउँछन्। फेरि उप्किन्छ भनेर मर्मत गरेका छैनौं। तेमाल जात्रा सकिएलगत्तै मर्मत थाल्ने छौं।’ प्राचीन स्मारक ऐनको मापदण्ड अनुसार सुर्कीलगायत लगाएर मर्मत गर्ने उनले बताए। चुना हालिएको विषयमा खासै जानकारी नभएको उनले बताए। ‘समितिको अध्यक्ष पदमा भखरै आएकाले चिरा परेको स्थानमा चुना हालिएको विषयमा जानकारी छैन,’ उनले भने, ‘त्यसको पनि अनुगमन गर्ने छु। मैले सकेसम्म बौद्ध स्तुपलाई व्यवस्थित बनाउने छु।’

प्रकाशित: ४ वैशाख २०७६ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App