९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा विपद्को मुख्य कारण ‘प्लटिङ’

भक्तपुरमा वर्षायाममा विपद् आउनुको मुख्य कारण जथाभाबी गरिएको ‘प्लटिङ’ रहेको जनाइएको छ। मुख्य राजनीतिक दलका नेताहरू त्यसमा एकमत देखिएका छन्। जताततै प्लटिङ हुँदा प्रत्येक वर्ष बर्खामा विपद् आउने गरेको उनीहरूको भनाइ छ। प्लटिङका कारण माटो उत्खनन हुने र पछि बर्खामा बगेर पहिरो, भूक्षय भएर विपद् निम्तिने गरेको उनीहरूको निष्कर्ष छ।

नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजाल विपद् न्यूनीकरण गर्न जग्गा एकीकरणका कार्यहरूलाई व्यवस्थित गर्नुपर्ने खाँचो औंल्याए। प्राकृतिक रूपमा विपत्ति नआउने गरी स्पष्ट मापदण्ड बनाएर मात्रै जग्गा एकीकरण आयोजना सञ्चालन गर्न दिनुपर्छ, नेपाल प्रेस सोसाइटीले भक्तपुर डुबानको समस्या र समाधानको उपाय विषयमा शनिबार भक्तपुरमा गरेको अन्तक्रियामा उनले भने, ‘यसो नगरीकन विपद् उन्मूलन गर्छु भन्नु असम्भव हुन्छ।’

 हरियो वन नेपालको धन भन्ने राष्टिय नारा भए पनि भक्तपुरक जंगलहरूतिर जाँदा वन जंगल नभई प्लटिङ देखिने उनले जानकारी गराए। ‘डाँडाका टुप्पाटुप्पामा पनि प्लटिङ गरिएको छ, हेर्दै डरलाग्दो,’ उनले भने।

नेकपा माओवादी केन्द्र भक्तपुरका अध्यक्ष सुनिले गोठे बासुले प्लटिङलाई पटकपटक अनुगमन गरी रोके पनि निरन्तर जारी रहनु दुःखको विषय भएको बताए। उनले जिल्ला व्यवस्थापन समिति भक्तपुरले यस विषयमा जति गरे पनि उपलब्धि हासिल हुन नसकेको स्वीकार गरे। ‘जिल्ला विपद् व्यवस्थापन समितिमा जिल्लाका विभिन्न राजनीतिक दलका एकएक जना संयोजक राखेर पनि काम गरियो तर प्लटिङकै कारण विपद् निरन्तर हुँंदै आएको छ,’ उनले भने।

जिल्लाका चार नगरपालिकामध्ये सूर्यविनायक र चाँगुनारायण पहाडी क्षेत्रमा छन्। पछिल्लो पटक नयाँ नगरपालिकाका रूपमा घोषित यी नगरपालिकामा घना बस्ती हुन पाएको छैन। यी खुला ठाउँहरूमा निजी रूपमा जताततै प्लटिङ भइरहेका छन्। यहाँका कुनै वडा छैन होला जुन वडामा प्लटिङ नभएको होस्। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति रामेश्वर बस्नेतले प्लटिङकै कारण २० फिट गहिरो खोला पनि पाँच फिट गहिरोमा सीमित भएको देखिएको बताए। प्लटिङ भएका जग्गाका माटोहरू बर्खाको बेला बगाएर ल्याउँदा खोलाको सतह घटेको र यही कारण बाढी आउने गरेको उनको भनाइ छ।

जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष राजाराम ढुकुछूले भक्तपुरमा २०४५ सालदेखि नै विपद्को समस्या सुरु भएको र यो समस्या अहिले पनि जस्ताको तस्तै नै रहेको सुनाए। कार्यक्रममा प्राकृतिक प्रकोप विपद्का बेला सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता उनीहरूले व्यक्त गरेका थिए। 

प्रकाशित: २७ श्रावण २०८१ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App