४ वैशाख २०८१ मंगलबार
राजनीति

'जनताको मनमा बस्न ठूलो दलको नेता र चर्को भाषण गर्नै नपर्ने रहेछ'

नेपालमा कुनै ठूला राजनीतिक दलका नेता बिरामी पर्ने वित्तिकै जनतामा आक्रोश पैदा हुन्छ। कारण नेता बिरामी भएपछि राज्यकोषको दुरुपयोग हुन्छ भनेर। तर विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य उपचारको लागि जनता आफैले स्वःस्फूर्तरुपमा सहयोग गरे। थापा कोरोना सङ्क्रमित भएर गम्भीर अवस्थामा छन्। हाल उनको नेपाल मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ।  

हिजोदेखि थापाको स्वास्थ्य अवस्था सुधार नभएको र थप जटिल बन्दै गएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए। अस्पतालमा भेन्टिलेटर र इक्मो प्रविधिबाट थापाको उपचार भइरहेको पाण्डेले बताए । 

उनका अनुसार अहिले थापाको उपचारको लागि सहयोग बन्द गरिएको छ। अहिले संकलन भएको रकमले थापाको उपचार गर्न पुग्ने भएकोले आवश्यक परेमा पुनः अपिल गर्ने भन्दै बन्द गरिएको उनले बताए। अहिलेसम्म गोफण्ड नामक अनलाइन प्लेटर्फममार्फत झण्डै २३ हजार डलर र बैंक खातामा २६ लाख ५० हजार गरी झण्डै ५० लाख रुपैयाँ रकम संकलन भएको उनले बताए।

थापाको उपचार खर्च जुटाउन नागरिकहरूले स्वास्फूर्त रूपमा सहयोग गरेको पाण्डे बताउँछन्। ‘जनताको मनमा बस्न कुनै ठूलो दलको नेता नभए पनि हुने रहेछ। नेता हुनलाई सडकमा गएर चर्काे भाषण र टाउको फोड्नु नपर्ने रहेछ। केवल जनताको मनमा आशा जगादिए पुग्ने रहेछ। आज उज्ज्वल दाई जनताको मन बस्नु भएको छ’, उनले भने।  

असल नेतालाई जनता आफैले खोजेर गाँस कटाएर ज्यान बचाउन लागि परेको उनले बताए।  

‘उज्ज्वल दाईले नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न जनतालाई केन्द्रमा राख्नु भयो। शहरी र शिक्षित युवालाई राजनीतिमा डोर्‍याउन उज्ज्वल दाईको योगदान छ’, पाण्डले भने।  

उज्ज्वल थापाको स्वास्थ्य प्रतिको जनताले सद्धभाव देखाएको बताउँदै उनले भने, ‘असल नेतालाई जनता आफूले खोज्ने रहेछन्। हामीले सहयोगको अपिल मात्रै गरेको हौं। जनता आफैले स्वास्र्फूत सहयोग गर्नु भएको हो।’  

ठूला राजनीतिक दलका नेता बिरामी हुँदा आक्रोश पोख्ने जनता थापाको स्वास्थ्य उपचारको लागि प्रार्थना पाण्डले बताए।  

‘अहिले संसारभरका जनताले माया र सद्भाव दर्शाउनु भएको छ। उहाँको स्वास्थ्य लाभको लागि दैनिक फोन आइरहेका छन्। त्यो उज्ज्वल दाईसँग नेतामा हुने पर्ने गुण भएर नै होला’, पाण्डेले भने।

प्रकाशित: १६ जेष्ठ २०७८ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App