१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

स्तन क्यान्सर पत्ता लगाउने मेमोग्रामको प्रयोग बढ्दै

पछिल्लो समय मेमोग्राम गर्ने अभ्यास बढिरहेको चिकित्सक बताउँछन् । मेमोग्रामले महिलाको स्तन क्यान्सरका साना गिर्खा पनि थाहा पाउने भएकाले स्तन क्यान्सर हो वा हैन भनेर निक्र्योल गर्नका लागि मेमोग्राम प्रभावकारी भएको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यले बताए । त्यसो त थापाथलीस्थित प्रसूति गृहका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राडा. गेहनाथ बराल पनि महिलाको स्तन क्यान्सर हुनुपूर्व स्तन क्यान्सरको लक्षण भए–नभएको पत्ता लगाउनका लागि मेमोग्राम प्रभावकारी भएको बताउँछन् । डा. बरालले भने, ‘स्तन क्यान्सर पहिचाग गर्न मेमोग्राम आधुनिक र प्रभावकारी विधि हो ।’

यसरी गरिन्छ मेमोग्राम
वीर अस्पतालका डा. सुशील मोहन भट्टराईका अनुसार मेमोग्राम महिलाको स्तन क्यान्सर भए–नभएको थाहा पाउने एक किसिमको एक्स–रे पद्धति हो । स्नतलाई बीचमा राखेर दायाबायाँ तथा तलमाथिबाट मेमोग्रामले स्तन च्यापी एक्स–रे गरिन्छ । यो विधिअनुसार स्तनको एक्स–रे गरी फिल्म तयार गरिन्छ । जसबाट स्तन क्यान्सर भए–नभएको थाहा पाउन सकिन्छ । यसरी रोग लाग्नुपूर्व नै रोगको संकेत छ वा छैन भनेर एकिने गर्ने स्वास्थ्य जाँचलाई ‘स्कृनिङ’ भनिन्छ । मेमोग्राम पनि महिलामा स्तन क्यान्सरको लक्षण छ वा छैन भन्ने निक्र्योल गर्ने स्कृनिङ भएको चिकित्सक बताउँछन् । ‘मेमोग्राम स्कृनिङ टुल्स हो,’ डा. भट्टराईले भने, ‘यो विधिबाट सुरुआती चरणमै स्तन क्यान्सर भए–नभएको पत्ता लगाउन सकिन्छ ।’

भ्रममा नपरौं
चिकित्सकका अनुसार मेमोग्राम गर्ने अभ्यास केही विरोधाभास भए पनि स्तन क्यान्सर पत्ता लगाउनका लागि यो आधुनिक र प्रभावकारी विधि हो । क्यान्सर रोग विशेषज्ञ डा. आचार्यले भने, ‘यो विरोधाभास पनि छ, तर, स्तन क्यान्सर पत्ता लगाउनका लागि प्रभावकारी विधि हो ।’ यसमा हुने विकिरणले क्यान्सर हुन सक्ने भनिए पनि स्तनमा हुने मसिना गिर्खासमेत देखिने भएकाले क्यान्सर हो वा होइन भन्ने निक्र्योल गर्न मेमोग्राम प्रभावकारी विधि भएको डा. आचार्य बताउँछन् । त्यसो त डा. भट्टराई पनि मेमोग्राममा हुने विकिरणको जोखिम हुने भएकाले ४० वर्षभन्दा कम उमेरका महिलामा मेमोग्राम नगरिएको भन्नु भ्रम भएको प्रस्ट्याउँछन् ।

चिकित्सकका अनुसार सामान्यतः ४० नाघेका महिलाको स्तन क्यान्सर पत्ता लगाउनका लागि मेमोग्राम गरिन्छ । ४० वर्षभन्दा कम उमेरका महिलाको बोसोका कारण स्तन बाक्लो हुन्छ । यस्तो अवस्थामा स्तनमा भएका गिर्खाको पहिचान गरी क्यान्सर भए–नभएको पत्ता लगाउन कठिन हुने भएकाले ४० वर्ष भन्दा कम उमेरका महिलामा मेमोग्राम गर्ने अभ्यास कम भएको स्त्री क्यान्सर रोग विशेषज्ञ डा. जितेन्द्र परियार बताउँछन् । डा. परियारले भने,‘ ४० भन्दा कम उमेरमा अल्ट्रासाउण्ड (यूएसजी) गरिन्छ ।’ ४० वर्षभन्दा कम उमेरका महिलामा स्तन क्यान्सर हुने सम्भावना पनि कमै हुने चिकित्सक बताउँछन् । त्यसो त ४० कटेका महिलाको स्तनमा मेमोग्राम गर्दा स्तनमा प्रस्टरुपमा गिर्खा तथा गाँठागुँठी देखिने डा. भट्टराईले बताए । ४० नाघेमा महिलामा स्तन क्यान्सरको सम्भावना हुने भएकाले यस्ता महिलाले वर्षमा एकपटक मेमोग्राम गर्नु उचित हुने स्त्रीरोग विशेषज्ञ डा.बरालको सुभाव छ ।

एउटा स्तनको क्यान्सर भएको अवस्थामा समेत अर्को स्तनको मेमोग्राम गरिन्छ । डा. भट्टराईका अनुसार मेमोग्राम एक्स–रे भन्दा हजार गुणा बढी सुरक्षित विधि हो  । डा. भट्टराईले भने, ‘मेमोग्राममा एक्स–रे भन्दा हजार गुणा कम रेडिएसन हुन्छ । अल्ट्रसाउण्ड सबैभन्दा सुरक्षित विधि भए पनि यसले मसिना गिर्खा देखाउन कठिन हुने भएकाले क्यान्सर भए–नभएको एकिन गर्न नसक्ने अवस्थामा मेमोग्राम गरिन्छ । तर मेमोग्रामको सुविधा नभएका ठाउँमा अल्ट्रासाउण्डको प्रयोग गर्न सकिने डा. बराल बताउँछन् ।

मेमोग्रामपछि बायोप्सी
त्यसो त एमआरआई, एफएनएसी, बायोप्सी पनि गरिन्छ । यी सबै विधिको आ–आफ्नै महत्व छ । चिकित्सकका अनुसार अल्ट्रासाउण्ड र मेमोग्राम (एक्स–रे) मा इमेज निकालिन्छ । त्यसैगरी एफएनएसी तथा बायोप्सीमा टिस्युको परीक्षण (डाइग्नोसिस) गरिन्छ ।

क्यान्सरको अवस्था तथा लक्षणको प्रकृतिअनुसार मेमोग्राम, अल्ट्रासाउण्ड, एफएनएसी तथा बायोप्सी गरिने चिकित्सक बताउँछन् । यसरी तिनै किसिमका विधि अपनाएर स्तन क्यान्सर पत्ता लगाइन्छ ।

क्यान्सरको लक्षण देखिए एफएनएसी गरी सुईको माध्यमले स्तनमा भएका गिर्खाको पानी निकालेर जाँच गरिने डा. परियारले बताए । त्यसबाट पनि रोगको एकिन नभए सुइमार्फत नै सानो मासुको टुक्रा निकाली बायोप्सी गरिन्छ । तर, आजकाल मेमोग्राम गर्दा स्तनमा गिर्खा देखिए क्यान्सर हो वा होइन भन्ने एकिन गर्न बायोप्सी गरिने अभ्यास रहेको चिकित्सक बताउँछन् । एफएनएसी तथा बायोप्सी गर्दा सामान्य दुखाइबाहेक ठूलो असर नहुने डा. परियार बताउँछन् ।

मेमोग्राम गरेर सतप्रतिशत क्यान्सर भएको पत्ता लगाउन नसकिएपनि यसबाट गरिने परिक्षणले लक्षणको आधारमा क्यान्सर हो वा हैन भनेर एकिन गर्न भने धेरै सहज हुने क्यान्सररोग विशेषज्ञ डा. आचार्यले बताए । डा. आचार्यले भने, ‘मेमोग्राम गरिसकेपछि कस्ता किसिमका गिर्खा छन्, भन्ने थाहा हुन्छ जसले क्यान्सरको पहिचान गर्न सहज हुन्छ ।’ त्यसो त मेमोग्राम नगरी बायोप्सी गरेको खण्डमा स्तनमा कस्तो समस्या छ भन्नेसमेत एकिन गर्न कठिन हुन्छ । त्यसैले मेमोग्राम गर्दा क्यान्सरको लक्षण देखिएको अवस्थामा एफएनएसी तथा बायोप्सी गरिने चिकित्सक बताउँछन् । बायोप्सी गर्दा घाउ बनाउनुपर्ने भएकाले बायोप्सी गर्नुपूर्व मेमोग्राम गर्नु उचित हुने चिकित्सकको सुझाव छ ।

चिकित्सकका अनुसार आधा घण्टामा मेमोग्राम गर्न सकिन्छ । तर बायोप्सी गर्दा यो भन्दा बढी समय लाग्छ । बिरामीलाई सामान्य दुखाइबाहेक ठूलो असर पनि देखिँदैन । नेपालमा पनि अहिले मेमोग्राम गर्नेको संख्या बढिरहेको चिकित्सक बताउँछन् । नेपालका सरकारी अस्पतालमा मेमोग्राम गर्दा सामान्यतः १३ सयदेखि दुई हजार हाराहारीमा खर्च लाग्छ ।

आफैँ थाहा पाउने टेक्निक
त्यसो त आफैँले पनि स्तनमा क्यान्सर भए–नभएको बारे केही हदसम्म भए पनि थाहा पाउन सकिन्छ । यसरी आफैँ थाहा पाउने विधिलाई ‘सेल्फ ब्रेस्ट एक्जामिनेसन टेक्निक’ भनिन्छ ।

स्तनको आकार नमिलेको, सुन्तोलाको बोक्राजस्तो डिम्पल हुनु स्तन क्यान्सरका लक्षण हुन् । स्तनको निप्पल स्तनभित्र पसेको, निप्पल वरिपरिको छाला खुम्चिएको, दुई पट्टिका स्तन हेर्दा निप्पल तलमाथि देखिएको तथा नमिलेको देखिएको अवस्थामा स्तन क्यान्सरको शंका गर्न सकिने डा. भट्टराई बताउँछन् । स्तन ठूला हुने महिलाले स्तनमा गाँठो नभेट्न पनि सक्ने भएकाले काखिमा समेत छाम्न चिकित्सकको सुझाव छ । सुरुआति चरणमा स्तनमा भएका क्यान्सरका ट्युमर नदुख्ने भए पनि कडा भएर फैलिएपछि दुख्छन् ।

पहिलो चरणमै उपचार
चिकित्सकका अनुसार ९० प्रतिशत स्तन क्यान्सर मेमोग्रामले पत्ता लगाउन सकिन्छ । सामान्यतः महिलाको स्तनमा क्यान्सर छ भन्ने थाहा पाउँदा एक सेन्टिमिटरको क्यान्सर फैलिन सक्नेतर्फ चिकित्सक सजग गराउँछन् । एक सेन्टिमिटर भन्दा कमका ट्युमर सामान्यतः फैलिइसकेका नहुने डा. भट्टराईले बताए । एक सेन्टिमिटरभन्दा कमका क्यान्सरको ट्युमर पहिचान भएको अवस्थामा उपचार गरी पूर्णरुपमा ठीक हुने चिकित्सक बताउँछन् । डा. भट्टराईका अनुसार क्यान्सर सुरु भइसकेको अवस्थामा समेत एक सेन्टिमिटरको ट्युमर हुनका लागि करिब १५ वर्ष समय लाग्छ । त्यसैले ६० वर्षको उमेरसम्ममा क्यान्सर नदेखिएको अवस्थामा ९० वर्षभन्दा बढी आयु लम्ब्याउन सकिने चिकित्सक बताउँछन् ।

वंशाणुगत लगायत विभिन्न कारणले स्तनमा क्यान्सर हुनेसक्ने चिकित्सक बताउँछन् । वंशाणुगत कारणले क्यान्सर भएको अवस्थामा अलि बढी जोखिम हुन्छ । त्यसैले परिवारका सदस्यलाई स्तन क्यान्सर भएको अवस्थामा वर्षमा एक पटक स्वास्थ्य जाँच गराउन डा. गेहनाथको सुझाव छ ।

स्तन क्यान्सरका विभिन्न चरण हुन्छन् । सुरुआति चरणमा क्यान्सर स्तनको नजिकको भागमा फैलिन्छ । पहिलो स्टेजमा भएका क्यान्सर उपचारपछि ठिक हुने डा. बरालले बताउँछन् । किमो थेरापी, रेडियो थेरापी, हर्मन थेरापीजस्ता क्यान्सरका उपचार पद्धति हुन् । जति चाँडो थाहा पायो त्यति नै उपचारपछि बिरामी बचाउन सकिने भएकाले स्तनमा गाँठागुँठी देखिए स्वास्थ्य जाँच गराउन चिकित्सकको सुझाव छ ।

 

प्रकाशित: २६ चैत्र २०७६ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App