१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गर्मीसँगै बिजुलीको माग ह्वात्तै बढ्यो

काठमाडौं - गर्मी बढेसँगै बिजुलीको माग पनि ह्वात्तै बढेको छ। बिजुलीको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न कुलेखानी जलाशययुक्त आयोजना सञ्चालनमा ल्याएको हो।

गर्मी बढेसँगै बिजुलीको माग बढेको नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख सुरेश भट्टराईले बताए। ‘दुई दिनयता बिजुलीको माग बढेको छ,’ उनले बिहीबार नागरिकसँग भने, ‘हाल बिजुलीको माग बढेर एक हजार दुई सय ५० मेगावाट पुगेको छ।’

आगामी दिनमा अझै गर्मी बढ्ने र बिजुली माग पनि सोही अनुसार बढ्ने अनुमान प्राधिकरणले गरेको छ। ‘सुक्या समयमा बिजुलीको माग ह्वात्तै बढ्ने गरेको छ,’ भट्टराईले भने, ‘जेठको अन्त्यमा बिजुलीको माग अझै बढ्ने अनुमान गरिएको छ।’ त्यतिबेला बिजुलीको माग बढेर एक हजार पाँच सय ५० मेगावाटसम्म पुग्ने अनुमान प्राधिकरणले गरेको छ।

बिजुलीको माग बढे पनि लोडसेडिङ गर्नुु नपरेको प्राधिकरणको भनाइ छ। ‘कुनै पनि ठाउँमा अहिले लोडसेडिङ छैन,’ उनले भने, ‘आगामी दिनमा पनि हुन दिने छैनौं।’

आवश्यकताअनुसार कुलेखानी पहिलो र दोस्रो गरी  ९२ मेगावाट बिजुली उत्पादन गर्दै जाने योजना प्राधिकरणको छ। त्यसले पनि नपुगे हेटौंडामा रहेको १४ मेगावाटको डिजेल प्लान्ट र विराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफ्युल प्लान्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ। गर्मीमा पनि लोडसेडिङ हुन नदिन आन्तरिक व्यवस्थापनको काम भइरहेको प्राधिकरणको भनाइ छ।

विगत वर्षमा प्राधिकरणलाई बिजुलीको व्यवस्थापन गर्न समस्या पर्न थालेपछि बढी क्षमताका बत्ती, हिटर, राइस कुकर, ओभन, आइरन, इन्डक्सन हिटर, पानी तान्ने मोटरलगायत उपकरण नचलाउन सर्वसाधारणलाई अनुरोध गर्दै आएको थियो।

गत वर्ष साँझको समयमा गार्हस्थ (घरायसी प्रयोजनको लागि) बिजुलीको माग अत्यधिक बढेकाले सो समयमा बिजुली बढी खपत हुने उपकरण नचलाउन प्राधिकरणले आग्रह गरेको थियो। यस वर्ष चाहिँ त्यस्तो आग्रह गरिसकेको छैन। नदीहरुमा पानीको मात्रा कम हुँदै गएकाले पनि साँझको समयमा ‘पावर क्राइसिस’ हुने सम्भावना देखिएको प्राधिकरणको भनाइ छ।

बिजुलीको माग साँझमा बढी हुने गरेको छ। बेलुकाको समयमा खाना पकाउने, बिजुली बाल्ने र पंखालगायत उपकरण चल्ने भएकाले ६–९ बजेसम्म बढी बिजुली खपत हुन्छ। बेलुका बढी बिजुली खपत हुन थालेपछि प्राधिकरणले जलाशययुक्त आयोजना सञ्चालन गर्न थालेको हो।

सबैभन्दा कम बिजुली खपत रातिमा हुने गरे पनि गर्मीयाममा भने खपत बढ्ने गरेको छ। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार, हाल भारतबाट चार सय ५० मेगावाट हाराहारी बिजुली आयात भइरहेको छ। यसैगरी, निजी प्रवद्र्धक, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका आयोजनाबाट बिजुली उत्पादन हुँदै आएको छ। करिब ११ सय मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न भए पनि हिउँदमा भने पानीको कमीका कारण बिजुली उत्पादन करिब आधाले घट्ने गरेको छ।

प्राधिकरणले हिउँदमा नियमित बिजुली आपूर्ति गर्न भारतबाट थप बिजुली आयात, कुलेखानी र सबै आयोजना पूर्ण क्षमता सञ्चालन गर्ने तयारी प्राधिकरणको छ।

प्रकाशित: २० वैशाख २०७६ ००:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App