समाज

आरडिटीको भर पर्दा जोखिम

भारतबाट आएर क्वारेन्टिनमा बसेकालाई आरडिटी (द्रूत परीक्षण) गरेर सीधै घर पठाउने गरिएको छ। जेठको पहिलो साताबाट भारतका विभिन्न रेड–जोनबाट ८० हजार जति सुदूरपश्चिम भित्रिएका छन्।  

रेड–जोनबाट सुदूरपश्चिममा भित्रिएकालाई कुनै जाँच नगरी सीमानाकाबाट गाउँ–गाउँमा लगेर क्वारेन्टिनमा राखिएको थियो। उनीहरूलाई भरपर्दो परिणाम दिन असफल भनी आलोचित आरडिटी विधिबाट जाँच गर्दै धमाधम घर पठाउन थालेपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ।  

आरडिटीको रिपोर्ट उल्टो आउने गरेकाले ढुक्कसँग बस्ने अवस्था छैन। गाउँभरी त्रासको वातावरण छ।

आरडिटी जाँचपछि रिपोर्ट नेगेटिभ आएर क्वारेन्टिनबाट घर गएकाहरू संक्रमण नभएको भन्दै समुदायमा घुलमिल हुने गरेका छन्। ‘भारतबाटसँगै आएका संक्रमण भएर अस्पतालमा छन्, उनीहरूसँगै आएकाहरू घर आएर सबैतिर उठबस गरिरहेका छन्,’ डडेल्धुरा अमरगढी नगरपालिकाकी एक महिलाले भनिन्, ‘गाउँमा संक्रमण फैलिने त्रास छाएको छ।’

आरडिटी जाँचमा रिपोर्ट नेगेटिभ आउँदा पनि कोरोना भाइरस हुने भएकाले आरडिटी जाँचका आधारमा संक्रमण छैन भनेर घर पठाएर समुदायमा घुलमिल हुनदिने अवस्था ठिक नभएको सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख शेरबहादुर कमर भन्छन्। ‘आरडिटी जाँचकै आधारमा रेड–जोनबाट आएकालाई घर पठाइनुले संक्रमण फैलिने धेरै जोखिम हुन्छ,’ उनले भने।

स्थानीय तथा विज्ञहरूले भारतबाट आएकालाई पिसिआर जाँच गरेर कोरोनाक संक्रमण भए नभएको यकिन गरेर मात्र घर पठाउनुपर्छ भनेर भनिरहे पनि सुनवाइ नगरी आरडिटीका भरमा धमाधम घर पठाइन लागेको हो। अस्तव्यस्त क्वारेन्टिनमा बस्दा संक्रमितबाट अरूमा पनि सर्ने र घर पठाउँदा उनीहरूबाट समुदायमा सर्ने जोखिम बढेको स्थानीय दान बहादुर साउदले बताए।

आरडिटी पोजिटिभ आएकाहरूको मात्र पिसिआर गरिने गरेको छ। आरडिटी भएकाको पनि नमुना संकलन हुन बाँकी रहेको छ। आरडिटी रिपोर्ट पोजेटिभ भएकाहरू पनि नमुना संकलन र जाँच बाँकी भएकाले क्वारेन्टिनमै बसेका छन्।

आरडिटी पोजिटिभ रिपोर्ट आएकाहरूसँग क्वारेन्टिनमा सँगै बस्दै आएका, एउटै शौचालय, एउटै धारा प्रयोग गरेका नेगेटिभ रिपोर्ट आएकाहरूलाई घर पठाउने गरिएको छ। एउटै क्वारेन्टिनमा सँगै बसेका नेगेटिभ रिपोर्ट आएकाहरू एक हप्ता घरमै अलग बस्ने सल्लाह दिँदै घर पठाउने गरिए पनि आरडिटीको रिपोर्टमा संक्रमण नदेखिएको भन्दै उनीहरू घरपरिवार र समाजमा घुलमिल हुने गरेको स्थानीयले बताएका छन्।

आरडिटीमात्र गरेर घर पठाउन थालेपछि गाउँघरमा त्रास फैलिएको छ। आरडिटी भरपर्दो नहुँदा नहुँदै पनि आरडिटीकै आधारमा घर पठाउँदा जोखिम बढेको पञ्चेश्वर गाउँपालिका–२ का रामी चन्दले बताए। आरडिटीकै भर पर्दा समुदायमा कोरोना फैलिने त्रास रहेको स्वास्थ्यकर्मी बताउँछन्।

बैतडीमा हालसम्म पाँच सय ७९ जनाको मात्रै पिसिआर गरिएको छ भने तीन हजार सात सय ४८ जनाको आरडिटी परीक्षण गरिएको छ। तीमध्ये दुई सय १६ जनामा आरडिटी पोजिटिभ देखिएपछि पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ। केही व्यक्तिको रिपोर्ट आउन बाँकी छ। आरडिटी पोजेटिभ आउँदा धेरै जना त्रसित हुने गरेका छन्।

पिसिआर विधिबाट परीक्षण नहुँदासम्म ढुक्क हुने अवस्था नभएको पञ्चेश्वर गाउँपालिका–४ का नरेन्द्र चन्दले बताए। ‘सबैको पिसिआर परीक्षण गर्नुपर्ने हो तर यहाँ त आरडिटी गर्दै घर पठाउँदै गरिएको छ,’ उनले भने, ‘एक साता होम क्वारेन्टिनमा बसेको छु अझै ढुक्क हुने अवस्था छैन।’ आरडिटी परीक्षणको विश्वास धेरैले गर्दैनन्। तर भारतबाट एउटै हुलमा सँगै आएका धेरैमा कोरोना संक्रमण देखिँदा गाउँघरमा त्रास फैलिएको छ।  

भारतबाट सँगै आएका शिवनाथका चार जनामा संक्रमण देखिएको छ, तर उनीहरूसँगै आएका धेरै जनाको आरडिटी टेस्ट गरेर घर पठाइएको स्थानीय बताउँछन्। ‘आरडिटीको रिपोर्ट उल्टोे आउने गरेकाले ढुक्कसँग बस्ने अवस्था छैन,’ पुर्चौडी नगरपालिका–३, न्यादेउका रमेश लुहार बताउँछन्, ‘गाउँभरी त्रासको वातावरण छ।’

पिसिआर विधिबाट परीक्षणै नगरी घर फर्काइएपछि कोरोना भए÷नभएको यकिन नहुँदा गाउँघरमा धेरै जना त्रसित रहेको मेलौली नगरपालिका–१ का सुरत पार्कीले बताए। ‘दुई साता क्वारेन्टिनमा बसिसकेकालाई आरडिटी गरेर नेगेटिभ रिपोर्ट आएको खण्डमा घर पठाउने गरिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले भने, ‘सबैको पिसिआर गर्न सम्भव छैन, किटको पनि अभाव छ। आरडिटी गर्दा नेगटिभ देखिएकालाई घर पठाउने गरिएको छ।’

आरडिटीलाई आधिकारिक मान्दै धमाधम घर फर्काउन थालेपछि गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन्। भारतबाट धेरै जना आएपछि स्थानीय तहलाई व्यवस्थापन गर्न समस्या भएको छ। ‘कुनै वडाका विद्यालय खाली छैनन्,’ शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले भने, ‘आरडिटी गरेर घरमै सुरक्षित रूपमा बस्ने सर्तबमोजिम उनीहरूकै इच्छाअनुसार पठाइएको हो।’

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६२ हजार पाँच सय २७ जना क्वारेन्टिनमा छन्। ३२ हजार सात सय ५६ को आरडिटी जाँच भएको छ त्यसमध्ये नौ सय २८ पोजेटिभ आएको छ। भारतबाट भित्रिएको र क्वारेन्टिनमा बसेकाको संख्या हेर्दा भारतबाट करिब ८० हजार जना भित्रिएकोमा १८ जना जति घर गइसकेको देखिन्छ।

नमुना संकलन रोक

सुदूरपश्चिममा रहेको एकमात्र प्रयोगशालाको क्षमता अपुग भएपछि तीनदेखि नमुना संकलन रोकिएको छ। गत शुक्रबार पाँच दिनसम्म थ्रोट स्वाब संकलन नगर्न प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशानलयले लिखित रूपमै नौ जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो।

क्वारेन्टिनमा बसेकाको आरडिटी जाँचमा पोजेटिभ देखिएकाको, संक्रमति संख्या बढ्दै गएकाले उनको सम्पर्कमा रहेका र लक्षण देखिएकाको नौ जिल्लामा नमुना संकलन गर्दा धनगढीमा रहेको एकमात्र प्रयोगशालाको क्षमता, जनशक्ति, अन्य सामग्री अपुग भएको भन्दै नमुना संकलन रोकिएको थियो।  

भारतबाट आएर क्वारेन्टिन बसेका आरडिटी जाँचमा पोजेटिभ रिपोर्ट आएका सयौं जना, कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्नेलगायतको नमुना संकलन हुन नसकेपछि सुदूरपश्चिममा अवस्था थप जटिल भएको छ। नमुना संकलन रोकिएपछि एकमात्र पिसिआर मेसिन भएकोमा थप पिसिआर मेसिन राख्न सरकारले पहल नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले डोटी र बैतडीमा प्रयोगशाला स्थापना गर्ने भनेर गत चैत महिनामा नै निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन।

आरडिटीको विरोध

आरडिटी जाँचको रिपोर्ट भरपर्दो नभएर जोखिम बढेको भन्दै यस प्रदेशमा सर्वसाधारणदेखि सांसदसम्मले आरडिटी जाँच बन्द गर्न माग गरेका छन्। धनगढी उपमहानगरपालिका–४ का ५५ वर्षीया महिलाको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनलाई डाइलोसिस वार्डमा भर्ना गरियो। त्यही क्रममा उनको मृत्यु भएपछि आरडिटी रिपोर्टकै भरमा अन्त्येष्टिसमेत गरियो। पछि पिसिआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भयो। यसरी रिपोर्ट भरपर्दो नभएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा आरडिटी बन्द गर्न आवाज उठाएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बैठकमा समेत आइतबार सत्तापक्ष र विपक्षी दलका सांसदहरूले आरडिटी जाँच बन्द गर्न माग गरेका थिए। आरडिटीको विश्वसनीयता विश्वमा कतै नभएको भन्दै सांसदहरूले प्रयोग बन्द गर्न माग गरेका थिए।  

‘आरडिटी जाँच गरेर पठाइएकाबाट संक्रमण फैलिन सक्ने भएकाले आरडिटी जाँच बन्द गरेर पिसिआर जाँच बढाइनुपर्छ,’ नेकपाका प्रदेशसभा सदस्य पूर्णा जोशीले भनिन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले पनि युरोपियन देशलगायतमा बन्द भएको आरडिटी जाँचको प्रयोग हुनु दुःखद रहेको उल्लेख गर्दै समुदायमा संक्रमण भयावह फैलिन नदिन आरडिटी जाँच बन्द गर्न माग गरे।

 

प्रकाशित: २६ जेष्ठ २०७७ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App