राजनीति

गण्डकी प्रदेशका दुई विधेयक प्रमाणीकरण

पोखरा– गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक २०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक-२०७६’ लाई प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणिकरण गरेका हुन्। 

गण्डकी प्रदेश सभाको असार २० गते बसेको बैठकले पारित गरेको विधेयकलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सोही दिन प्रमाणित गरेका थिए। दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम सभामुख अधिकारीले प्रमाणित गरेपछि गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। 

नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ। प्रदेश सभा सचिवालयले असार २६ गते ती विधेयक पठाएको थियो। 

प्रदेश प्रमुख कुँवरले प्रदेश सभाका सभामुखबाट प्रमाणित दुवै विधेयका पाँच/पाँच प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका हुन्। नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेका हुन्। सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ। 

गण्डकी प्रदेश प्रमुखको कार्यालयका कानून अधिकृत अनम सुवेदीले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने प्रदेश सभाको सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, र संघीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा एक/एक प्रति पठाइएकोे बताए। 

प्रकाशित: ३१ असार २०७६ ११:२३ मंगलबार

गण्डकी_प्रदेश विधेयक प्रमाणीकरण प्रदेश_प्रमुख_बाबुराम_कुँवर