कला/संस्कृति

अष्टमातृका सम्मान र पोट्रेटमा पोखिएको सौन्दर्य

निबन्ध

नारी भन्नु सौन्दर्य, सिर्जना र शक्तिका रूप हुन्। यस शब्दमा संसारको सबैभन्दा कोमल र शक्तिशाली भावनाहरू समाहित छन्। नारीको अस्तित्व संसारको हर दृष्टिकोणबाट महत्वपूर्ण छ, जसले जीवनको प्रत्येक पाटोमा एक विशेष स्थान ओगटेको छ। नारीलाई मात्र सौन्दर्य र कोमलता मात्रको प्रतीक नभई, सिर्जना र शक्तिका गहिरा अर्थ पनि भएका छन्। साहित्यिक र कलात्मक दृष्टिकोणबाट हेर्दा नारीको असली महत्व स्पष्ट हुन्छ।

नारीको सौन्दर्य  शारीरिक लावण्यमा सीमित छैन। यो त्यस्तो एक अन्तर्निहित गुण हो, जसले मानिसको मनलाई छुन्छ र जीवनमा रङ भर्न सहयोग पुर्‍याउँछ। नारीको सौन्दर्य अनौठो र अद्वितीय छ। यसले संसारको सबैभन्दा कोमल भावना उजागर गर्न सक्छ। नारीको आँखामा अनगन्ती कथा लुकेको हुन्छ, जसलाई बुझ्न र अनुभव गर्न मात्र समय र साँचो प्रेम आवश्यक पर्छ। आँसु पिएर पनि अनुहारमा मुस्कान प्रस्तुत गर्न सक्ने नारी माया र ममताकी खानी हुन्। आमाको रूपमा नारीको महत्व र भूमिकालाई सामान्य ठान्न सकिँदैन। वास्तवमा आमाको जस्तो पवित्र माया कसको हुन्छ र?

सिर्जना भनेको शब्दमा लेख्नु मात्र होइन। विचार, भावना र कलासँगै जीवनका विभिन्न क्षेत्रमा नयाँ केही ल्याउन सक्ने क्षमता पनि हो। नारीको सिर्जनात्मकता जीवनका हरेक पाटोमा देखापर्छ। एक आमाको मातृत्व, एक सन्तानको पालनपोषण, एक शिक्षिकाको शिक्षादान, एक कलाकारको रचनात्मक अभिव्यक्ति-सबै नारीको सिर्जनात्मक पक्षका उदाहरण हुन्। नारीको सिर्जनात्मक सधैं जीवनलाई नयाँ दिशा दिन र त्यसको गहिराइमा रङ भर्न उन्मुख भइरहेको हुन्छ। उनी जसरी पनि आफूलाई सिर्जनशील रहन्छिन्। त्यसले संसारलाई नयाँ दृष्टिकोण र सोंच दिन मद्दत गर्छ।

नारीको शक्ति मानसिक र भावनात्मक शक्तिमा लुकेको हुन्छ। नारीले आफ्नो जीवनका चुनौतीहरूको सामना गर्न र समाजमा सुधार ल्याउन ठूलो साहस, त्याग र धैर्य देखाएकी छन्। समयसँगै नारीका अधिकार र स्वतन्त्रता बढ्दै गएका छन्। यद्यपि उनको शक्तिको मूल आधार भनेको उसका आन्तरिक शक्ति र धैर्य हो। यसलाई सतहबाट अझ उचाइतिर लैजाने काम धेरै कम भएको छ।

समाजमा नारीलाई उत्पीडनको शिकार बनाइएको हो भने पनि उनले आफूलाई सम्बोधन गर्ने क्षमता र संघर्ष गर्ने साहस भनेको साँचो शक्ति हो। महिलाले व्यक्तिगत र सामाजिक स्तरमा जो संघर्ष गरेका छन्, त्यसले उनको शक्तिलाई अझ बलियो बनाएको छ। नारीको शक्ति भनेको एक खतरनाक शक्ति नभई, एक उच्चतर भावना हो जसले संसारलाई थप समृद्ध र सिर्जनात्मक बनाउँछ।

नारीको अस्तित्व एक अटल सत्य हो जसले जीवनको प्रत्येक पाटोमा गहिरो प्रभाव पार्छ। नारीको सौन्दर्य, सिर्जना र शक्ति शब्दको अर्थमा मात्र सीमित छैन। ती सबैका निहित गहिराइ र अभिव्यक्ति हो, जसले जीवनको असल मूल्य र रूपलाई उजागर गर्छ। नारीको असल महत्त्व यथास्थितिमा देख्न सकिँदैन। बरु उनलाई एक सिर्जनात्मक र शक्तिशाली अस्तित्वको रूपमा बुझ्न महत्त्वपूर्ण छ। यसरी, नारी भन्नु एक शब्द मात्र होइन, संसारको आधार र समृद्धि पनि हो।

हाम्रो समाजमा अष्टमातृकाहरू नगर रक्षकका रूपमा पूजिन्छन्। काठमाडौं, भक्तपुर, ललितपुर तीनै सहरमा ती देवीहरू प्रतिष्ठापन गरिएका छन्। जनश्रुति अनुसार, यी देवीहरूले दूष्टशक्तिहरूको नाश गरी समाजलाई सुरक्षित गरिन्।

आजको आधुनिक समाजमा अष्टमातृका सम्मानले अर्को महत्वपूर्ण पक्ष महिलाको महिमा उजागर गर्छ। समाजमा नारीशक्तिको उपेक्षा भइरहेका बेला अष्टमातृका देवीहरू हामीलाई स्मरण गराउँछन् कि सिर्जनशीलता, धैर्य, शक्ति र विद्या नारीमा निहित छन्। यदि हामी यी गुणहरूलाई सम्मान गर्छौं भने, हामी हाम्रो सभ्यता र कलालाई मात्र जोगाउँदैनौं, भविष्यका पुस्ताहरू समक्ष सशक्त सन्देश पनि छोड्छौं।

अष्टमातृकाको सम्मान धार्मिक कर्म होइन, यो सांस्कृतिक पहिचानको रक्षा, कलाको सम्वद्र्धन र सामाजिक सन्देशको संवाहक पनि हो। हाम्रो समाजमा अष्टमातृकाको सम्मानले नारी मनोभावनालाई ऊर्जाशील पार्न यस किसिमको सम्मानको परम्पराले महत्वपूर्ण भूमिका खेल्छ।

यसै सन्दर्भमा साहित्य, कला, संस्कृति, शिक्षा, स्वास्थ्य आदि समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान दिने अग्रणी नारी व्यक्तित्वहरूलाई सिर्जना कलेज अफ फाइन आर्टस्ले वर्सेनि सम्मान प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि ‘अन्तर्राष्ट्रिय नारी दिवस’ को अवसरमा सो सत्कर्मले निरन्तरता पाउनु सबै अग्रणी महिलाहरूको सम्मान हो।

सोही अष्टमातृका सम्मान समारोहको अर्को पुनित कम पनि सार्वजनिक गरियो पोट्रेटमा पोखिएका रङहरूको जीवन्त सौन्दर्यको रहस्यमय घुम्टो खोलेर। चित्रकार तथा सिर्जना कलेजकै अध्यापक अनुप तमुले तयार पारेको पोट्रेट कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई हस्तान्तरण गरियो। अष्टमातृका सम्मानसँगै यो अर्को महत्त्वपूर्ण सम्मानको सिलसिला थियो। अन्तर्राष्ट्रिय नारी दिवसमा आफूले आफ्नै अनुहारको यति सुन्दर पोटे«ट सप्रेमोपहार ग्रहण गर्न पाएर उपप्रमुखले उन्मुक्त खुसी प्रकट गर्नु उपस्थित सबैका लागि पनि खुसीको कुरा हुनु स्वाभाविक हो।

वास्तवमा चित्रकला मानिसका भावनालाई रङ र रूपको माध्यमबाट अभिव्यक्त गर्ने एक अद्वितीय शास्त्र हो। ‘पोट्रेट’ एउटा चित्र मात्र होइन, यसमा कलात्मक सौन्दर्यको उठानसँग वास्तविक जीवनको मौलिक पक्ष उद्घाटित भएको हुन्छ। र, व्यक्तिको पहिचान झल्किने स्वरूप रङहरूको कौशलमा पोतिएका हुन्छन्। यसमा हरेक रङले आफ्नै कथा सुनाउँछ। हरेक ब्रशको प्रहारले नयाँ जीवनको सन्देश दिन्छ। यो जीवन्त सौन्दर्य पोट्रेटमा पोखिएका रङहरूलाई शब्दहरूले समेट्न सकिँदैन।

पोट्रेट भन्नाले हामीलाई सामान्यतः मानिसको चित्रको कल्पना आउँछ। यसमा व्यक्तिको अनुहार, हावभाव र भावनात्मक अवस्थालाई चित्रित गर्ने प्रयत्न गरिन्छ। चित्रकला मात्र शारीरिक रूपको चित्रण होइन, त्यसमा भावनात्मक र मानसिक अवस्थाहरू पनि समेटिन्छ। रङहरू त्यही भावनाका जीवन्त संकेत हुन्। प्रत्येक रङले हामीलाई एउटा कथा सुनाउँछ-कसरी एउटै रङले शान्ति, प्रेम, क्रोध, अथवा दुःखको भावलाई व्यक्त गर्न सक्छ। रङको कुशल संयोजनले व्यक्तिलाई जीवन्त आकारमा उतार्न सक्नु ठूलो कुरा हो।

पोट्रेटमा पोखिएका रङहरूको सौन्दर्य भौतिक रूपमै सीमित छैन। यसको प्रभाव मानसिक र भावनात्मक स्तरमा पनि हुन्छ। कला हेर्नेलाई एक असाधारण संवेदनशीलता र विचारको संसारमा प्रवेश गराउँछ। यसमा रङहरूको जीवन्त प्रयोगले यथार्थ र कल्पनाको सीमाना मेटाइ, हामीलाई मानव अस्तित्वको गहिराइमा डुबाउन सक्छ।

कलाकार अनुप तमुले सुनिता डंगोलको अनुहारलाई पोट्रेटमा रङहरूको जीवन्त सौन्दर्यको आफ्नै मौलिक शिल्प र शैलीले एउटा दृश्यात्मक सौन्दर्य मात्र होइन, यसमा गहिरा भावना, विचार र शृंगारिक संवेदनाहरू पोखेका छन्। रङहरूले हामीलाई एक नयाँ संसारको परिचय गराउँछन्, जसमा चित्रकला र मानिसको जीवनसँगै समाहित भएका छन्। चित्रकारले रङहरूको माध्यमबाट एउटा अनुहारको आकृति मात्र होइन त्यस आकृतिमा उसले जीवनको वास्तविकता र कल्पना बीचको दूरीलाई निकट रहेको महसुस गराउँछ।

त्यसैले पोट्रेट चित्रकला हुँदै हो यसका साथै यो जीवनको एक अनमोल कृति पनि हो। यसमा रङहरूले आफ्नो कुशल सौन्दर्य र भावनात्मक दृष्टिकोणका साथ जीवन्तता ल्याउँछन्। हरेक कलाकार ‘पोट्रेट’ कलामा पोख्त हुन सक्दैनन्। यो कलामा सिपालु हातहरू चाहिन्छ। फलतः व्यक्तिको अनुहारलाई मौलिक रूपमा उतार्न सफलता मिल्छ।

यसरी अन्तराष्ट्रिय नारी दिवसमा अष्टमातृका सम्मानसँगै सम्मान प्रदान गर्ने प्रमुख अतिथिको ‘पोट्रेट’ ले पनि विशेष चर्चा पाउनु अष्टमातृका सम्मानकै द्योतक हो भन्दा फरक पर्दैन।

प्रकाशित: २४ फाल्गुन २०८१ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App