प्रविधि

इन्टरनेटमा नयाँ प्रविधिको होड, मोबाइलमा चलाउने सबैभन्दा धेरै

काठमाडौं, चैत १९ - एघार वर्षदेखि इन्टरनेट सेवा सञ्चालन गरिरहेको वेब सर्फरले अब डायलअप प्रविधिमा सेवा विस्तार नगर्ने भएको छ। कम्पनीले डायलअप प्रविधिलाई बन्द गर्दै अप्टिकल फाइबरको माध्यमबाट मात्र इन्टरनेट वितरण गर्न थालिसकेको छ।

इन्टरनेट सेवा प्रदायक भायोनेटले यसै महिनादेखि डायलपअप इन्टरनेट सेवा पूर्णरुपमा बन्द गर्दैछ। डायलअपका ग्राहक अन्य प्रविधिमा सर्न थालेपछि कम्पनीले यस्तो सेवा बन्द गर्न लागेको हो।

-नेपाल टेलिकमबाट इन्टरनेट सेवा लिनेको संख्या गत माघसम्ममा करिब २८ लाख पुगेको छ। जिपिआरएस, थि्रजी, इभिडियो, वाइम्याक्सजस्ता प्रविधि सुरु गरेपछि टेलिकमका ग्राहक ह्वात्तै बढेका छन्।

तीव्र गति र सजिलो जडान विधियुक्त नयाँ इन्टरनेट सेवा सुरु भएपछि उपभोक्ता र सेवा प्रदायकले पुराना प्रविधि छाड्न थालेका छन्। कम गति र झन्झटिलो जडान प्रक्रिया भएका पुरानाको तुलनामा सजिला प्रविधि पहुँचमा आएपछि उनीहरु नयाँतर्फ आकर्षित भएका हुन्।

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोराले विश्व बजारमा आएका नयाँ प्रविधि सेवा तत्कालै नेपालमा पनि भिœयाउने होड चलिहेको बताए।

वेब सर्फरका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधानका अनुसार अहिले डायलअप प्रविधि धेरै कम्पनीले चलाउन छाडिसकेका छन्। चलाउनेहरुले पनि क्रमशः यो प्रविधिलाई हटाउन थालेका छन्। 'अबको केही समयपछि डायलपअ भन्ने सुन्नै छाडिने छ,' उनले भने, 'योभन्दा धेरै आधुनिक प्रविधि आइसकेका छन्।' उनले कम्पनीहरुले भविश्यसमेत हेरेर समय अनुसारका प्रविधि प्रयोग गरिरहेको बताए।

नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानका अनुसार टेलिकमका ग्राहक पनि नयाँ प्रविधिको इन्टरनेटमा आकर्षित छन्। 'हामीले एडिएसएल सुरु गरेपछि डायलअप लिनेहरु खासै छैनन्,' उनले भनिन्, 'जति नयाँ प्रविधि आउँछ, ग्राहक त्यतैतिर जान्छन्।' टेलिकमले गत बिहीबारदेखि मात्र सर्वसाधारणलाई बिक्री सुरु गरेको वाइम्याक्स इन्टरनेटमा ग्राहकको चासो ह्वात्तै बढेको छ।

दूरसञ्चार सेवा प्रदायकको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले पनि पुराना प्रविधि चलाउने उपाभोक्ता घट्दै गएको देखाउँछ। प्राधिकरणका अनुसार गत वर्ष माघको तुलनामा यस वर्ष माघमा डायलअप इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ३ हजारभन्दा बढीले घटेको छ।

प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा बढी उपभोक्ता मोबाइलमा चलाउन मिल्ने इन्टरनेटका छन्। प्राधिकरणको तथ्यांकअनुसार जिपिआरएस, थि्रजी, इभिडिओलगायत सेवा प्रयोग गरेर इन्टरनेट चलाउने सबैभन्दा धेरै छन्। हातहातमा मोबाइल पुगेकाले यस्ता ग्राहकको संख्या बढेको हो। प्राधिकरणका अनुसार हालसम्म नेपालका करिब २२.२३ प्रतिशत जनसंख्याले इन्टरनेट चलाउँछन्। गत वर्षको माघसम्ममा करिब १५.७५ प्रतिशत जनताले इन्टरनेट चलाउँथे।

प्रकाशित: २२ चैत्र २०६९ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App