प्रविधि

टोरेन्ट साइट 'पाइरेट बे'का संस्थापक पक्राउ

नोमपेन्ह, भदौ १७ (एजेन्सी)- टोरेन्टबाट इन्टरनेट प्रयोगकर्ताहरुले एकआपसमा फाइल सेयर गर्ने साइट 'पाइरेट बे'का एक संस्थापकलाई कम्बोडियाको प्रहरीले गिरफ्तार गरेको छ। स्वीडेनका नागरिक गोटफ्रिड स्भारथोल्म वार्गलाई गिरफ्तार गर्न गत अप्रिलमा अन्तर्राष्ट्रिय वारेन्ट जारी गरिएको थियो।  सोही वारेन्ट कै आधारमा नोमपेन्हमा उनलाई गिरफ्तार गरिएको हो।

कपिराइट उल्लङ्घनको मुद्दामा सुनाइएको एक वर्षे जेल सजाय भुक्तान गर्न नआएका कारण स्वीडेनले उनीविरुद्ध अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गरेको थियो।

कम्बोडियाली प्रहरीका प्रवक्ताले स्वीडेन सरकारको आग्रहमा उनलाई गिरफ्ता गरिएको बताएका छन्। 

सन् २००९ मा कपिराइट उल्लङ्घन गर्न उक्साएको आरोपमा स्वीडेनको एउटा अदालतले साइटका तीन जना संस्थापकलाई दोषी ठहर गरेको थियो। उनीहरुलाई जेल सजायका साथै सात लाख अमेरिकी डलर बराबर रकम संगीत र फिल्म कम्पनीहरुलाई क्षतिपूर्ति वापत् तिर्न पनि आदेश दिइएको छ। 

छ वर्षअघि स्वीडेनमा पाइरेट बे बन्द गरिएको भए पनि वेबसाइट अझै सञ्चालनमा छ। .

सो साइटको वेबसर्भरमा कुनै पनि सामाग्री होस्ट भने हुँदैन। प्रयोगकर्ता कै कम्प्युटरमा भएका फाइललाई अर्को प्रयोगकर्ताले तान्ने हुनाले केही देशमा टोरेन्टलाई गैरकानुनी मानिँदैन।

प्रकाशित: १७ भाद्र २०६९ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App