प्रविधि

लोडसेडिङ तालिकाको नेपाली एप्लिकेसन

काठमाडौं, भदौ १७ (नागरिक) - हिउँद लागेपछि हप्तैपिच्छे फेरिने बिजुलीको लोडसेडिङ तालिका अब मोबाइल फोनमै उपलब्ध हुने भएको छ। त्यसको लागि एन्ड्रोइड अपरेटिङ सिस्टम भने हुन आवश्यक छ। लोडसेडिङको हैरानी भोगिरहेका नेपाली बिजुली उपभोक्तालाई लक्ष्य गरी बनाइएको यो एप्लिकेसन तीन महिनाको अवधिमा १० हजार पटक डाउनलोड भैसकेको छ।  
गुगल प्ले-स्टोरमा रहेको यो एप्लिकेसन एन्ड्रोइड अपरेटिङ सिस्टम भएका सबै स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ।

'नेपाल लोडसेडिङ' नाम राखिएको यो एप्समा लोडसेडिङको लागि विद्युत प्राधिकरणले बनाएका सात वटै समूह र तिनीहरुका तालिका समेत छ। प्रयोगकर्ताले आफ्नो समूहको तालिकालाई 'होमस्क्रिन' का रुपमा राख्न पनि सक्छ।

गुगलका अनुसार नेपाली दुई जना चन्द्र श्रेष्ठ र एलिजा श्रेष्ठले यो एप्स बनाएका हुन्। लोडसेडिङको समय थपघट हुनासाथ नयाँ तालिकालाई डाउनलोड गर्न सकिन्छ।

अहिले प्राधिकरणले तालिका परिवर्तन गर्नासाथ बिजुलीका उपभोक्ताले वेवसाइटबाट प्रिन्ट गरेर राख्ने गरेका छन्। कतिपय साइबर क्याफेहरुले लोडसेडिङ तालिका निकाल्दै फोटोकपी गरेर ५ देखि १० रुपैयाँसम्ममा बेच्ने गरेका छन्।

यो एप्समा लोडसेडिङ सुरु भएपछि कति समयपछि बिजुली आउँछ भन्ने जानकारी समेत छ। बिजुली आएपछि कति समयपछि लोडसेडिङ सुरु हुन्छ भन्ने जानकारी समेत दिने गरी मिलाइएको छ।

यो एप्सको विशेषता 'अफलाइन' मा समेत चल्ने हो। तालिका हेर्न र लोडसेडिङ हुने, बिजुली आउने समय थाहा पाउन अनलाइनमा हुनु पर्दैन। एप्स निर्माताले यसलाई व्यावसायिक प्रयोजनको लागि नभै सोखको लागि बनाएको उल्लेख गरेका छन्।

फाइलको साइज सानो भएको हुँदा यसको डाउनलोड छिट्टै गर्न सकिन्छ। यो एप्सको साइज दुई सय ९४ किलोबाइटमात्र छ।

नेपालमा अहिले ७/८ हजारदेखि ७० हजार रुपैयाँसम्म पर्ने एन्ड्रोइड सिस्टमका स्मार्टफोनहरु चल्तीमा छन्। सामसुङ, एचटिसी, जेडटीई, कार्बन, मोटोरोला, इरिक्सन, स्पाइस, हुवावे, एलजीले मोबाइल सेटमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरेका छन्।

यी कम्पनीका स्मार्टफोन प्रयोग गर्नेहरुले नेपालको लोडसेडिङ एप्स गुगलस्टोरबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सक्ने भएका छन्।

अहिले दैनिक ६/७ घण्टाको दरले हप्तामा ४६ घण्टा लोडसेडिङ हुने गरेको छ। प्राधिकरणले यो वर्ष हिउँदमा दैनिक २१ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने भयावह अवस्था प्रस्तुत गरेको छ।

तर भारतबाट दुईसय मेगावाट बिजुली आयात गरेर लोडसेडिङलाई दैनिक १२ घण्टा मात्र गर्ने प्रयासमा सरकार छ। जस्तोसुकै अप्ठेरो अवस्था भए पनि यस पटक बढीमा १४ घण्टामात्र लोडसेडिङ गर्ने तयारीमा विद्युत प्राधिकरण छ।

गुगलका अनुसार गत मे अन्तिममा यो एप्स तयार भएको हो। निःशुल्क राखिएको यो एप्स लोडसेडिङ तालिका परिवर्तन हुने बित्तिकै अपडेट हुने गरी राखिएको छ।

त्यसैगरी एप्पलको आइओएसका लागि पनि 'बत्ती गयो' नामको लोडसेडिङ तालिकाको एप्लिकेसन्स बनाइएको छ। आइओएस ५ इन्स्टल भएको आइफोन, आइपड र आइप्याडहरुमा समेत यो एप्लिकेसनले काम गर्छ। प्रभास कार्कीले यो एप बनाएका हुन्। 

डाउनलोड लिङ्कस
एप्पल आइओएसका लागि
एन्ड्रोइड फोनका लागि 

प्रकाशित: १६ भाद्र २०६९ २२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App