खेल

चितवनद्वारा पोखरालाई १२१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरमा भइरहेको २७औँ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितका लागि १ सय २१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले खराब सुरुवातका बाबजुद निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनाएको हो।

चितवनको सुरुवात निकै खराब रह्यो। इनिङ्सको २.१ ओभरभित्रै टिमले जम्मा ७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। ओपनर अर्जुन साउद १ रन, अनुभवी ब्याटर डेभिड मलान ५ रन र रवि बोपारा १ रन बनाएर पेभिलियन फर्किएपछि चितवन सुरुवाती दबाबमा परेको थियो।

संकटमा परेको इनिङ्सलाई देव खनाल र मध्यक्रमका ब्याटरहरूले सम्हाल्ने प्रयास गरे। सैफ जाइबले १८ बलमा १७ रन बनाएर आउट भए।

त्यसपछि क्रिजमा जमेका देव खनालले ४१ बलको सामना गर्दै १ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ३५ रन बनाए। कप्तान कुशल मल्लले २३ बलमा २३ रनको योगदान दिए।

अन्तिम ओभरहरूमा अल्केश रामजानीले आक्रामक ब्याटिङ गर्दै टिमको स्कोर १ सय २० सम्म पुर्‍याए। रामजानीले २२ बलमा नटआउट ३३ रन बनाए। कमल ऐरी २ रनमा अविजित रहे।

बलिङतर्फ पोखरा एभेन्जर्सका धनञ्जय लक्षण हाबी भए। उनले ३.४ ओभर बलिङ गर्दै २० रन खर्चिएर चितवनका महत्त्वपूर्ण ३ विकेट लिए।

त्यस्तै, विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान १–१ विकेट हात पारे। ऋषि धवनले विकेट नलिए पनि २ ओभरमा मात्र ६ रन दिएर कसिलो बलिङ गरे।

पोखरा एभेन्जर्सले केही बेरमा १ सय २१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।

आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। लुम्बिनी लायन्स ८ अंकसहित चौथो स्थानमा सुरक्षित भएसँगै ४–४ अंकमा रहेका पोखरा एभेन्जर्स र चितवन राइनोज प्रतियोगिताको प्लेअफ दौडबाट आधिकारिक रूपमा बाहिरिइसकेका छन्।

अंक तालिकामा पोखरा पाँचौं र चितवन छैठौं स्थानमा रहेका छन्। लिग चरणका आफ्ना अन्तिम खेलहरू खेलिरहेका दुवै टोली आजको खेल जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा मैदान उत्रिनेछन्।

आजको नतिजाले शीर्ष चारको समीकरणमा भने कुनै प्रभाव पार्ने छैन।

प्रकाशित: २० मंसिर २०८२ १७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App