आगामी वैशाखमा आठौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आठौं संस्करण आगामी वैशाख १० देखि १३ गतेसम्म सञ्चालन हुने भएको हो। यो प्रतियोगिता २०७२ सालदेखि हुँदै आएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्पmत आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले प्रतियोगिताबारे जानकारी दिएको हो। यस संस्करणमा तीन विभागीय टोलीसहित कुल ६ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।
पहिलो संस्करणदेखि केएनपी नेरोलेक पेन्टले यस प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा साथ दिँदै आएको छ। प्रतियोगिताले यस वर्ष पनि केएनपी नेरोलेकको साथ पाएको छ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक केएनपी नेरोलेक पेन्ट र आयोजकबीच सम्झौता भएको थियो। केएनपी नेरोलेकका तर्फबाट कन्ट्री हेड मनोजकुमार मिश्र र आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानका तर्फबाट संरक्षक गमली खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। यस संस्करण प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछन्।
सम्झौतापत्रमा हस्ताक्षरपछि केएनपी नेरोलेकका कन्ट्री हेड मिश्रले पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहकार्य गर्दा आफू उत्साहित रहेको बताए। उनले नेपाली खेलकुदको स्तरवृद्धिका लागि समेत थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘यो प्रतियोगितामा सुरुदेखि हामीले मुख्य प्रायोजकको रूपमा सहयोग गरिरहेका छौं। भविस्यमा पनि यसले निरन्तरता पाउनेछ,’ उनले भने।
प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, न्यु डायमण्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ। लिगकम नकआउट आधारमा हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ।
पहिलो चरणबाट दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेताले चार लाख ९९ हजार रूपैयाँ पुरस्कार पाउँदा उपविजेताले दुई लाख ५० हजार रूपैयाँ पर्नेछ। तेस्रो हुने टोलीले भने एक लाख २५ हजार रूपैयाँ पाउनेछ। प्रतियोगिताको सवोृत्कृष्ट खेलाडीले ५० हजार रूपैयाँ प्राप्त गर्नेछ।
विधागत उत्कृष्टमा सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई २५ हजार रूपैयाँका दरले प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको प्लेयर अफ दी म्याचले १५ हजार रूपैयाँ पाउनेछन्।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले खेलाडी तथा टिमलाई प्रदान गरिने पुरस्कारमा कर कट्टा नगरिने जानकारी गराए। ५० लाख रूपैयाँको बजेट रहेको प्रतियोगितामा १३ लाख रूपैयाँ भन्दा बढी पुरस्कारमा खर्च हुने उनको भनाइ थियो। सहभागी सबै खेलाडी, प्रशिक्षक, रेफ्री, अन्य प्राविधिकहरूको प्रतियोगिता सुरु हुनुभन्दा एक दिन अघिदेखि एक दिन पछिसम्मको बिमा पनि गरिएको अध्यक्ष खड्काले जानकारी गराए।
अध्यक्ष खड्काका अनुसार प्रत्येक वर्षझै एक जना महिला राष्ट्रिय खेलाडीलाई शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरिनेछ। नेपाली महिला भलिबलमा विशेष योगदान गर्ने एक जना खेलाडीलाई प्रदान गरिने स्पेसल अवार्डबाट सम्मानित हुनेले नगद ५० हजार रूपैयाँसहित विभिन्न उपहारहरू पाउने अध्यक्ष खड्काले बताए।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले घरेलु भलिबलमा सबैभन्दा व्यवस्थित प्रतियोगिताका रूपमा स्थापित केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगिता पुरस्कारका दृष्टिले पनि राम्रो प्रतिस्पर्धा रहेको बताए।
‘नेपाली भलिबलमा यो सबैभन्दा राम्रो प्रतियोगिता हो। यसको पुरस्कार राशि संघले गर्ने एनभिए लिगको भन्दा पनि राम्रो छ,’ यस्तै प्रतियोगिताका कारण नेपालमा भलिबल व्यावसायिक बन्दै गएको अध्यक्ष चन्दले भने, ‘खेलाडीका लागि यो प्रतियोगिता निकै राम्रो छ। यसले खेलाडीलाई प्रोत्साहित गर्ने काममा ठूलो योगदान गरेको छ। पछिल्ला वर्षहरूमा नेपाली भलिबलले अन्तर्राष्ट्रिय जगतमा हासिल गरेका सफलताको आधार निर्माण गर्न पनि यो प्रतियोगिताको योगदान महत्त्वपूर्ण छ।’
प्रकाशित: २५ चैत्र २०८१ ०८:३२ सोमबार



