विश्वविद्यालयमा पनि खेल विकास गर्ने र त्यहाँका प्रतिभालाई राष्ट्रिय स्तरसम्म प्रोत्साहित गर्ने उद्देश्यअनुरूप पहिलोपटक विश्वविद्यालय खेलकुद प्रतियोगिताको सुरुआत हुने भएको छ।
विश्वविद्यालयमा पुगेपछि खेल प्रतिभा हराउने भएकाले उनीहरूको संरक्षण गर्ने र विश्वविद्यालयलाई खेलकुदमय बनाउन नेपाली खेलकुदको कार्यकारी निकायले विश्वविद्यालय खेलकुद प्रतियोगिताको सुरु गर्न थालेको हो। प्रतियोगिता आजदेखि सुरु हुँदै छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार त्रिपुरेवरस्थित राखेप भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबल टेनिस र ब्याडमिन्टन गरी चार खेलको प्रतिस्पर्धा हुनेछ। भलिबलमा भने छात्रको मात्र प्रतिस्पर्धा रहने राखेपले जनाएको छ।
राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले अहिले सुरुआत मात्र गरिएको उल्लेख गर्दै अबको दिनमा निश्चित कार्यतालिकासहित विश्वविद्यालय खेलकुद प्रतियोगिता गर्ने बताए। उपाध्यक्ष कोइरालाले बजेटको आकार र खेलसंख्यामा पनि वृद्धि गर्ने विश्वास व्यक्त गरे।
आइतबार नै पत्रकार सम्मेलनका अवसरमा प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आइतबार सार्वजनिक गरिएको छ। राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरेका हुन्।
एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबल टेनिस लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइनेछ।
प्रकाशित: २२ माघ २०८० ०८:१९ सोमबार



