कपिलवस्तुको शिवराज नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शिवराज नगरपालिका ५ चन्द्रौटास्थित आलोक होटल नजिक शनिबार राति करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु प्र ०१–००१ च २०५४ नम्बरको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक शिवराज नगरपालिका २ हल्लानगर निवासी १८ वर्षीय शिखर वि क गम्भीर घाइते भएका थिए। उनको निधार तथा हातखुट्टामा गम्भीर चोट लागेको थियो। तत्काल आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारका लागि पुर्याइए पनि उपचारकै क्रममा राति ११ः४० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार शिवराज नगरपालिका २ कै २१ वर्षीया शोभा सिर्पाली पनि घाइते भएकी छन्। उनको टाउकोमा भित्री चोट लागेको छ र हाल बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो, मोटरसाइकल तथा स्कारपियो चालक दाङको घोराही उपमहानगरपालिका १५ निवासी २६ वर्षीय केशव रिजाललाई नियन्त्रणमा लिएको छ।
प्रकाशित: १७ श्रावण २०८३ १३:१० आइतबार



