समाज

सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण

सिरहाको लहान नगरपालिका-१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी सामुदायिक वनमा स्थानीय समुदायको सक्रिय सहभागितामा झाडी फाँडेर व्यवस्थित वृक्षरोपण अभियान थालिएको छ।

वातावरणीय संरक्षण, जैविक विविधता विस्तार र वन उपजको उत्पादन वृद्धि गर्ने उद्देश्यले थालिएको यस अभियानले चुरे क्षेत्रको हरियाली पुनः स्थापना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीका अनुसार वनका खाली जग्गाहरूमा पहिले रोपिएका बिरुवाहरूको गोडमेल गर्नुकाे साथै र धमाधम बिरुवाहरू राेपिंदै छ।

उनका अनुसार डिभिजन वन कार्यालय सिरहा, लहानको प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताहरूले वृक्षरोपण र संरक्षण कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका हुन्।

“वनको ४/५ प्रतिशत क्षेत्रमा पहिले गरिएको वृक्षरोपणको रेखदेख, संरक्षण र थप बिरुवा रोप्ने काम उपभोक्ता समितिको व्यवस्थापनमा भइरहेको छ,” चौधरीले भने। उनका अनुसार, वनमा मुख्य गरी टिक, जामुन, खयर, पाँचपाते, अमला, मसला लगाएका बिरुवा रोपिएका छन्।

कुल २७७ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वन क्षेत्रका खाली जग्गाहरूमा हजारौं बिरुवा लगाइएको चौधरीको भनाइ छ। त्यसमा सडक विस्तारका क्रममा नष्ट भएका बिरुवाको क्षतिपूर्तिस्वरूप पनि सामुदायिक वनमा वृक्षरोपण गरिएको छ।

यसैबीच चाइना रेलवे कम्पनीले कञ्चनपुर-कमला सडक विस्तारका क्रममा मासिएका बोटबिरुवाबापत क्षतिपूर्तिस्वरूप करिब ३८ हजार बिरुवा सामुदायिक वनमा रोपिएको छ।

यस सम्बन्धमा सडक विस्तार आयोजना पश्चिम खण्ड (सिरहा) का सूचना अधिकारी सरोज कोइरालाले भने, “सडक विस्तारका क्रममा एउटा बोट मासिंदा त्यसको सट्टा २५ बिरुवा रोप्नुपर्ने प्रावधान अनुसार यस्तो गरिएको हो। त्यसमा हाम्रो आर्थिक व्ययभार मात्र रहेको छ भने बिरुवा कहाँ र कस्तो रोप्ने भन्ने जिम्मेवारी डिभिजन वन कार्यालयको हो।”

डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा चुरेको वातावरणीय संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले यहाँका नाङ्गा डाँडामा हरियाली अभियान थालिएको बताए।

त्यसका लागि आव २०८१/८२ मा डिभिजन वन कार्यालयका तर्फबाट मात्र दश लाख जति बिरुवा रोपिएको छ, जुन चुरे संरक्षणतर्फको एक ऐतिहासिक प्रयासका रूपमा लिइएको छ।

उनले चुरे क्षेत्रका नाङ्गा डाँडामा वृक्षरोपण दिगो रूपमा अघि बढाउनुपर्नेमा जोड दिंदै अगाडि भने, “माटोको कटान, भूक्षय, पानीको अभाव जस्ता समस्याको समाधानमा वृक्षरोपणले सहयोग गर्नेछ। त्यसैले ती बिरुवाहरूलाई जोगाएर हुर्काउने र वन क्षेत्रलाई स्थायी रूपमा हरियाली बनाउन स्थानीय सामुदायिक वन समितिसँग समन्वय गर्दै अघि बढ्नेछौं।”

प्रकाशित: २ भाद्र २०८२ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App