गोसाइँकुण्ड पुग्ने सपना बोकेर भक्तपुरबाट निस्किएका राकेश त्वानाबासु र उनका साथी लक्ष्मीनारायण सिजखोले यात्रा यसरी जीवनकै सबैभन्दा डरलाग्दो अनुभव बन्ने कल्पना गरेका थिएनन् ।
तीर्थयात्राका लागि भदौ ८ गते सोमबार स्कुटरमा घरबाट निस्किएका उनीहरू भदौ ११ गते राति घर फर्किए, तर यात्राको अन्त्यसम्म आइपुग्दा उनीहरूका आँखाअघि बाटो, बस्ती, मान्छेका चित्कार र बाढीको कहालीलाग्दो दृश्य मात्र घुमिरहेको थियो ।
‘हामी त धन्न बाँचेछौँ’, घर फर्किएपछि सामाजिक सञ्जालमा भोटेकोशी बाढीका भिडियो हेर्दै गर्दा राकेशलाई यही लाग्यो ।
गोसाइँकुण्डबाट फर्किंदै गर्दा उनीहरूले बाटोमा देखेको दृश्य कुनै सामान्य बाढीको खबरजस्तो थिएन । त्यो त मान्छेहरूको जीवन एकैछिनमा उलटपुलट भएको त्रासदी थियो ।
सूर्यकुण्डबाट फर्कंदा सुनियो बाढीको खबर
भदौ १० गते बिहान करिब ९ बजेतिर उनीहरू गोसाइँकुण्डभन्दा माथि रहेको सूर्यकुण्डबाट फर्किंदै थिए । सूर्यकुण्डबाट गोसाइँकुण्ड पुग्न करिब दुई घण्टा लाग्छ ।
गोसाइँकुण्डतर्फ झर्दै गर्दा बाटोमा स्थानीयहरू रुँदै गरेको देखे । कसैको अनुहारमा डर थियो, कसैको आँखामा आँसु ।
‘किन रोएको ?’ भनेर सोध्दा जवाफ आयो, स्याफ्रुबेंसीमा ठूलो बाढी आएको छ ।
सुरुमा उनीहरूले पनि त्यसलाई सामान्य बाढीको खबरजस्तै लिए ।
‘पछिल्लो समय पनि ठाउँ–ठाउँमा बाढी आएको सुनिरहेका थियौँ । कुनै निश्चित ठाउँमा बाढी आएर धनजनको क्षति भयो होला भन्ने लाग्यो,’ राकेश सम्झन्छन् ।
तर मनले मानेन । उनले घरमा फोन गरे । घरबाट पनि तत्कालै यकिन खबर पाउन सकेनन् । ‘बुझेर फोन गर्छु, गोसाइँकुण्डमै बस’ भन्ने जवाफ आयो ।
.jpeg)
केही समयपछि घरबाट फेरि फोन आयो ।
‘ठूलै बाढी–पहिरो आएको रहेछ । विस्तारै बुझेर आउनू ।’
त्यसपछि उनीहरू गोसाइँकुण्डबाट तल झर्न थाले ।
‘कसैले छोरी बग्यो भनिरहेका थिए, कसैले परिवार नै बाढीमा पर्यो भन्दै थिए ।’
तल झर्दै जाँदा बाटोमा पर्ने होटल र बस्तीमा पनि उस्तै दृश्य थियो । मानिसहरू रोइरहेका थिए । आत्तिएका थिए । कसैले आफन्त खोजिरहेका थिए, कसैले फोनमा खबर बुझ्ने प्रयास गरिरहेका थिए ।
‘कसैले मेरो छोरी बाढीमा परी भनेर रोइरहेका थिए । कसैले मेरो सबै परिवार नै बाढीमा पर्यो भन्दै थिए,’ राकेश सुनाउँछन्, ‘उहाँहरू रोएको देख्दा हाम्रो आँखाबाट पनि थाहै नपाई आँसु झर्यो ।’
त्यसपछि उनीहरूको मनमा पनि डर पसिसकेको थियो ।
मोबाइल निकालेर समाचार हेर्न खोजे । तर नेटवर्क र डेटा दुवै चल्न छाडिसकेको थियो ।
अब के गर्ने ?
घर पुग्न सकिन्छ कि सकिँदैन ?
धुन्चेमा राखेको स्कुटर सुरक्षित छ कि छैन ?
धुन्चे नै बगाइसकेको त छैन ?
यस्ता अनेक प्रश्नले राकेशको मनमा ठाउँ बनाउन थाले ।
तर उनले साथी लक्ष्मीनारायणलाई आफ्नो डर सुनाएनन् ।
‘हामी दुई जना मात्रै डराइरहेका थिएनौँ, सबै जना डराइरहेका थिए । मैले पनि आफ्नो डर साथीलाई सुनाएँ भने उसको डर झन् बढ्ला भन्ने लाग्यो,’ उनी भन्छन् ।
त्यसैले उनले भने, ‘सँगसँगै हिँडौँ ।’
.jpeg)
दुई दिन लाग्ने बाटो एकै दिनमा पार्ने हतार
जाँदा जुन बाटोमा साना–साना खोल्साहरू थिए, फर्कंदा ती खोल्साहरू उर्लिएका थिए । पानीको बहाव यति बढेको थियो कि सामान्य अवस्थामा पार गर्न सकिने ठाउँ पनि जोखिमपूर्ण बनेका थिए ।
अरू यात्रुको सहारा लिएर उनीहरूले खोल्साहरू पार गरे ।
यसैबीच कतिपय पैदलयात्रीले नुवाकोटतर्फको पुलसमेत बगेको खबर पाए । त्यसपछि केही यात्रु दुप्चेश्वरतर्फ मोडिए ।
तर राकेश र लक्ष्मीनारायणको स्कुटर धुन्चेमा थियो । त्यसैले उनीहरू धुन्चेतर्फै तल झर्ने निर्णयमा पुगे ।
बाटोमा सुरक्षाकर्मी भेटिए । उनीहरू पनि सुरक्षाकर्मीसँगै हिँड्न थाले । तर सुरक्षाकर्मीको हिँडाइ निकै तीव्र थियो ।
‘हामी त दौड प्रतियोगितामा भाग लिएजस्तो उहाँहरूको पछिपछि लाग्न थाल्यौँ,’ राकेश हाँस्दै सम्झन्छन्, ‘रात परिसकेको थियो ।’
रातको परवाह नगरी उनीहरू सुरक्षाकर्मीको टोलीलाई पछ्याउँदै अघि बढे ।
बेलुका करिब साढे ८ बजे धुन्चे पुगे ।
धुन्चे पुग्दा पनि अर्को त्रास
धुन्चे पुगेपछि स्कुटर सुरक्षितै थियो । तर बजारको अवस्था सामान्य थिएन ।
बाढी धुन्चे बजारसम्मै पुगेको रहेछ ।
होटल व्यवसायीहरू स्याफ्रुबेंसी र भोटेकोशी आसपासका आफन्त तथा परिचितसँग सम्पर्क गर्न खोजिरहेका थिए । कोही फोनमा रोइरहेका थिए । कोही लगातार खबर बुझ्न खोजिरहेका थिए ।
नेटवर्क कहिले आउने, कहिले जाने भइरहेको थियो ।
त्यस रात जसोतसो धुन्चेमै बसे ।
भोलिपल्ट बिहान उठेर बाहिर हेर्दा उनीहरू झस्किए ।
स्याफ्रुबेंसी बजार लेदोले ढाकिएको थियो ।
जाँदा देखेको बजार फर्किंदा चिनिनै नसकिने अवस्थामा थियो ।
‘जाँदा शहर हेरेर गएका थियौँ । फर्किंदा लेदो मात्र थियो,’ राकेश भन्छन्, ‘एकछिन त अब के गर्ने भन्ने नै थाहा भएन ।’
.jpeg)
काठमाडौं फर्किन सडकको अवस्था सबैभन्दा ठूलो चुनौती थियो ।
नेटवर्क थिएन । मुख्य सडकको अवस्था अज्ञात थियो । उनीहरूले सुरक्षाकर्मीसँग वैकल्पिक बाटोबारे सोधे ।
जवाफ आयो, टोखा निस्किने एउटा बाटो छ ।
त्यही बाटो रोजे ।
तर त्यो बाटो बाटोभन्दा बढी ढुंगा र हिलोको थुप्रो जस्तो थियो ।
‘बाटो हो कि ढुंगाको थुप्रो हो, त्यहीमाथि स्कुटर चलाइरहेका थियौँ । हामीलाई नै थाहा थिएन,’ राकेश सुनाउँछन् ।
उनीहरूको अगाडि अर्को चिन्ता पनि थियो, पेट्रोलको ।
भक्तपुरबाट निस्कँदा स्कुटरको ट्यांकी फुल थियो । धुन्चे पुग्दा केही पेट्रोल बाँकी थियो । तर फर्किने क्रममा बीच बाटोमै पेट्रोल सकियो भने ?
न नेटवर्क थियो, न सहज सडक ।
‘त्यही बेला आपत पर्दा देवताले हेर्छन् भन्थे, हो जस्तो लाग्यो,’ राकेश भन्छन् ।
जोखिमपूर्ण बाटो पार गर्दै जाँदा पनि पेट्रोल सकिएन । अन्ततः पेट्रोल पम्प भेटियो । उनीहरूले फेरि ट्यांकी फुल गरे ।
साथीभन्दा अगाडि दौडिएको स्कुटर
वैकल्पिक बाटोमा उनीहरू अरू केही यात्रुसँगै अघि बढिरहेका थिए ।
किनभने पेट्रोल सकियो भने सहयोग लिन सकियोस् भन्ने थियो ।
तर अर्को समस्या थियो, नेटवर्क ।
‘हामी पछि पर्यौँ र उहाँहरू अघि जानुभयो भने फोन गर्नलाई नेटवर्क थिएन । त्यसैले स्कुटर उहाँहरूभन्दा अघिअघि कुदायौँ,’ राकेश भन्छन् ।
रसुवा जिरो किलोमिटर, अम्बाबास, भोर्ले, पारच्याङ, पाटीखर्क, सरमथली हुँदै लच्याङछाप, बाहुनबेँसी, छहरे हुँदै उनीहरू काठमाडौंको बाटोतर्फ आए ।
भदौ ११ गते राति करिब ९ बजे उनीहरू घर पुगे ।
चार दिनको तीर्थयात्रा र एउटा डरलाग्दो फर्काइपछि बल्ल घरको ढोका देख्न पाए ।
‘सामाजिक सञ्जालमा भिडियो हेरेपछि पो थाहा भयो, हामी धन्न बाँचेछौँ’
घर आइपुगेपछि बल्ल उनीहरूले सामाजिक सञ्जालमा बाढीका भिडियो हेरे ।
त्यसपछि मात्रै यात्राका क्रममा आफूहरू कति ठूलो जोखिमबाट गुज्रिएका रहेछौँ भन्ने अनुभूति भयो ।
‘घर आएपछि सामाजिक सञ्जालमा भिडियोहरू हेर्दा पो लाग्यो, हामी धन्न बाँचेछौँ,’ राकेश भन्छन्, ‘दैवको कृपाले सकुशल घर आउन सफल भयौँ ।’
गोसाइँकुण्ड जाने यात्रा उनका लागि तीर्थयात्रा मात्र थिएन । त्यो जीवन र मृत्युको सीमारेखाबाट फर्किएको यात्रा बन्यो ।
भक्तपुरबाट सुरु भएको यात्रा
राकेश र लक्ष्मीनारायण भदौ ८ गते सोमबार भक्तपुरबाट स्कुटरमा गोसाइँकुण्डका लागि निस्किएका थिए ।
पहिलो दिन स्कुटर धुन्चेमा राखेर खाना खाएपछि उनीहरू चन्दनबारीमा बास बसे । दोस्रो दिन चन्दनबारीबाट लौरीविनायकतर्फ उक्लिए । तेस्रो दिन लौरीविनायकबाट पैदल उकालो चढ्दै गोसाइँकुण्ड पुगे ।
समय छँदै उनीहरू सूर्यकुण्डसमेत पुगेका थिए ।
तर फर्किने क्रममा प्रकृतिले अर्कै दृश्य देखाइसकेको थियो ।
उनीहरूले गोसाइँकुण्डबाट तल झर्दा सुनेको बाढीको खबर केही घण्टामै उनीहरूको आफ्नै जीवनको सबैभन्दा ठूलो परीक्षा बन्यो ।
.jpeg)
एउटा बाढी, जसले भूगोल नै बदलिदियो
रसुवामा आएको आकस्मिक बाढीले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्ती र पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । रसुवागढीस्थित टिमुरे बजार, स्याफ्रुबेंसी, मैलुङ क्षेत्र, पैरेबेँसी, शान्तिबजार तथा नुवाकोटतर्फको बेत्रावतीलगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ ।
भूगर्भविद् रञ्जनकुमार दाहालका अनुसार विगतका घटनासँग तुलना गर्दा यसपटकको बाढीको मात्रा र क्षति गर्ने क्षमता निकै ठूलो देखिएको छ । पानी निकै माथिल्लो भूभागबाट ठूलो मात्रामा आएको र त्यसले बाढीको वेग तथा विनाशकारी क्षमता बढाएको उनको भनाइ छ ।
जानकारहरूका अनुसार भोटेकोशीमा तिब्बती भूभागबाट आउने आकस्मिक बाढीको जोखिम बुझ्न सन् २०२५ को घटना पनि महत्वपूर्ण उदाहरण हो । २०२६ मा प्रकाशित वैज्ञानिक अध्ययनअनुसार ८ जुलाई २०२५ मा प्युरेपु हिमनदी क्षेत्रमा विशाल सुप्राग्लेसियल हिमताल विस्फोट हुँदा चीन–नेपाल सीमापार विनाशकारी बाढी आएको थियो । अध्ययनअनुसार उक्त घटनामा करिब ९१ लाख घनमिटर पानी बाहिरिएको थियो भने ११ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए ।
यसअघि सन् १९८०/८२ तिर नाम्चे क्षेत्रमा हिमताल विस्फोटपछि आएको बाढीको घटना पनि उल्लेखनीय मानिन्छ ।
तर राकेश र लक्ष्मीनारायणका लागि यी तथ्यांक र अध्ययनभन्दा ठूलो कुरा उनीहरूले आफ्नै आँखाले देखेको त्यो दृश्य हो ।
रोइरहेका मानिसहरू, हराएका आफन्तको खोजी, लेदोले ढाकिएको बजार, उर्लिएका खोल्सा, भत्किएको बाटो र नेटवर्कविहीन मोबाइल ।
गोसाइँकुण्ड दर्शनका लागि निस्किएका उनीहरू चार दिनपछि घर फर्किए । शरीर थाकेको थियो । अनि एउटै कुराले खुसी दिएको थियो, ‘हामी बाँचेर फर्कियौँ ।’
उनीहरूको मनमा अर्को प्रार्थना पनि थियो, बाढीमा हराएका सबै सकुशल भेटिऊन् । प्रभावित परिवारले आफन्त पाऊन् । र यस्तो विपद् फेरि कसैले भोग्न नपरोस् ।
(भक्तपुरबाट गोसाइँकुण्ड पुगेर फर्किएका राकेश त्वानाबासु र लक्ष्मीनारायण सिजखोसँग गरेको कुराकानीमा आधारित ।)
प्रकाशित: १४ भाद्र २०८३ २०:४६ आइतबार



