रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित नागरिकका लागि रसुवा र नुवाकोटका विभिन्न २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार मात्रै दुई जिल्लाका ३ हजार ४५४ जना विपद् प्रभावितलाई आश्रय तथा राहत प्रदान गरिएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार नुवाकोट जिल्लामा मात्रै १६ वटा आश्रयस्थल तथा शिविरमार्फत २ हजार २७४ नागरिकलाई सुरक्षित राखिएको छ।
जसअन्तर्गत विदुर नगरपालिकाको तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशूली ढुङ्गे र सिमचैरका प्रभावितलाई सेफहाउस/किरियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देवीघाटका नागरिकलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ।
यस्तै, बेत्रावती भैंसे क्षेत्रका नागरिकलाई सुन्दरी क्यैरीनी मावि, त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल, भैरम मावि, रिमालडाँडा र इन्द्रायणी आविमा राखिएको छ।
विदुर–३ देवीघाट सिटखालीका प्रभावितलाई रणभुवनेश्वरी मावि/वडा कार्यालय, विदुर–९ का प्रभावितलाई त्रिशूली आवि र शुलक्षणा मावि, बेलकोटगढी रातमाटेका नागरिकलाई महादेव मावि, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा व्यवस्थापन गरिएको छ।
विदुर-२ को सेफहाउस, देवीघाट आयुर्वेद चिकित्सालय, बेलकोटगढी–७ को महादेव मावि र विदुर-९ को शुलक्षणा माविमा नियमित स्वास्थ्य जाँचका लागि मेडिकल टोली खटाइएको छ। त्रिशूली नदीपारिका क्षेत्रमा हेलिकप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।
उता रसुवा जिल्लाका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै १ हजार १८० जनाले आश्रय लिएका छन्। स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ, आमाछोदिङ्गो गाउँपालिकाका हाकु, पाङलिङ, पाङ्ग्रङ र ग्रे तथा गोसाइँकुण्ड गाउँपालिकाका थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसीमा आश्रयस्थल सञ्चालनमा छन्।
भौगोलिक विकटताका कारण अधिकांश क्षेत्रमा हेलिकप्टरमार्फत राहत ढुवानी गरिएको छ। प्रभावितहरूको उपचारका लागि धुञ्चेस्थित रसुवा जिल्ला अस्पतालमा सशस्त्र प्रहरी बलको टोली, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पताल र नेपाली सेनाको स्वास्थ्य टोली उपचारमा सक्रिय रूपमा खटिएका छन्।
प्रकाशित: १४ भाद्र २०८३ २१:५७ आइतबार



