रौतहटका उखु किसानले लामो समयदेखि रोकिएको करिब ७ करोड रुपैयाँ बराबरको सरकारी अनुदान रकम सात दिनभित्र भुक्तानी प्रक्रिया अघि बढाइने प्रशासनको प्रतिबद्धतापछि आफ्नो आन्दोलन स्थगित गरेका छन्।
प्रति क्विन्टल ७० रुपैयाँका दरले उपलब्ध गराइने सरकारी अनुदान रकम असार मसान्तसम्म पनि भुक्तानीका लागि सिफारिस नभएपछि रकम फ्रिज हुने अवस्था सिर्जना भएको भन्दै किसानहरू आन्दोलनमा उत्रिएका थिए। उनीहरूले तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका थिए।
उखु किसान अनुदान सहजीकरण समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवका अनुसार किसानको अनुदान रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा सिफारिस नपुग्दा भुक्तानी प्रक्रिया रोकिएको थियो।
यसबीच प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय गौरमा उखु उत्पादक संघ र किसान प्रतिनिधिसँग भएको छलफलपछि अनुदान भुक्तानी प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको हो। बैठकमा उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवलगायत किसान प्रतिनिधिको सहभागिता थियो।
सहमतिअनुसार उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि (संशोधन), २०७५ बमोजिम योग्यता पुगेका किसानलाई अनुदान उपलब्ध गराइनेछ। स्थानीय तह र कृषि कार्यालयले आवश्यक विवरण तथा कागजात सात दिनभित्र प्रशासनमा पेश गर्ने, त्यसपछि रुजु गरी नियमानुसार किसानको बैंक खातामै अनुदान रकम जम्मा गरिने निर्णय भएको छ।
यसका लागि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखालाई किसानको विवरण संकलन, प्रमाणीकरण र आवश्यक कागजात उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ सम्पन्न गर्न निर्देशन दिएको छ।
उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले प्रशासनले अनुदान रकम सुरक्षित रहने र आवश्यक प्रक्रिया पूरा भएपछि भुक्तानी सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको भन्दै हालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको बताए।
प्रमुख जिल्ला अधिकारी भुसालले उखुको परिमाणको प्रमाणीकरण सम्बन्धित चिनी उद्योगबाट तथा किसानको प्रमाणीकरण स्थानीय तहबाट हुने व्यवस्था अनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिए। आवश्यक कागजात प्राप्त हुनेबित्तिकै सहजीकरण समितिले प्रक्रिया पूरा गरी एक साताभित्र किसानको बैंक खातामा अनुदान रकम पठाइने उनले स्पष्ट पारे।
प्रशासनको प्रतिबद्धतासँगै लामो समयदेखि अनुदानको प्रतीक्षामा रहेका रौतहटका उखु किसानले अब चाँडै बक्यौता रकम प्राप्त गर्ने अपेक्षा गरेका छन्।
प्रकाशित: ३२ असार २०८३ २१:३९ बिहीबार



