पाथीभरा क्षेत्र विकास समितिले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
पाथीभरा क्षेत्र विकास समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।
समितिको बैठकले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका साथै सामाजिक गतिविधिमा सहयोग गर्न, असहाय तथा अशक्त व्यक्तिका लागि आर्थिक सहायता, मेला, महोत्सव तथा खेलकुद कार्यक्रमका लागि सहयोग गर्न छुट्टै कार्यविधि बनाउने निर्णयसमेत गरेको छ। सोही कार्यविधिअनुसार आगामी दिनमा सहयोग गर्ने समितिले जनाएको छ।
यस्तै, जनस्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिका पदाधिकारी तथा सदस्यहरूबाट संकलित रकममा संस्थाको कोषबाट समेत थप सहयोग गरी बाढीपीडितका लागि कुल १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ।
समितिका अध्यक्ष सुरेश लिम्बूका अनुसार पदाधिकारी तथा सदस्यहरूबाट संकलित ६४ हजार ५५५ रुपैयाँ र समितिको कोषबाट ३७ हजार ५५६ रुपैयाँ गरी कुल १ लाख १ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।
प्रकाशित: १६ भाद्र २०८३ १८:०१ मंगलबार

-600x400.jpg)

