समाज

खोरेत रोग नियन्त्रणमा

हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेका पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ।  

पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेपछि खोरेत रोग नियन्त्रणमा आएको हो।  

‘खोरेत रोगबाट पशु चौपाया मर्न थालेपछि खोरेत रोगविरुद्धको खोप अभियान चलायौं,’ पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा बृजकिशोर ठाकुरले भने, ‘अहिले रोग नियन्त्रणमा आइसकेको छ।’  

खोरेत रोग प्रभावित पशुलाई लक्षित गरी जिल्लाको १० वटै पालिकामा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको र हालसम्म करिब पाँच हजार पशुमा खोप लगाइएको प्रमुख ठाकुरले बताए। उनको अनुसार भदौको पहिलो सातादेखि सुरु गरिएको खोरेत रोगविरुद्धको खोप अभियानका क्रममा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडाका २३ हजार पशुमा खोप लगाइएको छ।  

खोरेत रोगबाट जिल्लाको १० वटा पालिकामध्ये नौ वटा पालिकामा फैलिएको खोरेत रोगबाट दुई हजार तीन सय ३९ पशुचौपाया प्रभावित भएकामा एक सय एक पशुचौपायाको मृत्यु भएको पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा विजय पौडेलले बताए। उनको अनुसार सबैभन्दा बढी हेटौँडामा खोरेत रोगबाट ४१ पशु मरेका छन्।

प्रकाशित: २ आश्विन २०८२ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App