नेपाल सरकारले इजरायल र इरानको यात्रा तत्कालका लागि स्थगित गर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै हाल मध्यपूर्वमा विकसित भइरहेका परिस्थितिका कारण अवस्था सामान्य नभएसम्म इजरायल वा इरान जाने योजना स्थगित गर्न अपिल गरेको हो।
मन्त्रालयले क्षेत्रीय अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। साथै, हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
विज्ञप्तिमा सम्बन्धित देशका आधिकारिक निकायहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरू कडाइका साथ पालना गर्न भनिएको छ। ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू बसोबास गरिरहेको स्थानमा नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्,’ मन्त्रालयको आग्रह छ।
पूर्वअनुमति नलिई अनावश्यक यात्रा नगर्न पनि सचेत गराइएको छ। साथै, काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन भनिएको छ।
त्यस्तै, अन्य मध्यपूर्वी देशहरूमा कार्यरत वा बसोबासरत नेपाली नागरिकलाई पनि सम्बन्धित देशका सुरक्षा निकायहरूले जारी गरेका सुझावहरू पालना गर्दै पछिल्ला घटनाक्रमबारे नियमित जानकारी लिन विशेष अपिल गरिएको छ।

प्रकाशित: १६ फाल्गुन २०८२ १६:२४ शनिबार



