समाज

डेमोक्र्याटले जिते आर्थिक मन्दी आउने ट्रम्पको चेतावनी, पाँच हजार डलर दिने वाचा दोहोर्‍याए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मध्यावधि चुनावमा डेमोक्र्याट पार्टीले तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा बहुमत हासिल गरे अमेरिकामा सन् १९२९ जस्तै आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएका छन्।

उनले रिपब्लिकन पार्टीले सिनेट र सदन दुवैमा बहुमत कायम राखे प्रत्येक अमेरिकी वयस्कलाई पाँच हजार डलर दिने वाचा पनि दोहोर्‍याएका छन्।

ट्रम्पले शनिबार ट्रुथ सोसलमा पोस्ट गरेको भिडियोमार्फत यस्तो बताएका हुन्। उनले रिपब्लिकनले चुनाव जिते अमेरिकी नागरिकलाई दिने भनिएको रकम भन्सार शुल्कबाट संकलन भएको आम्दानी र आर्थिक सफलताबाट उपलब्ध गराउन सकिने दाबी गरेका छन्।

‘यदि रिपब्लिकनहरूले सदन र सिनेट जिते भने, म संयुक्त राज्य अमेरिकाका सबै वयस्क नागरिकलाई पाँच हजार डलर दिनेछु,’ ट्रम्पले भने।

ट्रम्पले डेमोक्र्याटहरूले चुनाव जिते कर बढाउने र अर्थतन्त्रमा ठुलो समस्या ल्याउने दाबी गरेका छन्। ‘यदि डेमोक्र्याटहरूले जिते भने, तपाईंसँग सन् १९२९ जस्तै आर्थिक मन्दी हुनेछ,’ उनले भने। उनले आफ्नो दाबीको समर्थनमा कुनै आर्थिक विश्लेषण भने प्रस्तुत गरेका छैनन्।

ट्रम्पका अनुसार पाँच हजार डलरको प्रस्ताव कार्यान्वयन गर्न करिब एक ट्रिलियन डलर खर्च हुनेछ। उनले आफू राष्ट्रपति बनेपछि अमेरिकामा २१ ट्रिलियन डलर लगानी आएको दाबी गर्दै भन्सार शुल्कबाट ठुलो रकम संकलन भइरहेकाले यस्तो भुक्तानी सम्भव हुने बताएका छन्। तर लगानी प्रतिबद्धता नागरिकलाई प्रत्यक्ष रूपमा वितरण गर्न मिल्ने सरकारी नगद रकम भने होइन।

पाँच हजार डलर दिने प्रस्ताव कार्यान्वयन गर्न अमेरिकी कांग्रेसको स्वीकृति आवश्यक पर्नेछ। तर सभामुख माइक जोनसनले अहिलेसम्म यो योजनामा स्पष्ट प्रतिबद्धता जनाएका छैनन्। उनले कांग्रेसले यस विषयमा काम गरेर सहमति खोज्नुपर्ने बताएका छन्।

ट्रम्पको पछिल्लो घोषणा मध्यावधि चुनाव नजिकिँदै गर्दा आएको हो। पछिल्ला सर्वेक्षणहरूले भने रिपब्लिकन पार्टीका लागि चुनौती देखाएका छन्। केही सर्वेक्षणमा सामान्य मतपत्रमा डेमोक्र्याटहरू रिपब्लिकनभन्दा अगाडि देखिएका छन्।

ट्रम्पको पाँच हजार डलरको प्रस्तावप्रति मतदाताको धारणा पनि मिश्रित देखिएको छ। केही मतदाताले रकम पाउने सम्भावनालाई सकारात्मक रूपमा लिए पनि धेरैले ट्रम्पले चुनाव जितेपछि वास्तवमै उक्त रकम दिनेमा विश्वास नरहेको बताएका छन्। केही सर्वेक्षणमा यो घोषणाले रिपब्लिकनलाई मतदान गर्ने आफ्नो निर्णयमा कुनै प्रभाव नपार्ने देखिएको छ।

ट्रम्पले यसअघि पनि विभिन्न प्रकारका ‘लाभांश’ र भुक्तानी दिने घोषणा गरिसकेका छन्। उनले ज्येष्ठ नागरिकलाई मेडिकेयर पार्ट बीको प्रिमियम तिर्न सहयोग गर्न करिब ९० डलरको एक पटकको भुक्तानी दिने घोषणा गरेका छन्।

ट्रम्पले भने आफ्नो आर्थिक नीतिका कारण पाँच हजार डलरको भुक्तानी सम्भव हुने दाबी गर्दै आएका छन्। उनले आफू उक्त रकमको चेकमा हस्ताक्षर गर्न तयार रहेको बताएका छन्। एजेन्सी

प्रकाशित: १८ आश्विन २०८३ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App