कमजोर सडक पूर्वाधारसँगै हवाई यात्रा आमनागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन्। हवाई भाडा पनि बढेको छ। केही विमानस्थलको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओरालो लागेको छ। जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलको पूर्वाधार विस्तार नहुँदा ठुला जहाजले उडान भर्न नसक्दा हवाई यात्रा सर्वसाधारणको पहुँचबाहिर बन्न पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा बर्खा सुरु भएसँगै आमनागरिक जोखिमपूर्ण सडक यात्रा गर्न बाध्य छन्।
सुदूरपश्चिमेलीलाई सकस
सुदूरपश्चिम प्रदेशका बासिन्दालाई काठमाडौंलगायतका देशका अन्य भूभागमा हवाई मार्गबाट जान निकै सकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाडाका कारण हवाई सेवा सर्वसाधारणको पहुँचबाहिर छ। सुदूरपश्चिमका डडेल्धुराबाहेकका जिल्लामा विमानस्थल भए पनि सबै सञ्चालनमा छैनन्। यस क्षेत्रमा भएका विमानस्थलमध्ये आठवटा अहिले बन्द छन्।
सुदूरपश्चिममा धनगढीको गेटा विमानस्थल सञ्चालनमा छ तर भाडा महँगिएका कारण सर्वसाधारण उडान भर्न सक्ने अवस्थामा छैनन्। काठमाडौं–दिल्लीभन्दा धनगढी–काठमाडौं भाडा बढी छ। सुदूरपश्चिमका पहाडी जिल्लामा बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छ। एकातिर पहाडी जिल्लाका सबै विमानस्थल सञ्चालन नहुँदा र अर्कोतिर भएको सेवाको पनि भाडा महँगो हुँदा यस क्षेत्रका सर्वसाधारणका लागि हवाई यात्रा ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ। कोल्टीबाट नेपालगन्जमा मात्र उडान हुन्छ।
भाडा बढ्दा यात्रु घटे
गेटा विमानस्थलबाट उडान भर्नेको संख्या रामै थियो। तर पछिल्ला तीन महिनायता हवाई भाडा बढेपछि यात्रुको चाप घटेको छ। यस अवधिमा यहाँबाट हवाई माग भएर काठमाडौं आउजाउ गर्नेको संख्यामा ६० प्रतिशतले कमी आएको छ।
गेटा विमानस्थलबाट काठमाडौंका लागि बुद्ध यअरका २ वटा र श्री यअरका ५ वटा जहाज नियमित उड्थे। भाडा वृद्धिसँगै यात्रुको संख्या घटेपछि अहिले श्री यअरले उडान घटाएर ३ मा झारेको छ। बुद्धका २ वटा उडान कायमै छन्। तर उडान घाउँदा पनि यात्रुका चाप पहिलाको जस्तो छैन, आधा सिट खाली राखेर पनि उडान भर्नुपरेको छ।
श्री यअरलाइन्सका धनगढी स्टेसन इन्चार्ज गजेन्द्रबहादुर शाहीले जहाजका यात्रु धेरै नै घटेकाले उडान कटौती गर्नुपरेको बताए। ‘तीन महिनायता जहाज चढ्नेको संख्या ६५ प्रतिशत बढीले घटेको छ,’ उनले भने। उनका अनुसार उडान कटौती गर्दा पनि सिट खाली नै हुन्छन्।
नागरिक उड्डयन कार्यालय गेटा कैलालीका प्रमुख बालकुमार सिंहले हजाई यात्रुको संख्या ६० प्रतिशत जति घटेको बताए। ‘पहिले दिनमा औसत साढे ५ सय जनाले धनगढीबाट काठमाडौंका लागि एकतर्फी उडान भर्थे’, उनले भने, ‘अहिले दिनमा २ सयदेखि २५० जना मात्र यात्रु हुन्छन्।’
हवाई इन्धनको मूल्य दुई गुण बढीले बढेपछि भाडा पनि बढाउनुपरेको श्री यअरका धनगढी स्टेसन इन्चार्ज शाही बताउँछन्। इन्धन मूल्य बढेपछि धनगढी–काठमाडौं उडान भाडा पनि २२ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो छ। इन्धन मूल्य केही घटेपछि हवाई भाडा पनि घटाएर २१ हजार १ सय ९७ रुपैयाँ कायम गरिएको उनले बताए। उनका अनुसार सहुलियत भाडा भने १० हजार २ सय रुपैयाँ छ।
भाडा बढेपछि हवाई यात्रा असम्भव जस्तो बनेको उपभोक्त बताउँछन्। ‘काठमाडौंभन्दा धनगढीबाट–दिल्ली ओहोरदोहोर गर्न सस्तो पर्छ’, व्यवसायी महेश दाहाल भन्छन, ‘सीमित आय भएका व्यक्तिले कसरी जहाज चढेर धनगढी–काठमाडौं यात्रा गर्न सक्छन्?’
आठ विमानस्थल बन्द
सुदूरपश्चिममा १० वटा विमानस्थल छन्। जसमध्ये ८ वटा सञ्चालनमा छैनन्। मुलुकमा द्वन्द्वका कारण बन्द यी विमानस्थल सञ्चालनमा नआएका हुन्। पहाडका विमानस्थल सञ्चालन नहुदाँ सर्वसधारणले सास्ती खेप्नुपरेको छ। सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको धनगढी र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन्। कोल्टीबाट नेपालगन्ज मात्र उडान हुन्छ, जुन नियमित भने छैन।
दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल, अछामको साँफेबगर, अछामको कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा रहेको नागरिक उड्डयन कार्यालय गेटा कैलालीका प्रमुख सिंहले बताए।
सुदूरपश्चिममा सहज र सुलभ हवाई सेवा उपलब्ध नहुँदा पर्यटन क्षेत्रको विकासमा पनि बाधा पुगेको पर्यटन व्यवसायी माया भट्टको भनाइ छ।
प्रदेश राजधानी दाङमै छैन नियमित उडान
लुम्बिनी प्रदेश राजधानी नियमित हवाई उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ। तर यहाँबाट नियमित सेवा नहुँदा प्रदेशका विशिष्टदेखि सर्वसाधारणसम्म हवाई यात्राका लागि भैरहवा र नेपालगन्ज विमानस्थल जानुपर्छ ।
तुलसीपुरस्थित विमानस्थल स्तरोन्नति गर्ने विषय हरेक निर्वाचनमा उडाइन्छ तर चुनाव सकिएपछि सेलाउँछ। २०१६ सालमा सञ्चालनमा आएको यो विमानस्थल विस्तार गर्न नसक्दा उडान नियमित हुन नसकेको हो। यहाँबाट २०१६ देखि नेपाल यअरलाइन्सले १८ सिटको जहाजमा उडान भर्न थालेको होे, जुन २०४२ सम्म नियमित भइरह्यो। त्यसपछि यो विमानस्थल बन्द भयो। तुलसीपुरका विमल रिजाल भन्छन्, ‘२०४२ पछि नेपाल यअरलायन्सले उडान बन्द गरिदियो।’ इन्धन डिपोको समस्या देखाएर सेवा बन्द गरिएको थियो।
२०४२ देखि ६० सम्म यो विमानस्थलमा एउटा पनि उडान भएन। २०६० सालमा तत्कालीन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम श्रेष्ठको पहलमा पुनः सुरु भएको उडान ६ वर्षसम्म नियमित रह्यो। त्यो अवधिमा एउटै जहाजले काठमाडौं, दाङ, रुकुम हुँदै नेपालगन्जसम्मको उडान भथ्र्यो’, रिजाल सम्झिन्छन्, ‘इन्धनका लागि डिपो दाङमा थिएन। त्यसैले जहाजले रुकुम हुँदै नेपालगन्जसम्मको उडान भर्नुपथ्र्यो।’
विमानस्थाल २०६६ पछि ७१ सम्म फेरि सुनसान बन्यो। २०७१ मा उडान सुरु नभए पनि यसले स्तरोन्नतिको अवसर पायो। विमानस्थल पक्की बन्यो। ‘धावनमार्ग कालोपत्रे भएपछि नेपाल एयरलाइन्ससहित विभिन्न कम्पनीले परीक्षण उडान भर,’ रिजाल भन्छन्, ‘तर नियमित उडान भने भएन।’
धावनमार्ग कालोपत्रे भएपछि पनि नेपाल यअरलाइन्सले उडान भरेन। तत्कालीन गोमा यअर (हालको समिट एयर) ले उडानका लागि इच्छा देखायो। त्यसबेला उद्योग वाणिज्य संघको अध्यक्ष रहेका रिजालले गोमा यअरसँग ६ महिना उडान भर्न सम्झौता गरेका थिए। यहाँसम्मकी यात्रुको व्यवस्थापन उद्योग वाणिज्य संघले गरिदिने सम्झौता थियो। ६ महिनाका लागि उडान सम्झौता गरेको गोमा यअरले ९ महिनासम्म उडान भ¥यो। त्यसपछि उसले पनि उडानबाट हात झिक्यो। ‘त्यो बेला गोमा यअरले पहाडी क्षेत्रको उडानलाई प्राथमिकता दिँदाँ यहाँ उडान बन्द हुन पुगेको हो’, रिजाल भन्छन्।
२०७१ मा ९ महिना सञ्चालनमा आएको यो विमानस्थल फेरि बन्द भयो। पुनः उडान हुन चार वर्ष पर्खनुप¥यो। स्थानीय तह निर्वाचनपछि तुलसीपुर उपमहानगरपालिकाले नेपाल यअर लाइन्ससँग उडान सम्झौता ग¥यो। विमानस्थलमै इन्धन डिपोको व्यवस्थापन गरिएपछि विमानस्थलबाट उडान भैरहेको त छ तर नियमित भने छैन। कार्यतालिका अनुसार यहाँ सातामा तीन दिन नेपाल यअर लाइन्सको १८ सिट क्षमता जहाजले उडान भर्ने भन्ने छ।। ‘अहिले हवाई सेवा छ भन्ने त भएको छ तर सातामा तीन दिन मात्रै उडानले पुग्दैन’, रिजाल भन्छन्, ‘नियमित उडान हुन सकेन भने दंगालीलाई सहज हुँदैन।’
१८ सिट क्षमताका जहाज उडान र अवतरण गर्ने यो विमानस्थललाई विस्तार गरी ७२ सिट क्षमताका जहाज उडान गर्न सकिने बनाउनुपर्ने माग भइरहेको छ। तर मागअनुसार काम भएको छैन। ‘ठुला जहाज यो विमानस्थलमा अवतरण नहुँदासम्म जिल्लामा भरपर्दो हवाई सेवाको अनुभूति गर्नै सकिन्नँ’, रिजाल भन्छन्। संघीय सरकारले अहिले यो विमानस्थल स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ।
मधेसमा यात्रुको चाप, पूर्वाधार विकासमा बेवास्ता
मधेस प्रदेशमा सञ्चालनमा रहेका तीनवटा विमानस्थलले यात्रु, पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरकफरक चुनौती झेलिरहेका छन्। प्रदेश राजधानी जनकपुरधामस्थित विमानस्थलबाट काठमाडौंका लागि दैनिक आठवटा उडान हुँदै आएको छ।
एक हजार ३ सय ५ मिटर लामा धावनमार्ग रहेको जनकपुर विमानस्थलबाट बुद्ध यअरका पाँच र यति यअलाइन्सका तीनवटा विमानले नियमित उडान भर्छन्। जनकपुरधाम धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले पनि यो विमानस्थलमा वर्षभरि नै यात्रुको चाप रहन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरका प्रमुख तेजबहादुर बुढाथापाका अनुसार विमानस्थलको क्षमता बढाउन थप जग्गा अधिग्रहण, धावनमार्ग तथा अन्य संरचना विस्तार आवश्यक छ। धावनमार्ग छोटो भएकाले यसको विस्तार गरी ठुला जहाज उडाउन सकिने बनाउनुपर्छ। केही महिनाअघि हवाई इन्धनको मूल्य बढेका कारण जनकपुरबाट काठमाडौंको भाडा ७२ सय कायम गरिएको थियो तर केही दिनअघि इन्धनको मूल्य थोरै घटेपछि हवाई भाडा पनि घटाएर ६ हजार ७ सयमा झारिएको छ।
मधेस प्रदेशकै बाराको सिमरामा अर्को विमानस्थल छ। सिमरा विमानस्थल यात्रु चापका हिसाबले मधेस प्रदेशकै सबैभन्दा व्यस्त मानिन्छ। औद्योगिक नगर वीरगन्जसँग प्रत्यक्ष जोडिएको यो विमानस्थलबाट बारा, पर्सा र रौतहटका यात्रु मात्र होइन, सीमावर्ती भारतीय नागरिकले समेत उडान गर्छन्। हाल बुद्ध यअरका चारवटा विमानले दैनिक काठमाडौं–सिमरा उडान भर्छन्।
सिमरा विमानस्थलका अनुसार यात्रुको चाप निरन्तर बढ्दै गए पनि विमानस्थलको पूर्वाधार सोहीअनुसार विस्तार हुन सकेको छैन। रन–वे, ट्याक्सी–वे र एप्रोन (विमान पार्किङ क्षेत्र) विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखित रुपमा आग्रह गरिए पनि काम नभएको स्रोत बताउँछ।
सिमरा विमानस्थलको अर्को विशेषता यहाँ नेपाल आयल निगमको रिफ्युलर (हवाई इन्धन ट्यांकर) उपलब्ध हुनु हो। यसले काठमाडौंबाट उडेका विमानलाई आवश्यकता परे सिमरामै अवतरण गरी इन्धन भर्ने सुविधा दिएको छ। यसअघि दुईतर्फी उडानका लागि आवश्यक इन्धन काठमाडौंबाटै बोकेर उड्नुपर्ने बाध्यता थियो। विराटनगर, धनगढी, नेपालगन्ज, सुर्खेत र चन्द्रगढीलगायतका स्थानबाट उडान भरेका जहाजले कहिलेकाहीं ट्राफिक जाममा पर्दा इन्धनको मात्रा कमी हुनथालेपछि सिमरा विमानस्थलम अवतरण गरी इन्धन भर्ने गर्छन्। सिमरा काठमाडौंबाट छोटो दुरीमा पर्छ।
मधेस प्रदेशको अर्को विमानस्थल सप्तरीको राजविराजमा छ। राजविराज विमानस्थल करिब ११ वर्ष बन्द भएर २०७५ सालमा पुनः सञ्चालनमा आएको हो। एक हजार ५ सय ९० मिटर धावन मार्ग भएको यो विमानस्थलबाट हाल काठमाडौं–राजविराज रुटमा दैनिक एउटा मात्र उडान सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ।
राजविराज विमानस्थलका प्रमुख हिरोन साहका अनुसार राजविराजमा मधेस प्रदेशकै सबैभन्दा लामो धावनमार्ग भए पनि विराटनगर–काठमाडौं हवाई सेवा विस्तारपछि राजविराजबाट यात्रा गर्ने यात्रुको संख्या घटेको छ। यात्रु संख्यामा कमी आएपछि हाल दैनिक एउटा उडानमा सेवा सीमित भएको उनले बताए।
कोसी टप्पु वन्यजन्तु आरक्ष, छिन्नमस्ता मन्दिर तथा पूर्वी मधेसका पर्यटकीय गन्तव्यसँग जोडिएको राजविराज विमानस्थलको रणनीतिक महŒव उच्च भए पनि उडान विस्तार, पूर्वाधार सुधार र सरकारी लगानी अभावका कारण यसको पूर्ण क्षमतामा उपयोग हुन सकेको छैन।
हवाई क्षेत्रका जानकारहरूका अनुसार मधेस प्रदेशमा यात्रुको चाप बढिरहेका बेला सिमरा र जनकपुर विमानस्थलको स्तरोन्नति तथा राजविराज विमानस्थलमा उडान संख्या बढाउन सके प्रदेशको पर्यटन, उद्योग,व्यापारसँगै समग्र आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्नेछ।
कोसीका १५ विमानस्थलमा चार बन्द
कोसी प्रदेशका पहाडी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्रे भइसकेका छन्। विमानस्थल कालोपत्रे र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो छ।
कुनै समय दैनिकजसो उडान हुने खोटाङको लामिडाँडा विमानस्थल अहिले बन्द छ। कोसीका अन्य पहाडी जिल्लाका विमानस्थलको हालत पनि यस्तैयस्तै छ। ती विमानस्थलमा विगतको तुलनामा उडान संख्या घटेको छ। विराटनगर, भद्रपुर र सोलुखुम्बुका विमानस्थलबाहेक अन्यमा नियमित उडान हुन छाडेको नेपाल नागरिक उड्डययन प्राधिकरणले जनाएको छ। प्राधिकरण विराटनगर कार्यालयका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार कोसी प्रदेशमा १५ वटा विमानस्थल छन्। जसमध्ये चारवटा बन्द भइसकेका छ। सोलुखुम्बुबाहेक अन्य सबै पहाडी तथा हिमाली जिल्लाका विमानस्थलमा नियमित उडान छैन।
प्रायःजसो विमानस्थलहरूमा सातामा एक–दुईवटा मात्रै उडान हुने गरेको भण्डारीले बताए। उनका अनुसार मोरङको विराटनगर, झापाको भद्रपुर, इलामको सुकिलुम्बा, ताप्लेजुङको सुकेटार, सोलुखुम्बुका लुक्ला, फाप्लु, स्याङ्बोचे र कांगेलडाँडा विमानस्थल छन्। यस्तै खोटाङको लामीडाँडा, थामखर्क र खानीडाँडामा विमानस्थल छन्। भोजपुरमा, भोजपुर, संखुवासभामा तुम्लिङटार, ओखलढुंगामा खिंजी चण्डेश्वरी र रुम्जाटार विमानस्थल छन्। धेरैजसो विमानस्थल कालोपत्रेसमेत भइसकेका छन्। ओखलढुंगाको खिंजी चण्डेश्वरी, खोटाङको लामीडाँडा, सोलुखुम्बुको कांगेलडाँडा र स्याङ्बोचे विमानस्थल पूर्ण रुपमा बन्द भएका छन्। पहाडी जिल्लाका विमानस्थल बन्द हुनुको मुख्य कारण सडक सञ्जालको पहुँच बढ्दै जानु र जनसंख्या घट्दै जानु रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कोसी प्रदेशका पहाडी जिल्लाका विमानस्थलमा प्रदेश राजधानी विराटनगरबाट उडान हुँदैन। ती विमानस्थलमा काठमाडौंबाट मात्रै उडान हुन्छ।
कोसीका पहाडी र हिमाली जिल्लाबाट विराटनगरमा नियमित उडानको माग हुँदै आए यात्रु अभावमा गर्न नसकिएको नेपाल यअरलाइन्स विराटनगर कार्यालयका इन्चार्ज सन्तोष खड्काले बताए। उनले भने, ‘दुई वर्षअघि भोजपुर र ओखलढुंगामा उडान थाले पनि यात्रु अभावका कारण स्थगित गर्नुप¥यो। सरकारी र निजी यअरलाइन्सले यात्रु कम भएपछि विराटनगरबाट कोसीका पहाडी जिल्लामा उडान गर्न नसकेका हुन्।’
पहाडी तथा हिमाली जिल्लामा काठमाडौंबाट हुने उडान मौसमका कारणले पनि प्रभावित हुँदा नियमित हुन नसकेको खड्काको भनाइ छ।
विराटनगरबाट सोलुखुम्बु जहाज सञ्चालनको माग गर्दै आएका सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीलेउडान भर्ने मात्र हैन, सडक निर्माणको मागसमेत पूरा नभएको बताए। उनले भने, ‘विमान उडान सञ्चालनको त कुरै नगरौं सडक निर्माणको मागसमेत पूरा भएको छैन।’ कटारी घुर्मी सडकखण्ड निर्माण गरिए भारतीय पर्यटकसमेत सगरमाथा हेर्न उत्साहित हुने उनले बताए। उनले सोलुखुम्बुका जनतालाई काठमाडौं हुँदै जहाजमार्गबाट प्रदेश राजधानी विराटनगर आउनुपर्ने बाध्यता रहेको पनि बताए।
कोसी प्रदेशका सबै विमानस्थल नियमित सञ्चालन नभइरहेका बेला नयाँ विमानस्थल निर्माणको माग भएको छ। सुनसरीको धरान र उदयपुरमा विमानस्थल निर्माणको माग हुँदै आएको छ।
प्रकाशित: २७ असार २०८३ ०८:४१ शनिबार



