राजनीति

निर्वाचन विपरीत के चाहन्छ एमाले?

२०७९ सालमा आम निर्वाचन भएपछि पुन २०८४ मा आम निर्वाचन हुनुपर्ने हो । तर देशमा भएको जेन जी आन्दोलन पछि मुलुक एतिबेला ‘अर्ली इलेक्सन’ मा गएको छ । यसैअुनसार निर्वाचन आयोगले फागुन २१ लाई तोकिएको निर्वाचनको तयारी अघि बढाएको छ ।  

निर्वाचन प्रयोजनलाई आयोगले विभिन्न राजनीतिक दलहरुसगँ वार्ता र छलफल गरिरहेको छ भने छलफलसगैँ  निर्वाचन लक्षित दल दर्ताको प्रकृया पनि अगाडी बढेको छ । निर्वाचन प्रयोजनलाई मंसिर १० गतेसम्म दल दर्ताको प्रक्रिया सक्नुपर्ने आयोगले जनाएको छ।  

आइतबारसम्ममा निर्वाचन प्रयोजनलाई विभिन्न ५६ राजनीतिक दलले दल दर्ता गराइसकेका छन् । तर प्रतिनिधि सभाको दोस्रो ठुलो दल नेकपा एमालेले भने निर्वाचनलाई प्राथमिकता राखेको छैन । जेन-जी आन्दोलनले गरेको सरकार परिवर्तनलाई नेकपा एमालेले स्वीकार गरेको छैन । सरकारले निर्वाचनको मिति घोषणा गरेपनि नेकपा एमालेले भने विघटन भएको प्रतिनिधि सभा पुर्नस्थापनाको मागलाई नै प्राथमिकतामा राख्दै  आएको छ ।  

२०७९  मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मत प्राप्त गर्दै ३४ सिट ल्याएर जम्मा ७८ सिटसहित प्रतिनिधि सभाको दोस्रो ठूलो दल बनेको थियो । त्यो आम निर्वाचनपछि प्रतिनिधि सभाको दोस्रो ठुलो दल बनेको नेकपा एमाले जेन-जी आन्देलनपछि सत्ता बाहिर भयो ।  

आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको विरोध गर्दै एमालेले विघटन भएको प्रतिनिधि सभा पुर्नस्थापनाको माग राखेर दवावमूलक कार्यक्रम पनि गरिरहेको छ । एमालेले  निर्वाचनको प्रयोजनलाई दल दर्ता नगर्दा निर्वाचन विपरीत गएको हो ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।  

तर एमाले सचिव योगेश भट्टराईले भने निर्वाचनलाई सरकारले तयारी गरे आफूहरु निर्वाचनामा जाने बताउँछन् ।  

‘दल दर्ताको समय बाँकी नै छ, निर्वाचन आयोगले तोकेको समयभित्र दल दर्ता गनेछौं । तर सरकारले निर्वाचन हुने वातावरण बनाउनु पर्‍यो । वाताारण भए पार्टी निर्वाचनमा जान्छ । पहिला निर्वाचन हुने सुनिश्चितता हुनुपर्छ। सरकारले गराउनु पर्छ,’ उनले भने, ‘देशमा शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्‍यो। आन्दालेनको क्रममा जेलबाट छुटेका अपराधि समातिनु पर्‍यो । प्रहरीबाट लुटिएका हतियार फिर्ता हुनुपर्‍यो । सबै राजाीतिक दलसगँ सरकारको सम्बन्ध राम्रो हुनुपर्‍यो । निर्वाचनको पर्यवेक्षण भरपर्दो हुनुपर्छ । देशमा भएको भय डर त्रासको अन्त्य हुनुपर्‍यो ।’

‘पछिल्लो समय राष्ट्रपतिसहित प्रधानमन्त्रीले बोलाएको छलफलमा हाम्रो उपस्थिति छ । हामी निर्वाचनमा जान तयार छौँ तर सरकारले त्यही अनुसार काम गर्न आवश्यक छ । जहाँसम्म दल दर्ताको कुरा छ हामी निर्वाचन आयोगले दिएको मिति भित्र दर्ताको प्रक्रिया जान सक्छौँ तर सरकारले दलको भावना बुझ्नु पर्छ,’ उनले भने ।  

गत निर्वाचनमा पहिलो बनेको दल नेपाली कांग्रेस भने निर्वाचनमा जान तयार भएको छ । कांग्रेसले आय‍ोगमा निर्वाचनलाई दल दर्ता गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकबाटै कांग्रेसले निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।  

गत आम निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गरेको थियो भने समानुपातिकमा २७ लाख १५ हजार २२५ मत पाउँदै ३२ सिट प्राप्त गरेपछि कुल सिट संख्या ८९ पाएको थियो ।  

सानेपामा बसेको केन्द्रीय समिति बैठकले मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकको निर्णय जानकारी गराउँदै महतले भने, ‘प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले हाम्रो पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।ʼ

प्रवक्ता महतले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताए।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले पनि बैठकको निर्णयबारे जानकारी गराउँदै भने, ‘आज हामीले आम निर्वाचनमा जाने निर्णय गरेका छौं। अबको उत्तम बाटो भनेको मंसिर २७ र २८ गते विशेष महाधिवेशन हो। अहिलेको अवस्थामा उत्तेजनाको होइन, शान्तिको राजनीतिको नेतृत्व गर्नको लागि कांग्रेसमा नयाँ नेतृत्व चाहिन्छ।’

उनले विशेष महाधिवेशनबाट आउने नयाँ नेतृत्व र नयाँ संकल्पले मात्रै पार्टीलाई चुनावमा बलियोसँग उभ्याउन सक्ने दाबी गरे।

महामन्त्री थापाले कांग्रेसले सडकमा देखिएको ‘जेन-जी’ पुस्ताको आक्रोशलाई सम्बोधन गर्ने नीति लिएको समेत बताए। गत भदौ २३ र २४ गते युवाहरूले सुशासन र भ्रष्टाचारविरुद्ध देखाएको भावलाई कांग्रेसले सम्मान गर्ने थापाको भनाइ छ।

उनले भने, ‘नेपालका नवजवानले सुशासनका निम्ति र भ्रष्टाचारलाई जरैबाट सिध्याउन जुन भाव प्रकट गर्नुभएको छ, कांग्रेस त्यसलाई ग्रहण गर्छ र त्यसबाट सिक्न चाहन्छ ।’

गत आम निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ सिट प्राप्त गर्दै कुल ३२ सिट हासिल गरी प्रतिनिधि सभाको तेस्रो ठूलो दल बनेको थियो । तर अन्तरिम सरकार गठनपछि सबै कम्युनिष्ट घटक एक भएका छन् भने उनीहरु आगामी निर्वाचनमा जाने तयारीमा छन् ।  

नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नी सापकोटाले आफूहरुले नयाँ दल दर्ता गरेको र निर्वाचनमा जान तयार रहेको बताएका छन् । उनले भने, ‘हामी निर्वाचनलाई तयारी अवस्थामा छौँ। नेपाली कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा ‘एकता सन्देश सभा’ समेत सञ्चालन गरिरहेको छ । केन्द्रीय कार्यालयको निर्देशनमा मंसिर महिना महिनाभर विभिन्न प्रदेश, जिल्ला र स्थानीय तहमा सभा आयोजना गर्दैछौँ । युवाहरुलाई केन्द्रमा राखेर चुनावी गतिविधिमा अगाडी बढिरहेका छौँ । हामी चुनावलाई तयार छौँ ।’

देशलाई निकास दिन आफूहरू लागि परेको सापकोटाले बताए । उनले भने, ‘हाम्रो दल निर्वाचन आयोगमा दर्ता गर्ने काम भइसकेको छ । चुनावमा सरिक हुन्छौ र देशलाई निकास दिन लागी परेका छौं ।’

जेन-जी आन्दोलनपछि बनेको सरकार र उसको पहिलो म्यान्डेण्ड नै निर्वाचन छ । निर्वाचन आयोगमा राजनीतिक दलले निर्वाचनको लागि दल दर्ता नगरेपनि उनीहरूले निर्वाचन बहिष्कार गर्न नसक्ने राजनीतिक विश्लेषकको तर्क छ ।

नेकपा एमालेले आयोगमा निर्वाचन लक्षित दल दर्ता नगरे पनि निर्वाचनलाई अन्तिम निर्णय नगरेको कारण अहिले नै उसले निर्वाचनमा भाग लिने/नलिने भन्न नसकिने राजनीतिक विश्लेषक दामोदर खतिवडाले बताए ।

‘समयसिमा भित्र दल दर्ता गरायो र प्रक्रियामा सामेल भयो भने निर्वाचनमा जान सक्छ। अन्य राजनीति दल चुनावमा गए भने एमाले मात्रैले चुनाव बहिष्कार गर्न सक्दैन, मिल्दैन,’ उनले भने । खतिवडाले अन्य दल पनि चुनावमा जान नचाहेन र सरकार पनि चुनाव गर्न असफल भए देशमा शून्यताको अवस्था आउन सक्ने र अनुमान नै गर्न नसकिने कुरा हुनसक्ने भन्दै दलले सचेत रहन आवश्यक रहेकको बताए।  

‘सरकारले चुनावलाई प्रमुख एजेन्डा मानेको छ । तर यसले अन्तरिम सरकारको कर्तव्य पूरा हुन्छ/हुदैन र जेन-जी आन्दोलनको मर्म र भावनालाई न्याय गर्न सक्छ/सक्दैन भन्ने प्रश्न प्रमुख बनेको छ,’ उनले भने ।  

चुनावलाई राजनीतिक दलले दल दर्ता नै नगरेको खण्डमा र सरकारले दिएको समयसम्म उनीहरुको गतिविधि हेर्नुपर्ने बताउँदै उनले जे भए पनि राजनीतिक दललाई चुनावबाट भाग्ने छुट नभएको बताए ।  

जेन-जी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै पछिल्लो समय केपी ओलीको एमाले भित्रबाट नै विरोधका आवाज जोडदार पारेको राजनीतिक विश्लेषकको बुझाई छ ।  

विश्लेषक डा गोविन्दमान सिंह कार्की भन्छन्, ‘महेश बस्नेतलगायतले अध्यक्ष ओलीलाई समर्थन गरेपनि पार्टीमा रहेको ईश्वर पोखरेलहरु उनको विपक्षीमा छन् । काग्रेंसले जेन-जी आन्दोलन स्वीकार गरिसकेको छ। हाम्रोविरुद्ध पनि भएको आन्दोलन हो भनिसकेको छ। तर अध्यक्ष ओलीलाई आन्तरिक प्रतिशोध बढेको छ। जेन–जी आन्दोलनलाई स्वीकार गर्न नचाहनु एमाले भित्रको मनोविज्ञान हो ।’

कार्कीले एमाले आन्तरिक रणनीतिमा लागेको बताउँदै कांग्रेस भने आन्तरिक द्वन्द्वमा फसेको टिप्पणी गरे । उनले भने, ‘एमाले अहिले थाहा नै नपाई चुनावी प्रचारमा लागेको छ । नेपाली काग्रेंस आन्तरिक द्वन्द्वमा फसेको छ । एमालेले प्रतिनिधि सभा पुनर्गठन भन्नू,  परिस्थिति बनेको छैन भन्नु, सरकारले चुनाव गराउँन सक्दैन, हतियार बाहिर छ भन्नु सबै बहाना हो । चुनावमा सबैभन्दा पहिला खुट्टा अगाडी बढाउने नै एमाले हुन्छ।’

जेन-जी आन्दोलनका विषयमा अध्यक्षमाथि छानबिन र बयान नहोस् भन्नका लागि मात्र एमालेले यो बखेडा झिएको बुझाई कार्कीको छ । उनले भने ‘पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जेन-जी आन्दोलनको न्यायीक जाँचबुझ आयोग गठन भएको छ । त्यहाँ तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई छानविनलाई बोलाउने हुदाँ यो छानविन नहोस् भन्न चुनावसँग जोडेर चुनाव बिथोलिने कुरा एमालेले गरेको हो । छानविन भएन भने एमाले नै चुनाव गर्ने भन्दै अगाडि आउँछ ।’ एमाले चुनावबाट भाग्ने अवस्थामा नरहेको दावी गर्दै कार्कीले देशव्यापी रुपमा संगठनलाई मजबुद बनाइरहेको बताएका छन् । 

प्रकाशित: ७ मंसिर २०८२ १९:४५ आइतबार