बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) ले आफ्ना ६ जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।
पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालका अनुसार नेपाली कांग्रेस र एमालेबीचको सत्ता समीकरण नमिलेकाले एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो। उनले मन्त्रीहरूले केहीबेरमै राजीनामा दिने जानकारी दिए।
हाल बागमती प्रदेश सरकारमा एमालेबाट कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरत बहादुर केसी, उद्योगमन्त्री विन्दु श्रेष्ठ, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा र भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटा सहभागी छन्।
बागमती प्रदेशमा नेपाली कांग्रेस र एमालेको सत्ता साझेदारी रहेको छ। प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरिरहेका छन्।
प्रकाशित: ३२ असार २०८३ १४:४५ बिहीबार



