जेलमुक्त भएपछि पहिलोपटक गृहजिल्ला अर्घाखाँची पुगेका पूर्वउपप्रधानमन्त्री एवं पूर्वसांसद टोपबहादुर रायमाझीले कारागारमा रहेका ७० प्रतिशत कैदीबन्दी निर्दोष रहेको दाबी गरेका छन्।
जिल्लाका विभिन्न स्थानमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई फसाइएको र समयक्रमसँगै सबै कुरा खुल्दै जाने बताए।
रंगेहात फेला परेका केहीबाहेक अधिकांश निर्दोष व्यक्ति जेलजीवन बिताउन बाध्य रहेको रायमाझीको जिकिर छ। ‘हामीले कानुन नै त्यस्तै बनाएछौं,’ उनले भने, ‘कारागारमा ७० प्रतिशत निर्दोष कैदीबन्दी छन्।’
अर्घाखाँचीबाट चार पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रायमाझीले देश र जनताको पक्षमा काम गर्न तेरो र मेरो पार्टी भन्न जरुरी नभएको बताए। नयाँ-पुराना जसले गरे पनि देशको विकास हुनुपर्ने उल्लेख गर्दै उनले नयाँ दलको समेत लक्षण राम्रो नदेखिएको दाबी गरे।
गृहजिल्ला पुगेका रायमाझीलाई अर्घाखाँची-कपिलवस्तु सिमानाको पत्थरकोट, शीतगंगाको ठाडा र सुपादेउराली परिसरमा स्वागत गर्नेहरूको लर्को लागेको थियो।
नेकपा एमाले अर्घाखाँचीले पार्टी कार्यालयमा उनको भव्य स्वागत गरेको छ। जिल्ला अध्यक्ष पीताम्बर भुसालसहितका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका हुन्।
सन्धिखर्क नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्यलगायत जनप्रतिनिधिले रायमाझीलाई स्वागत गरे। त्यसक्रममा जनप्रतिनिधिहरूले रायमाझीले अर्घाखाँचीको विकास निर्माणमा पुर्याएको योगदानको चर्चा गरेका थिए।
चार पटक सांसद निर्वाचित हुँदा रायमाझीले जिल्लाका गाउँगाउँ तथा टोलटोलमा सडक सञ्जाल विस्तार गर्नेदेखि अर्घा भगवती विमानस्थल र सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकखण्डलगायतका महत्त्वपूर्ण विकास आयोजना अघि बढाउन भूमिका खेलेको उनीहरूको भनाइ थियो।
नेकपा एमालेका निलम्बित सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएपछि कैद सजाय भुक्तान गरिरहेका थिए। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएका रायमाझी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए। उनी करिब साढे तीन वर्ष कारागार बसेका थिए।
प्रकाशित: ११ मंसिर २०८३ १८:१९ शुक्रबार



