राष्ट्रियसभाको आजको बैठकले विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो।
त्यसपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो।
सांसद मिनासिंह रखालले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो।
सांसद रञ्जित कर्णले राखेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो।
सांसद रोशनी मेचेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेका प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो। त्यसपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो।
बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले थारु आयोगको २०८१।८२ को वार्षिक प्रतिवदेन पेस गरेकी थिइन् । राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते दिउँसो १ः१५ बजे बस्नेछ।
प्रकाशित: ५ असार २०८३ १७:३७ शुक्रबार



