गृहमन्त्रालयमा लामो समयदेखि जिम्मेवारीविहीन बनाएर राखिएका केही सहसचिवलाई सरकारले अर्को मन्त्रालयमा अतिरिक्त समूहमा सरुवा गरेको छ। अतिरिक्त समूह भनेको जिम्मेवारीविहीन राखिएको अवस्था हो। अतिरिक्त समूहमा सरुवा गरिएको कर्मचारीलाई निजामती सेवामा ‘बरन्डा सरुवा’ भन्ने गरिन्छ। यस्ता कर्मचारीहरूको कार्यकक्ष हुँदैन। कार्यालयमा आउने, हाजिरी गर्ने र बरन्डामा बस्ने काम मात्र भएकाले बरन्डा सरुवा भन्ने गरिएको हो।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा चार महिनादेखि जिम्मेवारीविहीन थिए। सरकारले बुधबार उनलाई संघीय भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्यो तर अतिरिक्त समूहमै।
यसैगरी अर्का सहसचिव पुष्प शाही तीन महिनादेखि गृह मन्त्रालयमा जिम्मेवारीविहीन थिए। उनलाई पनि सरकारले बुधबार संघीय मामिला मन्त्रालयमा अतिरिक्त समूहमै सरुवा गरेको छ। ‘कर्मचारीलाई लामो समय जिम्मेवारीविहीन बनाएर राखिनुहुन्न अनि एउटा मन्त्रालयको बरन्डाबाट अर्को मन्त्रालयको बरन्डामा सरुवा गर्नु पनि राम्रो होइन,’ संघीय मामिला मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘लामो समय कर्मचारीलाई जिम्मेवारीविहीन बनाउँदा उनीहरूको मनोबल गिर्छ। यसबाट जनताले पाउने सेवामै प्रभाव पर्छ।’
संघीय मामिला मन्त्रालयमा यसअघि नै आठ सहसचिवलाई जिम्मेवारीविहीन बनाएर राखिएको थियो। त्यसमा पनि अरू दुई सहसचिवलाई संघीय मामिला मन्त्रालयमा अतिरिक्त समूहमै सरुवा गरिएको छ। चिरञ्जीवी पौडेल, गोविन्द अधिकारी, तुलसीनाथ गौतम, जयकुमार घिमिरे, सुशील ढकाल, युवराज पाण्डे, रुद्र लामिछाने र वेदप्रसाद खरेललाई जिम्मेवारीविहीन बनाएर राखिएको छ।
कर्मचारीलाई लामो समय जिम्मेवारीविहीन बनाउन नमिल्ने व्यवस्था कानुनले नै गरेको छ। निजामती सेवा ऐन र निजामती सेवा नियमावलीअनुसार कर्मचारीलाई १५ दिनभन्दा बढी जिम्मेवारीविहीन बनाउन मिल्दैन। संघीय मामिलामा जिम्मेवारी नदिइएका कर्मचारीलाई अतिरिक्त समूह भन्ने गरिन्छ। अन्य मन्त्रालयमा अतिरिक्त समूह भन्ने नगरिए पनि मन नपरेको कर्मचारीलाई काम नदिई राख्ने गरिन्छ। संघीय मामिला मन्त्रालयमा केही कर्मचारी सधैंजसो अतिरिक्त समूहमा रहने गर्छन् तर यसपटक ठुलो संख्यामा उच्च कर्मचारीहरू नै अतिरिक्त समूहमा छन्।
अब सिंहदबारमा एक जना मात्र महिला सचिव कार्यरत छन। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई सरकारले नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेपछि अब सिंहदबारभित्र रहेका मन्त्रालयमा कार्यरत महिला सचिव एक जनामा सीमित हुन पुगेको हो।
हाल रक्षा मन्त्रालयमा इन्दु घिमिरे मात्र महिला सचिवका रूपमा कार्यरत छिन्। अन्य सबै मन्त्रालयमा पुरुष सचिव मात्र छन्। कुनै बेला सिंहदबारभित्र चार मन्त्रालयमा महिला सचिव थिए। सञ्चार मन्त्रालयमा राधिका अर्याल, महिला मन्त्रालयमा लक्ष्मी बस्नेत, संघीय मामिला मन्त्रालयमा चन्द्रकला पौडेल तथा ऊर्जा मन्त्रालयमा दवाडी कार्यरत थिए।
सिंहदरबार र अन्यत्र गरी हाल आठ महिला सचिव कार्यरत छन्। ती महिला सचिवहरू राधिका अर्याल, चन्द्रकला पौडेल, इन्दु घिमिरे, इन्दिरा भट्टराई, लक्ष्मी बस्नेत, निर्मला भट्टराई, सरिता दवाडी र बिन्दु विष्ट हुन्।
सरकारले संघीय निजामती सेवा ऐन ल्याउने चर्चा भइरहेका बेला पछिल्लो समय थप दुई जना सहसचिवले राजीनामा गरेका छन्। संघीय मामिला मन्त्रालय स्रोतका अनुसार सहसचिव रुद्र पण्डित र ऋषिराज आचार्यले राजीनामा गरेका हुन्। पण्डित रक्षा र आचार्य लगानी बोर्डमा कार्यरत थिए।
प्रकाशित: २ आश्विन २०८३ ०६:४६ शुक्रबार



