जनमत पार्टीले आगामी असोज ९ र १० गते पार्टीको दोस्रो महाधिवेशन गर्ने भएको छ।
महाधिवेशनलाई लक्षित गर्दै पार्टीको केन्द्रीय सचिवालय समिति बैठकले पालिका तथा वडा तहका अधिवेशन विवरण पठाउने र सदस्यता नवीकरणसम्बन्धी समयसीमा निर्धारण गरेको छ।
पार्टीकी राष्ट्रिय सचिव अनिता कुमारी मण्डलका अनुसार भदौ ८ गते बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन तयारी तीव्र बनाउने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार आगामी भदौ २१ गते आइतबारभित्र जनमत पार्टीका सम्पूर्ण वडा तथा पालिका अधिवेशनहरूको विवरण केन्द्रीय सचिवालयमा अनिवार्य रूपमा आइपुग्नुपर्नेछ।
त्यसैगरी, २०८३ भदौ मसान्तसम्म कायम रहेका सबै सदस्यतालाई क्रियाशील सदस्यताका रूपमा मान्यता दिने निर्णय पार्टीले गरेको छ। महाधिवेशन प्रतिनिधि बन्न तथा उम्मेदवार हुनका लागि आवश्यक शुल्क बुझाएर सदस्यता नवीकरण गरेको हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ।
यसैबीच, पार्टीले स्वास्थ्यकर्मी जनमत संघको राष्ट्रिय संयोजकको जिम्मेवारी सिरहाका प्रदिप महतोलाई तोकेको छ।
महाधिवेशनसम्बन्धी विस्तृत विषयमा छलफल गर्न पार्टीले आगामी भदौ २२ गते सोमबार केन्द्रीय सचिवालयको अर्को बैठक बोलाएको छ।
उक्त बैठकमा सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि राष्ट्रिय सचिव मण्डलद्वारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ।
प्रकाशित: ८ भाद्र २०८३ २१:०७ सोमबार



