नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूको पछिल्लो आन्दोलनलाई आफू र आफ्नो पार्टी विरुद्धको राजनीतिक षड्यन्त्रका रूपमा प्रयोग गरिएको आरोप लगाएका छन्।
आइतबार गृहजिल्ला झापामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठनको अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले आन्दोलनका नाममा एमाले विरोधी गतिविधि गरिएको दाबी गरे।
अध्यक्ष ओलीले शिक्षकहरूको जायज मागलाई ओझेलमा पारेर नेपाली कांग्रेस र माओवादी केन्द्र (हाल नेकपा) निकट तत्वहरूले आन्दोलनमा घुसपैठ गरेको सुनाए।
‘शिक्षक आन्दोलनका नाममा हाम्रै विरुद्ध नारा लगाउन लगाइयो, यो एउटा ठुलो राजनीतिक षड्यन्त्र थियो,’ उनले भने, ‘हाम्रो विरुद्ध अश्लील र भ्रामक नाराबाजी गराएर देशैभरि आगो लगाउने प्रयास गरियो, तर ती शक्तिहरू सफल हुन सकेनन्।’
शिक्षकको हकहितका कुरा गर्ने दलहरूले नै विगतमा शिक्षकलाई अपमानित गरेको ओलीको टिप्पणी थियो।
उनले विगतको सरकारका एकजना मन्त्रीले सयौँ शिक्षकहरूलाई घुँडा टेकाएको र कागज गराएर अपमानित गरेको सन्दर्भ उल्लेख गर्दै अहिलेका आन्दोलनकारीहरूलाई ती दिन नबिर्सन चेतावनी दिए।
उनले भने, ‘शिक्षकलाई घुँडा टेकाउनेहरूले अहिले कुन मुखले शिक्षकको हितका कुरा गर्छन् ?’
शिक्षक आन्दोलनको वास्तविक नेतृत्व नेपाल राष्ट्रिय शिक्षक संगठनले नै गर्नुपर्ने र कसैको पुच्छर बन्न नहुने उनले बताए।
एमाले शिक्षकहरूको अभिभावक संस्था भएको दाबी गर्दै उनले जुनसुकै परिस्थितिमा पनि आफ्नो पार्टी शिक्षकको पक्षमा उभिने प्रतिबद्धता जनाए।
प्रकाशित: ३ फाल्गुन २०८२ १६:३८ आइतबार



